कोरोना जितेका युवा भन्छन्, : ‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’

कोरोना जितेका युवा भन्छन्, : ‘सङ्क्रमण देखिएपछि डराउन र लुकाउन हुँदैन’


राजविराज।

‘कोरोना सङ्क्रमण भए पनि डराउन र लुकाउन हुन्न ।’ राजविराजस्थित साइकृष्णा कलेज एण्ड हस्पिटलको आइसोलेसन सेन्टरबाट बुधबार बिदा भएका तीन युवकले आफ्नो अनुभव सुनाए ।

सप्तरीको बलानबिहुल गाउँपालिका–४ बेल्हीका ३५ वर्षीय अमरनाथ मण्डल, डाकनेश्वरी नगरपालिका–४ पट्टी प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया र डाकनेश्वरी नगरपालिका–८ भुतहीका ३५ वर्षीय जसोलाल रामको पिसीआर नेगेटिभ आएपछि उनीहरुलाई बुधबार बिदा गरिएको हो । राजविराजस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताए ।

मण्डल भारतको हरियाणाबाट, मुखिया मुम्बइबाट र राम दिल्लीबाट फर्किएका हुन् । तीनै जना फरक–फरक ट्रकमा भएर आएका थिए । कोरोना पोजेटिभ भएको जानकारीले शुरुमा निकै अत्तालिए पनि घरपरिवारका सदस्यले र आइसोलेसनमा ल्याएपछि स्वास्थ्यकर्मी, नर्सले निकै हौसला दिएको रामले बताए। आइसोलेसनमा ल्याएको पहिलो दिन पानी र चियानास्ता नपाए पनि त्यसपछि कुनै असुविधा नभएको उनले बताए। आत्मबल बलियो बनाउने काम भएमा कोरोनालाई सजिलै पछार्न सकिने अनुभव सुनाउँदै उनले अरुलाई पनि आवश्यक्ताभन्दा बढी नडराउन बरु सतर्क रहन आग्रह गरे ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दास, गणपति गुप्तबहादुर कुँवर, डा रणजितकुमार झा, सिनियर स्टाफ नर्स कृष्णा यादव, सिनियर अहेव शिवनारायाण चौधरी लगायतले तीनै जनालाई टीका र खादा लगाइ फूलको गुच्छा दिएर बिदा गरेका थिए । डा दासले कोरोनालाई आत्मबलले जित्नु पर्ने र सकारात्मक सोच राख्नु पर्ने बताए । यो समेत सप्तरीबाट सङ्क्रमण मुक्त हुने चार जना पुगेका छन् ।

बुधबार तीन युवकको बिदाइपछि छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा क्वारेन्टाइनमा होल्डिङ गरी राखिएका चार जनालाई राजविराजस्थित आइसोलेसन सेन्टर ल्याइने भएको छ । सप्तरीमा हालसम्म ११२ सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । आइसोलेसन सेन्टरमा १०३ मात्र शैया रहेको छ । बुधबार सङ्क्रमण पुष्टि भएका छिन्नमस्ता गाउँपालिकाका ६ जनालाई हाल सोही क्वारेन्टाइनमा राखिने र आइसोलेसन शैयाको व्यवस्था भएपछि सारिने डा झाले जानकारी दिए।रासस

Logo