#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659734838842530209013188022
नेपाल2634102334290

अनलाइन क्लास: प्रभावकारी बनाउन व्यवस्थापनको खाँचो

विभिन्न शैक्षिक संस्थाहरूले अनलाइन कक्षा संचालन गर्दै आएको हामीले धेरै अगाडिदेखि सुन्दै आएका छौं।  गुगल मिट, जूम अनि अन्य भिडियो कन्फरेन्स प्लाटफर्मबाट ‘अनलाइन क्लास’ संचालन हुँदै आएको छ।

पछिल्लो समय यसका विषयमा तर्क वितर्क र बहसहरू हुन थालेका छन् ।  सामाजिक संजालमा ‘मोबाईल फोनको नेटवर्क राम्रोसंग नलाग्ने देशमा अनलाइन कक्षा कसरी सुरु होला’ भन्ने कुरा समेत आयो । पोखरा नगरपालिकामा शुल्क मात्र असुल्नका लागि अनलाइन कक्षा सुरु गराइएकोले यसलाई बन्द गर्नु पर्ने निर्णय गरियो ।

विकास र बिस्तारको क्रमलाई प्रबिधिले उकास्न सकिने कुरा भर्खर मात्र शुरु हुँदै गरेको हामीले देख्दै आएका छौ । प्रबिधिको विकासलाई  भर्खर केहि वर्ष अगाडिदेखि मात्र अंगाल्न सकेको नेपाल जस्तो पूर्ण प्रविधिको प्रयोगमा नआएको देशमा ठूलै चुनौतीको बिषय बनिरहेको छ ।

पौष २०७६ मा प्रकाशित नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक अनुसार ‘फिक्स्ड’ तार जडित ब्रोडब्याण्ड कनेक्सन १६.१० प्रतिशत, फिक्स्ड तार रहित (वायरलेस) ब्रोडब्याण्ड कनेक्सन ०.७६ प्रतिशत तथा मोबाइल ब्रोडब्याण्ड प्रयोगकर्ता ५५.३० गरि जम्मा ७२.१६ प्रतिशत ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा छन् ।

कम्प्युटर शिक्षालाई नेपाल सरकारले धेरै अगाडिदेखि उच्च प्राथमिकता दिए पनि देशभरमा विभिन्न सरकारी बिद्यालयमा रहेका कम्प्युटर ल्याबबाट खासै केहि उपलब्धि लिन भने सकिएको छैन । अनलाइन क्लासरुमका सफ्टवयेर माइक्रोसफ्ट र गुगलले निशुल्करूपमा धेरै अगाडिदेखि उपलब्ध गराएको र त्यसको बारेमा धेरैलाई जानकारी नभएकोले गर्दा पनि अनलाइन क्लास, गुगल मिट अनि जूम विडियो कॉन्फ्रेंसिंगमा मात्र सिमित भएको छ । प्रबिधिको प्रयोग भाइरल मात्र भयो, एक थरिले जुमलाई राम्रोसंग उपयोग गरे पनि समग्र क्लास नै ‘जुम’मै चलाउन थालियो । यथार्थमा ‘क्लास रुम’ चलाउने प्रणालीको विकासतिर ध्यान नदिइएको पाइयो ।

माइक्रोसफ्ट अपरेसन्स पीटिई लिमिटेड सिंगापुरका बिजिनेस डेभलपमेन्ट म्यानेजर तथा नेपाल र भुटानका लागि स्थानीय प्रतिनिधि दिपेन्द्र बज्राचार्यका अनुसार शिक्षा क्षेत्रमा माइक्रोसफ्टले “माइक्रोसफ्ट अन डिस्टयान्स एजुकेशन“ अन्तर्गत अफिस ३६५ ए १ लाई निशुल्क गरेको छ । जसमा अनलाइन कक्षा गर्नका लागि १६ वटा टुल नि:शुल्क गरिएको छ ।

जुन वेब भर्सनमा शिक्षक र बिद्यार्थीबीच निर्बाध रूपमा प्रयोग गर्न साथै कक्षा र पाठ्यक्रम बनाउदै लैजान सकिन्छ । अफिस ३६५ ए ३ डेस्कटप भर्सनमा समेत प्रयोग गर्न सकिन्छ तर त्यसको लागि भने प्रत्येक बिद्यार्थीलाइ मासिक  २.५० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

साथै अफिस ३६५ ए ५ मा ए १ र ए ३ का सबै सुबिधाहरु समेटिएको हुन्छ । यो अफिस ३६५ ए ५ सुरक्षा व्यवस्थापन, उन्नत अनुपालन, र एनालिटिक्स प्रणालीमा आधारित हुन्छ । शिक्षकको हकमा भने ए १  नि:शुल्क रहने, ए ३ लाई मासिक ३.२५ अमेरिकी डलर र ए ५ लाई ८ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ ।

बज्राचार्यका अनुसार माइक्रोसफ्ट टिम्स, वान नोट आदि मार्फत अनलाइन कक्षा सजिलै चलाउन सकिन्छ । माइक्रोसफ्ट एजुर प्लाटफर्ममा ‘मुडल यज अ सर्विस’ समेत चलाउन सकिन्छ । बार्षिकरूपमा केहि रकम भने अवश्य तिर्नु पर्नेछ । माइक्रोसफ्टले विभिन्न प्लानहरु अनुसार अनलाइन कक्षा सम्बन्धी  एप्सहरु निशुल्क र सशुल्क दिने गर्दछ तर आफ्नो सुरक्षालाइ मध्यनजर गर्दै विन्डोजको लाइसेन्स भने जेनुयन भएको राम्रो मानिन्छ ।

देशको कुना कुनामा इन्टरनेटको बिस्तार गर्ने हो भने मात्र अनलाइन शिक्षालाई मुर्तरुप दिन सकिन्छ । अनलाइन शिक्षालाई बिस्तार गर्नको लागि माइक्रोसफ्ट एजुकेशनले जस्तै गुगलले पनि गुगल क्लास रुमको विकास गरेको छ । कुनै बेला विकिपीडिया र ट्वीटरलाई  निशुल्क दिए जस्तै बिद्यार्थीलाइ केहि पोर्ट वा कुनै एप्समा सिमित राखेर माथिल्लो स्तरबाट नै प्राबधान मिलाउने हो भने यो कुरालाई प्रयोगात्मक बनाउन सहज हुनेछ । हिजोको दिनमा सुरु भएको ‘One Laptop Per Child’ (OLPC) लाई समेत जोडेर लाने वा गुगल क्रोमबुक वा कुनै ट्याब मार्फत यो प्रक्रियालाई अगाडि बढाउने हो भने मात्र यो अनलाइन कक्षा सम्भव हुने अड्कल काट्न सकिन्छ ।

बिद्यार्थी के भन्छन् ?

लकडाउनको सुरुवाती दिनदेखि अनलाइन कक्षा लिदै आएका ब्रिटिश कलेज काठमान्डौका एमएससी प्रथम सेमेस्टरका छात्र शिव नन्दन मेहेताका अनुसार ब्रिटिश कलेजले पूर्णरुपमा अनलाइन कक्षा गराएको तर अनलाइनमा गरिएको कक्षा, नियमित कक्षा जस्तो नभएको अनुभव उनको छ । गुगल मिटमार्फत भिडियो कॉन्फ्रेंसिंगबाट हुने गरेको कक्षाले सोचे जस्तो क्षमता अभिवृद्धि खासै गर्न नसकेको गुनासो छ ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दर हरैचा मोरंगमा एमबीएस पहिलो सेमेस्टरकी छात्रा माया घिमिरेका अनुसार क्याम्पसले गुगल मिट मार्फत भिडियो कॉन्फ्रेंसिंग गर्ने र गुगल क्लासरुमको प्रयोग गरी कक्षा चलाउदै आएको बताउछन् । एमबिएस गर्दै गरेको बिद्यार्थीको हकमा भने धेरै नै सजिलो हुने भएको साथै अनलाइन कक्षामा प्रेजेनटेसन गर्न समेत सजिलो हुने र यो निक्कै नै फलदायी रहेको उनको अनुभव छ ।

शिक्षक के भन्छन ?

बिराटनगरस्थित एक प्रतिष्ठित बिद्यालयले पनि अनलाइन मार्फत कक्षा संचालनमा ल्याएको र अनलाइन मार्फत भिडियो कॉन्फ्रेंसिंगबाट कक्षा संचालनमा ल्याएको जानकारी गराए । न्युनतम पूर्वाधारको प्रश्नको उत्तरमा वहाले इन्टरनेटको पहुच हुनुपर्छ भन्ने जिकिर गरे  । अनलाइन कक्षामा अहिले नै ग्रेडिंगको ब्यबस्था भने नभएको साथै अनलाइन कक्षा पनि रेगुलर कक्षा जस्तै समयमा हुने अनि देशभर अनलाइन कक्षा सुरु भएकोले गरेको बताउछन् ।

विगत ७ वर्षदेखि अध्यापनको क्षेत्रमा लागेका बिराटनगरका ईश्वर भण्डारीका अनुसार “अपरिहार्य अवस्थामा आएको खण्डमा सम्पूर्ण शिक्षक र विद्यार्थीहरु अनलाइन कक्षाको दायरामा तत्कालै आउनु ठूलो चुनैती रहेको छ । सर्वसुलभ तरिकाले सम्पूर्ण शिक्षक  तथा विद्यार्थीहरुको पहुच तथा प्रविधीको उपलब्धता भएको खण्डमा मात्रै अनलाइन शिक्षाको प्रभावकारिता हुने स्पस्ट छ ।

राष्ट्रिय तहबाट आगामी दिनमा यदी अनलाइन शिक्षालाई निर्बिकल्पीय अध्यन अध्यापनको माध्यम बनाइने हो भने सोका लागि गरिनुपर्ने सम्पूर्ण तयारीहरु गर्ने सहि समय अहिले नै हो । प्रविधीलाई सबैले अंगीकार गर्न मिल्ने बनाउनु हालको लागि राज्यकै प्रमुख दायित्व अन्तर्गत पर्न सक्छ“ भन्ने उनको भनाइ छ ।

सुकुना बहुमुखी क्याम्पस, सुन्दर हरैचा मोरंगमा एमबीएस पहिलो सेमेस्टरकी छात्रा माया घिमिरेका अनुसार क्याम्पसले गुगल मिटमार्फत भिडियो कन्फ्रेंसिंग गर्ने र गुगल क्लासरुमको प्रयोग गरी कक्षा चलाउँदै आइएको छ ।

पूर्वान्चल बिश्वबिद्यालय ‘फ्याकल्टी अफ म्यानेजमेन्ट’का डिन डा. बिजु कुमार थपलियाका अनुसार अनलाइन क्लास सम्भब नहुने भने हैन । नयाँ तरिका भएकोले सबैको रुची रहेको तर परम्परागत कक्षालाई भने यसले परिवर्तन भने गर्न सक्दैन । ‘अनलाइन क्लास’ बैकल्पिक माध्यम पहिलेदेखि नै रहेको थियो तर अहिले मात्र बाध्य बनायो । ‘अनलाइन क्लास’ र ‘परम्परागत क्लास’को समिश्रण मिलाएर लैजाने हो भने यसको प्रभाकरिता बढ्न सक्छ ।

अनलाइन क्लास नयाँ भए पनि शत प्रतिशत नै बिद्यार्थीको उपस्थिति रहेको छ  । अनलाइन क्लासलाई अलि गम्भीरतापूर्वक समाबेश नगरिएको मात्र हो । सरकारी तबरबाट पूर्ण समर्थन भए मात्र अगाडि बढाउन सकिने र खाली शैक्षिक संस्थाले मात्र यो समस्या समाधान गर्न नसक्ने हुन्छ । इन्टरनेटको पहुच सहरमा मात्र सिमित रहेको अवस्थामा डिजिटल विभाजन हुने सम्भावना बढ्ने छ ।

अनलाइन क्लासका लागि सबैलाई ल्यापटप, कम्प्युटर वा ट्याब चाहिने हुनाले सबैको पहुचमा खर्च गर्न नसक्ने हुन्छ । बैकल्पिक मध्यमको रुपमा अनलाइन शिक्षालाइ इन्टरनेटबाट मात्र सिमित नराखी रेडियो, टिभी, एफएम आदि जस्ता मध्यमबाट पनि कक्षा संचालनमा ल्याउन सकिने उनको बुझाइ छ ।

अभिवावक के भन्छन् ?

सुप्रभा शर्मा (नाम परिवर्तित) कक्षा ३ मा भर्खरै प्रवेश गरेकी आफ्नी छोरीको बिषय उदृत गर्दै, बिराटनगरको एक बिद्यालयले स्कुलको वेबसाइटमा कन्टेन्ट राख्ने, अनि त्यसलाई अविभावक वा विद्यार्थीले डाउनलोड गरेर त्यो लिंक हेरी, सोही  अनुसार माइक्रोसफ्ट वर्ड फाइल वा फोटो खिचेर नोट पठाइने र विद्यार्थीले त्यसैलाई आधार मानी कार्य सम्पादन पश्चात  स्क्यान गरि वा फोटो खिची इमेल मार्फत पठाउनुपर्ने हुन्छ । प्रत्येक शिक्षकको बेग्लै बेग्लै इमेल हुने हुनाले अलि गार्हो हुने गर्दछ ।

अनलाइन कक्षा सरकारी तवर या कुनै केन्द्रीय निकायबाट संचालित नभई स्थानीय निकाय वा भनौ कुनै स्कुल कलेज वा क्याम्पसको निजि निर्णय मात्र भएकोले गर्दा यसको संचालनमा विवाद उत्पन भएको भन्ने बुझिन्छ । शिक्षा मन्त्रालयले बिषयबस्तु, आधारभूत पूर्वाधार, इन्टरनेटको पहुचबाट बन्चित समुदायको विकल्पमा कुनै एक ठोस विकल्प जस्ता कुरामा ध्यान दिनुपर्छ।

डा. मिरा आचार्यका अनुसार अनलाइन क्लास जस्तो हुनुपर्ने त्यस्तो भएको छैन । भिडियो रेकर्ड गरेर वाट्सएपमा पठाएर बिद्यार्थीले कसरी बुझ्छन् । रेकर्डिंङ् गर्दा कपी बांगो र टेडो हुने, प्रस्ट नबुझिने हुन्छ । रेकर्डिंग नै पढाएपछि ह्वाइट बोर्डमा बिस्तारै बुझाउदै अरुलाई रेकर्ड गर्न लगाए राम्रो हुन्थ्यो । त्यो वाहेक अनलाइन शिक्षालाई अलि व्यवस्थीत तथा प्रविधी युक्त बनाउनु पर्ने देखिन्छ ।

स्कुल कलेज ले के गर्ने ?

‘अनलाइन क्लास’ कसरी र के बाट सुरु गर्ने भन्ने बिषयमा शैक्षिक संस्थाले योजना बनाउने, क्लास बनाउने, कोर्स बनाउने, बिद्यार्थीको हकमा पुर्वाधारहरु के-के हुनु पर्छ भन्ने बिषयमा कुनै एउटा निकायले जिम्मा लिने वा ‘गाइडलाइन’ बनाउने, इन्टरनेटको स्पिडको हकमा कति हुनु पर्ने, बिद्यार्थीलाइ के-के चलाउन दिने हो, कुन समयमा दिने हो आदि जस्ता कुरा लाई मध्यनजर गरेर विभिन्न जिल्ला वा ठाउँका आइएसपीहरु संग मिलेर इन्टरनेटको प्याकेजहरुको रकममा सहुलियत गरी, गुगल क्लास रुम, माइक्रोसफ्ट क्लास रुम सहि प्रयोग कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रस्ट हुनु पर्दछ ।

क्लासको समय, कोर्स कसरी लाने,  अभिभावकको समस्या, सुझाब बुझ्ने निकायको ब्यबस्था गर्नु पर्दछ, स्कुल कलेजले को वा के संग समन्वय गरेर प्रबिधिको प्रयोग कसरी गर्ने भन्ने सुरुमा नै निर्धारण गरी सम्पूर्ण शैक्षिक टोलीलाई प्रशिक्षण गराई लैजाने  हो भने मात्र अनलाइन क्लास सम्भव हुने छ ।

बिद्यार्थी देशका कर्णधार हुन् र सम्पूर्ण राष्ट्रको भविष्य बिद्यार्थीको हातमा छ । यस्तो विषम परिस्थितिमा प्रबिधिको सहि सदुपयोग गरी अध्ययन अध्यापन गराउनु उचित हुन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार