#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559197034795028759002368120
नेपाल6824566112

कोरोनाले डोर्‍याएको लोकदोहोरी कलाकारको भविष्य

कोरोना कहरको कारण देश लकडाउनको अवस्थामा छ । कला क्षेत्रमा काम गर्ने तमाम कलाकारहरू पनि यो लकडाउनको कारण मर्कामा परेका छन् । मनोरञ्जन क्षेत्र पूर्णरुपमा धराशायी भएको छ । कलाकारहरूलाई आजको अवस्थामा ल्याई पुर्‍याउन र यो स्टारडम प्रदान गर्न लोक गीतले ठूलो भूमिका खेलेको थियो । अहिलेको अवस्थाले गीतको सार तत्त्वलाई कुनै प्रभाव पार्ला नपार्ला त्यो बेग्लै कुरा भयो तर जसले लोकगीतलाई जीविकोपार्जनको माध्यम बनाएका थिए उनीहरूको हकमा भने यो बन्दले निकै ठूलो प्रभाव पार्ने देखिन्छ ।

म्युजिक भिडियो निर्माण गर्ने समूहमा निर्देशक, क्यामेरा म्यान, नृत्याङ्गना, अभिनयकर्ता, ग्राउन्ड हेल्पर, मेकअप आर्टिष्ट, साइड डान्सर, लाइट म्यान, इलेक्ट्रिसियन, ड्राइभर, भान्छे लगायत एउटै गीतको छायाङ्कन समूहका लगभग पचास कामदार हुन्छन र त्यस्ता दर्जनौं सुटिंग युनिट एकै पटक बेरोजगार भएका छन् ।

लोकगीतले साना साना कलाकारलाई मात्र रोजगारी दिएको थिएन । ठूला सिनेमाका नायक नायिकाहरूलाई मादल र खैँजडीको तालमा नाच्न लोभ्याइरहेको थियो । उच्च पारिश्रमिक दिएर फिल्ममा ख्याति कमाइसकेका नायक नायिकालाई म्युजिक भिडियोमा नचाउनुलाई ‘स्तर मेन्टेन’ गरेको मान्ने प्रचलन सुरु भैसकेको थियो ।

ड्रेस भाडामा उपलब्ध गराउनेको अवस्था बिग्रेको छ, त्यस्ता कपडा सिलाउने टेलरको काम खोसिएको छ । ट्रली र क्रेनको व्यवस्था मिलाउनेहरू, त्यही इक्विपमेन्टको भाडा नै आयस्रोत भएकाहरू, त्यस्ता इक्विपमेन्ट मर्मत गर्नेहरू र शूटमा त्यसलाई चलाएर काममा सघाउने मजदुरहरू सबका सब मर्कामा परेका छन् । लगभग पचास जना भन्दा माथिको समूहलाई लगातार काम दिएर कमाइको श्रोत बनिदिने लोकगीतका म्युजिक भिडियो निर्देशकहरू घरमै छटपटाइरहेका छन् ।

दोहोरी साँझ व्यवसायको अवस्था त्यो भन्दा विकराल छ । दोहोरी रेस्टुरेन्ट खोल्ने भनेर घर माग्ने बित्तिकै ‘उच्च भाडाको माग गर्नलाई’ घरधनीहरूका त्रिनेत्र खुल्ने अवस्था थियो । व्यवसाय राम्रो चलेमा भाडा तिर्न गाह्रो थिएन त्यसैले जतिसुकै सानो दोहोरी साँझ भए पनि त्यसको भाडा एक लाख हाराहारी हुन्थ्यो । दोहोरी सञ्चालकले साम, दाम, दण्ड, भेद जे जसो गरेर पनि घर भाडा तिरेर, कलाकारलाई सन्तुष्ट पारेर, मजदुरको तलब दिएर पनि केही न केही कमाइ गरिरहेका थिए । प्रहरीलाई ‘हप्ता’ बुझाउने मात्र होइन टोले गुन्डालाई समेत खुसी नै बनाएर व्यवसाय चलाइरहेका थिए ।

त्यो दोहोरीमा न्युनतम पाँच जना कलाकार, पाँच जना वाद्यवादक, पाँच जना वेटर वेट्रेस, बाउन्सर, सुरक्षागार्ड, कुक, किचन हेल्पर आदि इत्यादि गरेर पच्चीस, तिस जनाको समुहलाई यौटा दोहोरी साँझले पूर्णतया रोजगारी दिदै आइरहेको थियो । देश भरिमा पाँच सय दोहोरी साँझ भएको अनुमान गर्दा पनि त्यो क्षेत्रमा आश्रितको संख्या धेरै ठूलो हुन जान्छ जो आजको समयमा पूर्णतया बेरोजगार बनेको छ र ति अधिकांशसँग तुरुन्तैको लागि कुनै विकल्प पनि छैन ।

पहिल्यैदेखि वैकल्पिक व्यवसायसमेत गर्दै आएका कलाकारहरूलाई यो मन्दीबाट बाहिर निस्कन केही सजिलो होला तर पूर्णरुपमा कला क्षेत्रमा निर्भर रहनुभएका कलाकार, प्राविधिक र सहयोगी साथीहरूको लागि आजको परिस्थिति सबैभन्दा निर्मम बन्ने देखिन्छ ।

त्यो भन्दा पर, यो कोरोना कहरले छोटो समयमै लोकगीत मार्फत ‘स्टारडम’ हासिल गरेका केही कलाकारलाई भने निकै अप्ठ्यारो परिस्थिति सृजना नगर्ला भन्न सकिँदैन । एउटै गीतबाट चर्चाको शिखरमा पुगेका कतिपय कलाकारले आयोजकलाई निकै दबाबमा राख्न सुरु गरिसकेका थिए । भर्खरै हिट भएका एक जना कलाकारले विदेशस्थित आयोजकलाई आफ्नो रेट “सात लाख भन्दा एक रुपैयाँ तल हुन नहुने” दबाब दिएको कारण आयोजक निकै तनावमा रहेको समेत सुन्न पाइएको थियो ।

केही कलाकारहरू श्रीमतीको समेत भिसा टिकट उपलब्ध भए मात्रै कार्यक्रममा आइदिने नत्र आउन नसक्ने भनेरै सांस्कृतिक कार्यक्रमको लागि सपरिवार विदेश भ्रमण गर्ने हैसियतमा पुर्‍याएको थियो लोकगीतले । गीत मार्फत त्यो हैसियतमा पुगेका कलाकारहरूको आयस्रोत अचानक शून्यतातर्फ जाँदैछ । यसले पनि विकराल अवस्था सिर्जना नगर्ला भन्न सकिँदैन ।

लोकगीत गएर नै देशका विभिन्न स्थानमा घडेरी जोडेका र आफ्नो नियमित कमाइको अनुपात हेरेर बैंकबाट कर्जा लिएर घर बनाएका कलाकारहरूको नियमित कमाइ ओरालो लागेसँगै अब उनीहरू थप आर्थिक भारमा पर्ने निश्चित जस्तै देखिन्छ । अझ त्यसैमाथि कुनै कुनै कलाकारको त ‘दोहोरो घर दोहोरै परिवार’ समेत रहेका कारण निश्चित रूपमा यो बन्दले उनीहरूलाई सोझै धराशायी बनाउने सम्भावना देखिन्छ ।

अझ त्यो भन्दा अप्ठ्यारो पर्ने अर्को समूह छ जसले देशभित्र हुने सांस्कृतिक कार्यक्रमहरूमा एक किसिमको कब्जा नै जमाएको थियो । महोत्सवका ठेकेदार र बिचौलियाहरूसँगको सोझो सम्पर्कको फाइदा उठाउँदै वास्तविक कलाकारलाई पछाडि पारेरै त्यस्ता स्टेजमा उपस्थिति जनाउने सामर्थ्य भएका कलाकारहरूको ‘चुरी फुरी’ असामान्य थियो । त्यो अवस्थाको आर्थिक भार थाम्ने महत्त्वपूर्ण श्रोत भनेका ठेकेदार र दलालहरू थिए । कलाकारिता क्षेत्रमा उनीहरूकै ‘अभिमान’ ठूलो थियो । जसको स्टेजमा हालीमुहाली हुन्छ उसकै ‘अभिमान’ पनि ठूलो हुनु सामान्य नै भयो ।

अब तत्काल मेला महोत्सव आयोजना नै नहुने भएपछि त्यो ‘मार्का’ का कलाकार पूर्ण रूपमा बेरोजगार हुने सम्भावना देखिन्छ । हुन त त्यसरी बिजी हुने कलाकारको आयस्रोत ‘गायकी’ मात्र होइन भनेर चर्चा चल्ने गर्दछ तर पनि समाजले प्रत्यक्ष देख्न सक्ने काम बन्द हुने भएपछि अब पाँच हजार पारिश्रमिक लिनको लागि दश हजारको लुगाफाटो को जोहो गर्न पर्ने बाध्यताबाट उनीहरूले फुर्सद पाएका छन् ।

एउटा समय थियो । अनधिकृत रूपमा अरूकै मोबाइलबाट अरूकै मोबाइलमा, अरूकै पैसा खर्च गराएर आफ्नो आरबिटि बेच्न पाइन्थ्यो । त्यो क्रम चलेको एक वर्षको अन्तरालमा त्यो चोरी सिकेका कलाकारहरूको जिन्दगी अचानक आकाशिएको थियो । ढुकुटी, होटेल, व्यवसाय लगायत अन्य कुरामा अन्धाधुन्ध लगानी गरेका कलाकार आरबिटि चोरी गर्न नमिल्ने बनेसँगै धराशायी भएर कतिपयको भागाभाग समेत भएको थियो । कति पक्राउ समेत परेका थिए । त्यो परिस्थितिजन्य अनुभवबाट केहि कुरा सिकेका कलाकारहरू प्रायः पलायन भइसकेका छन् ।

अहिले लोक साङ्गीतिक क्षेत्रमा सङ्घर्षरत कलाकार र अन्य मजदुरहरू ढिलो चाँडो वैकल्पिक काममा बानी पर्दै जालान् । जसले जीवन नै यही क्षेत्रमा व्यतीत गर्‍यो ती कलाकारहरू अब ‘लोक सङ्गीतको थप अध्ययन’ तर्फ लाग्लान् । केहीको हकमा भने आखिरमा ‘पुनर्मुसी भवः’ भन्ने उखान चरितार्थ नहोला भन्न सकिएन ।

बानि परिवर्तन गर्न समय लाग्छ, सहरमा रमाएको लोक कलाकारको यो पुस्ता अचानक सधैँको लागि गाउँ फर्कनु पर्ने अवस्था आइ पर्दा हीन भावनाले ग्रस्त भएर उसको मनोबल गिर्न सक्ने अर्को समस्या छँदैछ । जतिसुकै अभाव भए पनि मिठो मसिनो खाने, राम्रो नै लगाउने, ब्युटी पार्लर नगई बाहिर ननिस्कने र मसाज सेन्टर जान बानी परेका, जहाज नभई कार्यक्रममा समेत जान अल्छी गर्ने या बसमा हिँड्दा इज्जत घटेजस्तो अनुभव गर्ने अवस्थामा पुगिसकेका कलाकारको मनमा “कति नै कलाकार बन्छु भनेर घरबाट गएको अहिले फर्कनु पर्‍यो” भन्ने सोचले गहिरो असर गरेर कुनै पनि कलाकारले गलत व्यवसाय गर्नु पर्ने अवस्था नआओस, दीर्घकालिन असर पर्ने गलत निर्णय गर्न पनि नपरोस् ।

सबैको भलो होस् । यो महामारीबाट कसैले क्षति बेहोर्न नपरोस् । हाम्रो लोक साङ्गीतिक क्षेत्र चाडै नै पहिले जस्तै हराभरा होओस् । बन्द पछि नयाँ रूपमा उदाएको क्षेत्रले विकृति र विसङ्गतिको भार फेरी बोक्न नपरोस् । शुद्ध र पवित्र लोक साङ्गीतिक जगतको पुनः उदयको कामना गर्न चाहन्छु ।

सम्बन्धित समाचारहरु

ताजा समाचार