गण्डकी प्रदेशमा थपिए ५ जना संक्रमित, कूल संख्या १९७ पुग्यो

गण्डकी प्रदेशमा थपिए ५ जना संक्रमित, कूल संख्या १९७ पुग्यो


पर्वत ।
गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी शुक्रबार थप पाँच जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा चार र नवलपरासीमा एक नयाँ सङ्क्रमित थपिएको जनाएको छ । यो सँगै प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या १९७ पुगेको छ ।

पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका एक जना छ वर्षीय बालक र वर्ष १७ की एक महिलामा सङ्क्रमण पुष्टि भएको छ । पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १७ का एक पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १६ का अर्का एक पुरुषमा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार नवलपरासीको मध्यविन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५ का एक पुरुषमा समेत सङ्क्रमण पुष्टि भएपछि रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हालसम्म गण्डकी प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४३, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये नौ महिला छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो ।

हालसम्म सङ्क्रमितमध्ये ११ उपचारपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशमा छ हजार ८५२ को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ३४ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरु मध्ये अझै एक हजार ६२६ को नतिजा आउन बाँकी रहेको निर्देशनालय अन्तर्गतको प्रादेशिक आपत्कालिन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए । प्रयोगशालाबाट नजिता आउन ढिलाइ भएपछि प्रदेश सरकारले प्रयोगशालाको क्षमता वृद्धि गर्न थप पिसीआर मेसिन खरिदको प्रक्रिया अघि बढाएको छ ।रासस

Logo