#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590428436199622552579505
नेपाल10425850187

सर्वेन्द्र खनाललाई खुलापत्र

सर्वेन्द्र खनाल ज्यू
पूर्व आइजीपी, नेपाल प्रहरी ।

गत वैशाख ११ गतेभन्दा अघिसम्म म तपाईंलाई निसन्देह श्रद्धाले हेर्थेँ । तपाईंले नेपाल प्रहरीमा रहँदा के–कस्ता राम्रा काम गर्नुभयो, भन्न सक्दिन । तर, एउटा ‘सेलिब्रेटी’ पुलिसको रुपमा गहिरो छाप थियो । तपाईंहरु जस्ता मान्छे पुलिसमा हुँदा देशको सुरक्षा ब्यवस्था भरपर्दो हुन्छ भन्ने विश्वास पनि थियो, मनमा । म जस्तै धेरैलाई यही हुँदो हो ।

जब बैशाख ११ गतेको बिहान तपाईंको पछिल्लो कर्तुत ‘सांसद अपहरण’ मिडियामा आयो । म अवाक बने । त्यसपछि तपाईंको प्रष्टिकरण सुन्न प्रतिक्षारत रहेँ । किनभने मलाई पूर्णरुपमा विश्वास थिएन, त्यस घटनामा तपाईंको यो हदसम्मको संलग्नता । तर, जब तपाईंको गोलमटोल, ढाँट–छल र कपटपूर्ण भनाईहरु आउन थाले त्यसपछि भने तपाईंमाथिको विश्वास र आदर चकनाचुर भए । तर, एउटा कोणवाट धन्यबाद पनि भन्न मन लागिरहेको छ । किनभने ढिलै भएपनि ‘मुखुण्डो’ उघ्रिएको छ । यो मुखुण्डो नउघ्रिएको भए तपाईं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त नियुक्त हुने सूचना पनि सोही अपहरण प्रकरणमा लिक भयो । धन्न चोरलाई चाबी बुझाउने अर्को शृङखला सुरु भएनछ ।

सुरक्षा निकायको प्रमुख भइसकेको मानिसको नैतिकता के हो ? यस प्रश्नको जवाफ दिनकैलागि त तपाई शिरोमणि नै हुनुहुन्छ होला । तर, ब्यवहारमा मानिस कति हदसम्म तल जानसक्छ भन्ने उदाहरण ‘सेट’ गर्नुभयो । दुःख यसै ठाऊँमा हो । तपाईंसँगै हल बाँधिएर सांसद उठाउन गएका महेश बस्नेत र तपाईंको गाऊँले सांसद किसान श्रेष्ठको बारेमा मलाई धेरै भन्नु छैन । उनीहरुको सवालमा ‘राजनीतिको झण्डामुनी बस्नेहरु यस्तै हुन्छन्’ भनेर खिन्न हुँदै गौंडा कुर्न सकिएला । किनभने तीन बर्षपछि आउने चुनावमा उनीहरुलाई जनताले कारवाही गर्ने ठाऊँ छ । तर, राष्ट्रसेवक भएर जीवन बिताएको र राज्यको पेन्सन खाइरहेको मानिसलाई कदापी इतिहासले माफ गर्न सक्दैन ।

म शिक्षण पेशामा भएकीले के बुझ्दछु भने पढाउने भनेको शिक्षकले मात्र होइन । समाजले र राष्ट्रले पनि आफ्ना नगरिकलाई ब्यवहारका माध्यमबाट रातदिन पढाईरहेकै हुन्छ । तपाईंको पर्दाअघि देखिएको ब्यक्तित्वलाई हेरेर कति युवा पुलिसमा भर्ती भए । कतिले ‘रोलमोडेल’ ठानेर अनुशरण गरे ? ती आम मानिसलाई तपाईंले दिएको ‘क्लाइमेक्स्’ शिक्षा के हो ? आम नेपालीले तपाईजस्तै भित्र एउटा र बाहिर अर्को ब्यवहार प्रदर्शन गर्नुपर्ने हो ? तपाईंले यो समाजलाई प्रदर्शन गर्न खोजेको जवाफ के हो ?

यो पत्र किन मात्रै लेख्न बाध्य छु भने ‘मलाई मान्छेको पतनले दुखाउँछ ।’ तपाईंलाई सर्बेन्द्र खनाल बनाउन यो समाज र राष्ट्रले कति लगानी गरेको होला ? तर, आज राष्ट्रले लिएको विश्वासको खिल्ली उडेको छ । सबै उस्तै हुन् भन्ने आम आरोपलाई पुष्टि गर्ने ब्यवहार प्रदर्शन हुँदा पनि मन दुखेको हो । आइजीपी नै अपहरणमा संलग्न हुने देशमा आम अपहरणकारी सामान्य अपराधीको रुपमा ‘दर्ज’ हुन्छन् अब । समाजलाई लाग्ने योभन्दा ठूलो धक्का के हुन सक्ला ?

अन्त्यमा, तपाईं समेतले उठाएर लकडाउनका बेला तराईवाट काठमाडौं ल्याईएका पूर्व राज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादव अपहरणको मुद्धा दर्ता गर्न प्रहरी कहाँ पुगेका थिए । तर किन हो, प्रहरीले दर्ता गर्न नै मानेन । यस्तो बेलामा गल्ती स्वीकार्नुहोला भनेर गरिने अनुरोधले तपाईंलाई झनै चिढ्याउला । बरु बाँकी छ भने सक्कली अनुहार उघार्दै रहनुहोला । किनभने फटाईंका यस्ता ब्यवहार जति प्रदर्शन गर्दै जानु हुन्छ, उति नै पार्टीभित्र विश्वासको वातावरण थपिदै जान्छ । सायद तपाईंले बुझेको राजनीति यही नै हो ।

 

तपाईंको जवाफको प्रतिक्षामा कहिल्यै नरहने

सुलोचना खतिवडा
नागरिक
गठ्ठाघर, भक्तपुर
२०७७।०१।१४

सम्बन्धित समाचारहरु

ताजा समाचार