मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह


काठमाडौं । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन शनिबारदेखि देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सबैमा अनुरोध समेत गरेको छ ।

साधारणतया अङ्ग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । मनसुन अवधिमा मुलुकभरको औषत वर्षाको मात्रा एक हजार ४९९ दशमलव छ मिलीमिटर रहेको छ । यो भन्दा १० मिलीमिटर बढी वा कम वर्षा भए पनि औषत वर्षा नै मानिने बताइएको छ ।

 

यस्तै काठमाडौं उपत्यकाको वार्षिक वर्षा एक हजार ४५४ दशमलव आठ मिलीमिटर रहेको छ । गत वर्ष १० दिन ढिलो गरी जुन २० अर्थात् असार ५ मा नेपालमा भित्रिएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज २५) मा मात्रै सकिएको थियो ।

मनसुनमा औषत वर्षा हुने

मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका हाराहरीमा पानी पर्ने गर्दछ । मौसमविद्का अनुसार कम वर्ष हुने भन्दैमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन केही घण्टाको मुसधारे वर्षाले पनि ठूलो प्राकतिक प्रकोप हुनसक्छ । मनसुनमा नेपालमा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा हुने गर्छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३० दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव छ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।–रासस

Logo