#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1119067852911343639556297610
नेपाल152593290846143

अनलाइन कक्षा : शहरमा वरदान, गाउँमा अभिशाप

अनलाइन प्रविधिका कक्षा सञ्चालन गर्ने कुरा केवल विद्युत र इन्टरनेटको पहुँच भएका मूलतः शहरी क्षेत्रहरूका लागि यो उत्तम उपाय हो । २१ औँ शताब्दीमा आएर प्रविधिको विपक्षमा कुरा गर्नु मूर्खता हो तर बाध्यतालाई नकार्न मिल्दैन । यो त यथार्थ हो । प्रविधिमैत्री शिक्षण नयाँ ढाँचाको अध्यापन शैली भएकाले पनि नहुनु मामाभन्दा कानो मामा जाति भने जस्तो चाहिँ हुन्छ । नेपालमा ग्रामीण क्षेत्र अभैm पनि टुकी युगमा रहेको तीतो यथार्थतालाई शिक्षा मन्त्रालय तथा विश्वविद्यालय लगायतका सबै शैक्षिक विषयमा सरोकार राख्ने निकायले मिहिन रूपमा सोच्नु आवश्यक छ ।

एकान्तवास (लकडाउन) को परिस्थितिलाई नजरअन्दाज गरेर त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा सञ्चालनार्थ सूचना जारी गरे पनि सायद नेपाल र नेपालीका समस्याका विषयमा ध्यान दिइएको देखिँदैन । वास्तवमा अभैm पनि नेपालमा प्रविधि जान्ने र प्रयोग गर्ने ज्ञान दूरदराजका नागरिकसँग छैन । यस कुरालाई पनि नकार्न सकिँदैन । शहरी क्षेत्रमा बिजुली पनि आपूर्तिको ठेगान हुँदैन । अहिलेकै अवस्थामा सबै विद्यार्थीलाई एकमुष्ट पारेर भेला गरी प्रभावकारी कक्षा सञ्चालन गर्ने तथा पढाइलाई गति दिने कुरा हाम्रो नेपालका लागि अर्को समस्या रहेको देखिन्छ । यो कुरा एउटा कोठाभित्र बसेर निकालिएका सुझाव र तर्क गरेजस्तो सहज छैन । किनकि, ग्रामीण क्षेत्रको विकट परिवेश र चेतनाका विषयमा रहेर बालमनोविज्ञान र समाज मनोविज्ञानलाई हेर्ने कुरा छुट्छ । तब, उपाय केवल भन्नका लागि भनिएको ठहर्छ किनकि अनलाइन कक्षा सञ्चालनपूर्व त्यसको आधारभूत विकास हुनु आवश्यक छ ।

हाम्रो देशका अधिकांश शहरी क्षेत्रबाहेकका दूरदराजका गाउँमा रेडियोसम्म राम्ररी बज्न सक्दैन । विशेष गरेर बजारी केही क्षेत्रबाहेकमा बिजुलीको आपूर्ति निरन्तर हुँदैन । हावाहुरी, झरी–बादल भएर वातावरण फेरबदल भइसक्दा बत्ती जान्छ । त्यसो नभए पनि बत्ती जाने–आउने कुराको कुनै ठेगान हुँदैन । यो वास्तविक समस्यालाई नियाल्ने हो भने नेपाल सरकारले पहिला पूर्वाधारका विकास गर्ने अनि आदेश दिने गरेको भए त्यो तरिका मिल्थ्यो होला । पढाउँदै गयो– बिचैमा बत्ती जान्छ । सबैको घरमा इन्भटर, सोलार आदिको सुविधा त हुँदैन । परिणामतः पढ्ने पढाउनेलाई नै बाधा उत्पन्न हुन्छ । झिँजो महसुस हुन्छ । यो शहरी क्षेत्रमा केही हदमा वरदान भए पनि दूरदराजका लागि अभिशाप बन्छ ।

कोरोना महामारीले व्यापार, उद्योग, यातायात लगायतका विविध क्षेत्र जसरी नै शैक्षिक जगतलाई प्रभावित तुल्याएको छ । मुखमा आइपुगेर अकस्मात् रोकिएको एसईई परीक्षादेखि विश्वविद्यालय तहसम्मका पढाइ र परीक्षा रोकिएकामा चिन्ता बढ्दै जाँदा उत्तम विकल्प खोज्नु परिस्थितिगत बाध्यता पनि हो । शिक्षा र सरोकारवालाहरूको समर्थन तथा एउटै विकल्पका रूपमा अहिले ‘अनलाइन कक्षा’ सञ्चालनका कुरामा विचार राख्नेको एउटा लहर पनि छ ।

खुला विश्वविद्यालयले त विगतदेखि नै अनलाइन कक्षालाई नेपालमा राम्रै अभ्यास गरिरहेको बुझिन्छ । लकडाउनका कारण एसईई तहका लागि विभिन्न विकल्पका साथमा ‘जुम डट युस’, ‘टेलिभिजनद्वारा शिक्षण’, ‘रेडियो कार्यक्रम’ लगायतका विकल्पहरूको खोजी भयो । यसबाहेकका प्रभावकारी विकल्पले शिक्षा क्षेत्रमा एउटा उतारचढाव ल्याइरहेको छ । कतै अनलाइन कक्षा सञ्चालनका प्रभावकारिताको खबर त कतै समस्याका खबर । उदाहरणका रूपमा लिँदा– धादिङ स्थित आदर्श बहुमुखी क्याम्पसले स्नातकोत्तर तहमा विगतदेखि नै प्रत्यक्ष कक्षाका साथमा ‘गुगल क्लास रुम’, ‘इज्जी क्लास’ लगायतका एप्सको माध्यमबाट पठनपाठनमा सहजीकरण गर्ने कार्य गरिरहेको छ । दमक बहुमुखी क्याम्पस, दमकले पनि इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीलाई समेटेर ‘जुम डट युस’ द्वारा कक्षा सञ्चालनमा सकेसम्म लागि परेको त्यहाँका अध्यापक लीलाराम निरौला बताउनुहुन्छ । सामाखुशी इङ्गलिस बोर्डिङ (सेब) स्कुल, काठमाडौँले अहिले कक्षा ८ देखि माथिका विद्यार्थीलाई यो एप्सद्वारा कक्षा सञ्चालन गर्दा सिकाइमा स्मरण हुने त्यहाँका निर्देशक युवराज थापाले बताउनुभयो । यो प्रविधिद्वारा ठूला–ठूला भेला, साहित्यिक समारोह भइरहेको देख्न पाइन्छ । ‘जुम डट युस’ एप्सद्वारा प्रश्न राख्न तथा लेखेर राखिएका सामग्री हेरेर सुझाव दिन सकिने हुँदा इन्टरनेट भएका शहरी क्षेत्रमा यो प्रविधि वरदान बनेको छ । तर, यी प्रविधिहरूले गणित, विज्ञान, अर्थशास्त्र, अकाउन्ट लगायतका विषयमा हुने हिसाबजन्य समस्यालाई हल गर्न त्यति सम्भव हुँदैन । यसका अतिरिक्त विश्वले अपनाइरहेका अभैm सहज र प्रभावकारी तौरतरिकाहरू भेट्न सके त्यसलाई पनि खोज्नु अबको आवश्यकता अवश्य हो ।

प्रविधिको वैकल्पिक तथा नवीन प्रयोगले प्रविधिमैत्री शिक्षाको वातावरणलाई तय गर्दा यो फुर्सदको दुरुपयोग रोक्ने वरदान साबित भएको छ । चीन, इटालीमा दोहोरिएका घटनालाई हेर्दा सरकारले शिक्षण संस्थालाई सबैभन्दा पछि मात्र खोलिने भनेको विषय पनि जायज छ । दिनदिनै बढी भेला हुनुपर्ने स्थान शैक्षिक क्षेत्र हुन् । यसर्थ घरमा बसिरहँदा पढ्ने वातावरण भएमा पक्कै राम्रो कुरा हुन्छ नै । तर, इन्टरनेट चलाउने भए पनि सबैको आफ्नै राउटर त हुँदैन । सबैसँग गुणस्तरीय नेट पनि त छैन । त्यसै त आजभोलि धेरैले प्रयोग गर्ने हुँदा पनि यसको गतिमा द्रुतता हुँदैन । इन्टरनेटको पहुँच बाहिर रहेकाहरूका लागि अनलाइन कक्षा चिन्ताको विषय हुन्छ । यो प्रविधि आकाशको फल आँखातरि मर भने जस्तो मात्रै हुन्छ ।

गरिबी र मनोविज्ञान

ग्रामीण क्षेत्रका सबै विद्यार्थीका हातमा इन्टरनेट चल्ने स्तरको मोबाइल छैन । यसबाट तिनमा अवश्य पनि मनोवैज्ञानिक असर पर्छ । मोबाइल भए पनि यदि डाटा लिएर नै भए पनि कक्षामा सहभागी हुन्छु भन्ने हो भने यो अवस्थामा मोबाइलमा पैसा राख्नै मुस्किल छ । हाम्रो देशमा डाटा लिएर नेट चलाउने होइन, मोबाइलको नेटवर्क नटिप्ने थुप्रै ग्रामीण इलाकाहरू छन् । यो आकाशको फल आँखातरि मर मात्र हुन्छ । एकातिर पढाइ भइरहेको छ, अर्कातिर आपूm सहभागी हुन नसक्दाको मनोवैज्ञानिक पीडा हुन्छ । यसले औपचारिक कक्षा सञ्चालन गर्ने कुरामा सकारात्मक प्रभाव पार्न सक्दैन । परिणामतः इन्टरनेटको पहुँच नभएका कारणले नै विद्यार्थीहरूले पढाइ छोड्ने परिस्थिति बन्न सक्छ । बजार–व्यापार, यातायात बन्द भएका कारण गाउँ–गाउँमा रिचार्ज कार्डको अभावमा दूरदराजका धेरै मानिसमा समस्या छ । सबैसँग अनलाइन रिचार्ज गर्ने ज्ञान र सुविधा छैन पनि । यदि कार्ड पाए पनि डाटा लिँदा त ठूलै रकम खर्च गर्नुपर्ने हुन्छ । यो विपन्न वर्गका लागि अर्को समस्या हो ।

आवश्यक पूर्वाधार विकास तथा सुविधा प्रदान गर्ने विषयमा पनि आ–आफ्नो क्षेत्रबाट कदम चाल्नु अनिवार्य देखिन्छ :
–गाउँपालिका वा स्थानीय सरकार लगायत सम्बन्धित सरोकारका निकायका बिचमा समन्वय गरेर निःशुल्क इन्टरनेट सुविधा प्रदान गर्ने ।
– विद्यार्थीको नाम र नम्बर क्याम्पसको सिफारिसका आधारमा दर्ता गराई डाटामा छुट दिने ।
– विद्युत आपूर्तिका लागि स्थानीय सरकार, सम्बन्धित विद्युतको कार्यालय तथा क्याम्पस वा विद्यालयसँग समन्वय गर्ने ।
–डाटा लिएर इन्टरनेट चलाउनु पर्ने विपन्न विद्यार्थीको अवस्थालाई हेरेर स्थानीय सरकार तथा अन्य कुनै सहयोगी निकायसँग सहकार्य गर्ने ।
– स्थानीय वडा कार्यालय तथा सरकारले ग्रामीण क्षेत्रमा कुनै सहज हुने सकेसम्म छोटो दुरीको स्थानमा इन्टरनेटको व्यवस्था गरेर पढ्ने, पढाउने गरी सुरक्षित वातावरण तय गर्ने
– इन्टरनेटको पहुँच वा मोबाइल डाटा दुवै अवस्था नहुनेका विषयमा विशेष ध्यान दिएर मात्र औपचारिक रूपमा यो अनलाइन शिक्षा कार्यक्रम सञ्चालन गर्ने ।
– विशेष गरेर बालबालिकाका लागि इन्टरनेटको सुविधालाई केही गरी, कसै गरी पनि उपलब्ध गराउन नसकिने क्षेत्रमा रेडियो शिक्षा, टेलिभिजन भएका स्थानमा टेलिभिजन शिक्षा, प्रदान गर्न सम्भव हुने देखिन्छ । पहिला–पहिला शिक्षक तालिम र परामर्शका कुरा रेडियो नेपालबाट प्रसारण गरे जसरी माथिल्ला तहका लागि पनि वैकल्पिक उपायलाई खोज्नु उपयुक्त हुन्छ ।
– गाउँमा त लकडाउन भएको नभएको खासै असर देखिँदैन । मात्र विद्यालय बन्द छन् भन्ने कुरा मात्र हो । यसर्थ बालबालिकालाई घरका कुरा सिकाउनुपर्छ, काम सिकाउनुपर्छ भन्ने कुरा धेरै हदमा शहरी क्षेत्रतिर हो । त्यहाँ त इ-पुस्तकालय, इ-सिकाइका कुरा आइरहेका छन् । प्रविधि छ ।

मूलतः गाउँका लागि, दूरदराजका लागि जे जे भनिए पनि उस्तो व्यावहारिक आधार छैन । त्यहाँ धेरै हदमा अभिभावक पनि सचेत छैनन् । त्यसैले स्थानीय सरकार, अभिभावक तथा शिक्षकहरूको सहकार्यद्वारा सचेत तुल्याएर बालशिक्षाका चेतनामूलक सूक्ष्म कार्यक्रम, रेडियो शिक्षा गर्न सकिएला । किनकि, यदि त्यहाँ बाहिरतिर मान्छेहरू ओहोर–दोहोर नगर्ने हो भने कोरोनाको जोखिम कम छ ।

उल्लिखित पक्षहरूमा इन्टरनेट र विद्युत आपूर्तिका समस्या सोचनीय छन् । अर्कोतर्पmबाट सोच्दा हामीले कहिलेकाहिँ भन्दै आएका छौँ– “बालबच्चाले मोबाइल र फेसबुकका कारणले पढाइ बिगारे ।” यदि सरकारले इन्टरनेट निःशुल्क बनाउने हो भने त्यो अर्को समस्या बन्न सक्छ । वास्तविकतामा सोच्ने हो भने इन्टरनेट अभिशाप होइन, वरदान साबित तुल्याउनु अभिभावक, शिक्षक तथा अग्रजको दायित्व हो । विद्यार्थीहरू इन्टरनेटबाट संसारको ज्ञानमा अद्यावधिक हुन पनि त पाउँछन् । अहिलेकै समयमा नकारात्मक व्यवहार र आचरणका विषयमा अभिभावक चनाखो हुनु चाहिँ अत्यावश्यक छ । विशेष गरेर ग्रामीण क्षेत्र र दूरदराजका विद्यार्थीका अवस्था समेतलाई ख्याल गरेर मात्र यो अनलाइन कक्षा वा अन्य विकल्पलाई प्रयोग गर्न सकिन्छ । ग्रामीण क्षेत्रका विद्यालयीय तहमा निश्चित क्षेत्रका विद्यार्थीहरू पढ्न आउने हुँदा यदि सबैको हातमा सोही अनुकूलको मोबाइल हुने हो भने इन्टरनेट निःशुल्क हुँदा केही सम्भावना बढ्ला कि !
(लेखक भाषा र साहित्यका साथै समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।)
[email protected]

सम्बन्धित समाचारहरु

ताजा समाचार