राष्ट्रिय सभा निर्वाचनः एमालेसँग भिड्न उत्साहित छन् गठबन्धनका उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनः एमालेसँग भिड्न उत्साहित छन् गठबन्धनका उम्मेदवार


आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुँदैछ ।

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन साझा अपिल गरेपछि चुनावी माहोल तातेको छ । शनिबार बसेको गठबन्धनका नेता रमेश लेखक संयोजकत्वकोे निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक अपिल गर्न आग्रह गरेको थियो । 

निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन् । एमाले एक्लै चुनावी मैदानमा छ । एमालेले १९ सिटमै उम्मेदवारी दिएको छ । शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सभामा एकसाथ अघि बढ्न एमाले र गठबन्धनका नेताहरुबिच पटक पटक भएको छलफल निष्कर्षमा नपुगेपछि गठबन्धन भर्सेस गठबन्धनका उम्मेदवार आमनेसामने भएका हुन् । तर गठबन्धनमै रहेका लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायतले सिट नपाएकाले केही असन्तुष्टि भने कायम छ ।

राष्ट्रिय सभा अध्यक्षका रुपमा हेरिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला विराटनगरमा उम्मेदवारी दर्ता गरेपछि पूर्वी नेपालको भ्रमणमा छन् । विभिन्न जिल्ला भ्रमणका क्रममा आइतबार इलामको फिक्कल पुगेका सिटौला उत्साहित थिए । ‘जीवनमा आठ पटक चुनाव लडिसक्नुभएका सिटौला दाईको मुहारमा चमक थियो । उत्साहित देखिनुहुन्थ्यो । आफूलाई भन्दापनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । संविधान कार्यान्वयनमा उहाँको जोड थियो,’स्थानीय एक नेताले भने ।

युवाहरुको प्रतिनिधित्व गर्दै वागमती प्रदेशबाट उम्मेदवार बनेका कांग्रेस नेता जीतजंग बस्नेतको चुनावी अभियानमा जुटेका युवाहरुको अभिव्यक्ति सुन्दापनि गठबन्धनका उम्मेदवारहरुमा उत्साह रहेको अनुमान लगाउन सकिन्छ । गठबन्धनका उम्मेदवारहरुको संयुक्त पोष्टर बनाएर सामाजिक संजालमा क्याम्पेनिङ पनि शुरु भइसकेको छ । एमाले उम्मेदवारहरुले पनि चुनावी अभियानलाई तिब्रता दिइरहेका छन् ।   

निर्वाचनको अंकगणित हेर्दा एमालेले रिक्त रहेका ८ वटै सिट गुमाउने देखिएको छ । किनकी यतिबेला १७ सांसद एमालेका छन् । सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले एमालेले आफ्नो हालको हैसियत गुमाउने निश्चित छ । यद्यपी, मतभारको अवस्था मूल्याकंन गरेका गठबन्धनका उम्मेदवारहरु उत्साहित छन् ।  निर्वाचनमा ५ सय ४९ प्रदेश सभा सदस्य तथा स्थानीय तहका १४ सय ९८ प्रतिनिधि गरी २ हजार ४७ जनाले मतदान गर्दैछन् ।

स्थानीय तहअन्तर्गत नगरपालिकाका प्रमुख तथा उपप्रमुख  र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता हुन्छन् । जसका लागि निर्वाचन आयोगले प्रदेशसभाका एक सदस्य बराबर ५३  र स्थानीय तहका एक प्रतिनिधि बराबर १९ मतभार कायम गरेको छ । यस हिसाबले प्रदेशसभा सदस्यको २९ हजार ९७ र स्थानीय तहका प्रतिनिधिको २८ हजार ४ सय ६२ गरी ५७ हजार ५ सय ५९ कुल मतभार कायम भएको छ । मतभारको अंकगणित अनुसार एमाले सबै प्रदेशमा कमजोर देखिएको छ । 

गठबन्धनका दलहरुको मतभार ३८ हजार २ सय १० हुँदा एमालेको १७ हजार २६ मात्रै छ । कोशी प्रदेशमा पहिलो शक्ति भएको एमाले मतभारका हिसाबले गठबन्धन भन्दा पछाडि नै छ । कोशीमा गठबन्धनको ५४ सय ७४ मतभार रहँदा एमालेको ४२ सय १० छ ।

मधेशको मतभारमा एमाले गठबन्धनभन्दा ५६ सय ७७ मतले पछाडि छ । मधेशमा गठबन्धनको ७ हजार ९ सय ८० तथा एमालेको २३ सय ३ मतभार छ । बागमतीमा गठबन्धनको ६ हजार ७ सय ५१ तथा एमालेको २५ सय ७१ र गण्डकीमा गठबन्धनको ४६ सय २२ तथा एमालेको २४ सय ५८ मतभार छ । 

लुम्बिनीमा भने गठबन्धनको ५३ सय ७१ रहँदा एमालेको २८ सय १०, कर्णालीमा गठबन्धनको ३७ सय ७ तथा एमालेको ११ सय ९५ र सुदूरपश्चिममा सत्ता गठबन्धनको ४५ सय १० तथा एमालेको १४ सय ८० मतभार छ । यो सबै मतभार मूल्याकंन गर्दा १९ वटै सिटमा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

को-को छन् उम्मेवार ?

गठबन्धन
कृष्ण प्रसाद सिटौला (नेपाली काँग्रेस), चम्फादेवी कार्की नेकपा (माओवादी केन्द्र), आनन्द प्रसाद ढुंगाना( नेपाली काँग्रेस), पूजा चौधरी(जनता समाजवादी पार्टी नेपाल), विष्णुदेवी पुडाशैनी( नेपाली काँग्रेस), जीतजंग बस्नेत( नेपाली काँग्रेस), श्रीकृष्णप्रसाद अधिकारी(नेकपा माओवादी केन्द्र), घनश्याम रिजाल नेकपा (एकीकृत समाजवादी), मनरुपा शर्मा नेकपा (माओवादी केन्द्र), किरणबाबु श्रेष्ठ( नेपाली काँग्रेस), पदम बहादुर परियार( नेपाली काँग्रेस), विष्णुकुमारी सापकोटा(नेपाली काँग्रेस), झक्कु प्रसाद सुवेदी नेकपा (माओवादी केन्द्र), कृष्ण बहादुर रोकाया( नेपाली काँग्रेस), सावित्री मल्ल नेकपा (एकीकृत समाजवादी), विष्णबहादुर विश्वकर्मा नेकपा (माओवादी केन्द्र), रेणु चन्द, नेकपा (माओवादी केन्द्र), बलदेव बोहरा(नेपाली काँग्रेस), नारायणदत्त भट्ट(नेपाली काँग्रेस) ।

एमाले
रोचकुमारी चौलागाईं(महिलातर्फ), ध्रुवराज विश्वकर्मा(दलिततर्फ), विवेक देवकोटा (अपाङ्गता), त्रिलोचन निर्मल पौडेल(अन्य), डिल्लीराज भट्ट(अन्य), हिक्मत विश्वकर्मा(दलित), विमलाकुमारी शाही(महिला),सावित्रा घिमिरे(महिला), रामचन्द्र जोशी(अपाङ्गता), ईश्वरीप्रसाद खरेल(अन्य), चक्रबहादुर पराजुली(अन्य), हेमन्त शेरचन( अपाङ्गता÷अल्पसंख्यक), परशुराम अधिकारी(अन्य), रूक्मिणी कोइराला(महिला), झपेन्द्रबहादुर बिसी(अन्य), तुलसाकुमारी केसी(महिला), अर्जुनकुमार सिंह(अन्य) उषा चौधरी(महिला) ।

Logo