#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559167734794628757152368016
नेपाल6824566112

ओलीका ४ ‘अस्त्र’ जसले स्थायित्व कायम गर्छ

काठमाडौं । गत ८ वैशाखमा दुई अध्यादेश पारित गरेर त्यसको ४ दिन नबित्दै दुबै अध्यादेश फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा छन् । खासगरी उनकै पार्टी नेकपाभित्रको ठूलो शक्ति यही मौकामा उनलाई शक्तिहीन बनाउने गृहकार्यमा देखिन्छ ।

राजनैतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी भएपछि ब्याप्त कोरोना भाइरसको त्रासलाई राजनैतिक खिचातानीले छोपेको थियो । यी दुई अध्यादेशलाई सरकारको सिफारिसमा राष्ट्रपतिले खारेज गरिसक्दा पनि प्रधानमन्त्री ओलीमाथिको चौतर्फी हमला रोकिएको छैन । पार्टीको अध्यक्ष समेत रहेका उनी आफ्नै पार्टीका अन्य शीर्ष नेताहरुसँगको परामर्शमा सक्रिय छन् । त्यसैगरी पार्टीभित्रका अन्य दुई समूह (प्रचण्ड–माधव नेपाल) पनि उसैगरी लागिपरेका छन् ।

सत्तारुढ नेकपाभित्रको यस किसिमको चरम विवादले स्वभाविकरुपमा देशी–विदेशी शक्तिहरुमा खुसीयाली छाएको छ । खासगरी देशभित्रका तीन शक्ति र देशबाहिरका दुई शक्तिले आनन्द मानेको देखिन्छ । गणतन्त्र–लोकतन्त्र विरोधीहरु, सरकारको विपक्षमा रहेका पार्टी–शक्तिहरु अनि नेकपाभित्रकै गौडा कुरेर बस्नेहरुलाई निश्चय नै राहत मिलेको छ । त्यसैगरी विदेशी शक्तिहरुमा खासगरी सदिऔंदेखि नेपाललाई अस्थिरतामा राखेर मनोमानी गर्न पल्किएकाहरुले दीपावली नै मनाए भनेर बुझियो भने गलत हुँदैन । र, कम्युनिष्ट विरोधीहरूमा पनि नेकपा सरकार–पार्टी विवादले आनन्दको सञ्चार गरेको छ ।

तर, यो विवाद सरकारकालागि रत्तिभर फाइदाजनक छैन । प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टीलाई झन धेरै बेफाइदा छ । समग्रमा मुलुक र राजनैतिक स्थायित्वका हकमा सबैभन्दा बढी खतरनाक छ । र, यो विवादले अस्थिरता र अराजकताका पक्षपातीहरुलाई मात्र फाइदा पुग्छ । त्यसकारण राजनैतिक नेतृत्वले सुझबुझपूर्ण निर्णय लिन ढिला गर्‍यो भने ‘रात रहे, अग्राख’ पलाउन सक्छ ।

हालको विवाद प्रधानमन्त्री ओलीले नै विजारोपण गरेका हुन् । र, यसको अन्त्य पनि उनैबाट मात्र संभव छ । वर्तमान समस्याको समाधानार्थ पहिलो चरणमा सरकारको स्थिरताको ग्यारेन्टी हुनुपर्दछ । यसकालागि ओलीले छाती फराकिलो नपारी संभव छैन । सरसर्ती हेर्दा प्रधानमन्त्री ओलीसँग सकारात्मक परिवर्तन ल्याउन सक्ने चारवटा ‘अस्त्र’ छन् । उनीसँग आत्मघाती अस्त्र पनि छ । जसले मुलुकलाई नै अस्थिर बनाउँछ । मुलुकलाई स्थायित्वमा लैजाने यस्ता छन्, ‘४ ओली अस्त्र’ –

अस्त्र नं – १

पार्टीका दुवै शीर्ष नेताहरुलाई विश्वासमा लिने

– जतिबेला तत्कालीन एमाले र माओवादी केन्द्र एक हुँदै थिए, त्यसबेला दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनि बरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध ‘न्यानो’ थियो । त्यही सम्बन्धको आधारमा दुई पार्टीले गठबन्धन बनाएर चुनावमा भाग लिए । चुनावपछि पार्टी एकता गरे । र, सरकारमा सहभागी पनि बने । हिजोको जस्तो आज सौहाद्रपूर्ण वातावरण छैन, नेकपामा । तर, अध्यक्ष ओलीले चाहेभने त्यो अवस्था पुनः आउन सक्छ । उनले एक पदको नीति ल्याएर पार्टी अध्यक्षबाट विदा लिएको खण्डमा अवस्था पहिलाकै जसरी सहज बन्न सक्छ । नेकपाकालागि यो भन्दा सुन्दर अर्को कदम नै छैन ।

अस्त्र नं – २

नेता नेपाललाई विश्वासमा लिने

– अध्यक्ष ओलीले अनौपचारिकरूपमा पार्टीका बरिष्ठ नेता माधव नेपाललाई विश्वासमा लिन धेरै पटक भलाकुसारी गरेका छन् । तर, ती भलाकुसारी कानेखुसीमा सीमित हुने गरेका छन् । किनभने उनले माधव नेपालको माग सम्बोधन नै गर्नसकेका छैनन् । उनले नेपालको मनोविज्ञान बुझ्ने कोशिस नै गरेका छैनन् । अर्थात माधव नेपालले घुमाउरो भाषामा मागिरहेको अध्यक्षको जिम्मेवारी दिने दिशामा ओली देखिएनन् । माधव नेपालको माग पुरा गर्ने हो भने सरकारको वर्तमान दशा मात्र टर्दैन । पुरा अवधि सरकारको गाडी गुड्ने पनि पक्का हुन्छ ।

अस्त्र नं – ३.

प्रचण्डलाई पूर्णरूपमा विश्वासमा लिने

– बरिष्ठ नेता माधव नेपाललाई सकिदैन भने अध्यक्ष प्रचण्डलाई थप अढाई बर्ष ‘कन्भिन्स्’ गर्न सक्नुपर्छ ओलीले । ४० प्रतिशतको खेलमा समय लगानी गरिरहनुभन्दा सरकारलाई निर्धक्करुपमा हाँक्ने वातावरणले उनलाई फाइदा पुर्‍याउँछ । त्यसकारण प्रचण्डको ‘पेटी इन्ट्रेष्ट’ पुरा गर्नु नै उनकालागि फाइदाजनक छ ।

ओलीले यो भुल्नु हुँदैन कि सरकारको नेतृत्व आधा–आधा कार्यकाल चलाउने कागज प्रचण्डले आफ्नै हातले च्यातेर फ्याँकेका हुन् । त्यसकारण प्रचण्डसँग ओली धेरै सशंकित हुनुको अर्थ छैन । उनीहरुको मिलापमा सरकार र मुलुकको स्थायित्व लुकेको छ ।

अस्त्र नं – ४

दोस्रो दर्जाका यी ५ नेतालाई विश्वासमा लिने

– पार्टीका दुई शक्तिशाली नेतालाई विश्वासमा लिन सकिँदैन भने दोस्रो दर्जाका नेतालाई विश्वासमा लिने, जसले पार्टी र संसदीय दलमा पल्लाभारी बनाओस् । ईश्वर पोखरेल र विष्णु पौडेलसँग ढुक्क बन्दै उनले खासगरी बामदेव गौतम, रामबहादुर थापा ‘बादल’, भीम रावल, बर्षमान पुन र जनार्दन शर्मासँग भित्री एकता गर्नुपर्छ । यी ५ यस्ता नेता हुन् जसको पार्टीमा तलसम्म च्यानल स्थापित छ । र, यी नेताहरुलाई शीर्ष नेताहरूको जस्तो खुराक पनि चाहिँदैन । नयाँ अनुहारका कारण पार्टीमा पुनर्ताजगी आउने पनि पक्का हुन्छ ।

माथि उल्लेख गरिएका ४ ‘अस्त्र’ वाहेक प्रधानमन्त्रीले मध्यावधी चुनावको बाटो पनि पक्रन सक्लान् । तर, त्यो मार्गबाट सकारात्मक परीणाम भने आउँदैन । उनको यो संभावित कदमले मुलुकलाई २०५० सालतिर फर्काउँछ । संस्थागत नभईसकेका परिवर्तनका पाटाहरु धरासायी बन्छन् । यसले प्रधानमन्त्री ओली, लोकतन्त्र–गणतन्त्र र समग्रमा वर्तमान ब्यवस्थामा नै प्रश्न चिन्ह लाग्न सक्छ । त्यसकारण ‘इगो’ पालेर आत्मघाती कदममा आकर्षित हुनुभन्दा छाती फराकिलो पारेर सकारात्मक कदम र संदेशले ओलीलाई अमर बनाउन मद्धत गर्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार