#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559067134792228751602367589
नेपाल6824566112

परदेशी दाइसँगको मन छुने संवाद : ‘रोगले भन्दा पनि भोकले मरिएला जस्तो छ’

घरबासको समयमा यसो आफन्तलाई सम्झौँ भन्ने लागेर विदेशका आफन्तहरूको याद आयो । भिडियोवार्ता गर्नलाई सोचेँ । एकजना धेरै वर्षदेखि विदेशमा रहनु हुने दाइसँगको कुराकानीले भर्खरै मे १ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकतालाई एकपटक गम्भिर भएर सोच्न बाध्य तुल्यायोे ।

“दाइ नमस्कार ।”
“नमस्कार, सन्चै हुनुहुन्छ ?”
“एकदम ठीक छ दाइ यहाँ त । त्यहाँ के–कस्तो छ हजुरलाई ? त्यता त कोरोनाको भय अझै धेरै होला । जोगिएर बस्नुस् है ।”
“अस्तिसम्म त कोरोना रोगको मात्रै डर थियो अब त बाँच्नका लागि भोकको समस्याले पो सताउने भयो । लकडाउन भएको पनि एक महिनाभन्दा धेरै भइसक्यो । आजसम्म त जेनतेन खाइएको थियो । अब हामी ३ जनाका लागि हाम्रो साथमा २० किलो चामल बाँकी छ । आफूले मात्र खाएर भएन हामी २९ जना एउटै होस्टेलमा बस्ने नेपालीहरू छौँ । धेरैको अवस्था हाम्रो जस्तै हो । अब आफूले मात्र खाएर बस्न मिलेन । बाँढीचुँडी कति खान पुग्ला थाहा छैन ।”

“दाइ राहत दिँदैन र, त्यहाँको सरकारले ?”
“आफ्नै देशको सरकारले त केही गर्दैन, यो अर्काको देशमा काम गर्न आउने कामदार मरेर तिनको के बिग्रन्छ र ?”

“दूतावासलाई फोन गरेर भन्दा हुन्थ्यो नि दाइ ।”
“हामीले धेरै पटक फोन ग¥यौँ । ३–४ दिनअघिदेखि पटक–पटक फोन गर्दा पनि फोन उठाउँदैनन् । एकपटक एकजना साथीको फोन बल्लतल्ल त्यहाँका कुनै स्टाफले उठाएका रहेछन् । उनले भने रे– ‘हामी यहाँ दूतावासमा ६ जना स्टाफ छौँ । मलेसियामा करिब सात–साढे सात लाख जति नेपालीहरू होलान् । हामीले कस–कसलाई कसरी सहयोग गरेर साद्दे लाग्छ ।’ भनेर फोन काटिदिएपछि अब हामी सहाराविहीन भएका छौँ ।”

“दाइ अनि हजुरहरूलाई यो बिदाको समयमा कम्पनीले हेर्नुपर्ने होला नि !”
“कम्पनीले त हामीलाई जुन दिन काम ग¥यो त्यही समयको मात्र पैसा दिन्छ । अहिले यो लकडाउनको समयको पैसा पनि दिँदैन । हाम्रो अवस्था के कस्तो छ भनेर आजसम्म फर्केर हेरेको पनि छैन । न कसैलाई फोन नै गरेको छ ।”

“अनि, यतिका दिनसम्म कसरी बसिरहनु भएको थियो ?”
“हामी बसेको भवनको भुइँतलामा एउटा किराना पसल छ । त्यहाँ हरेक सामानलाई पहिलाको भन्दा दोब्बर तिरेर आजसम्म त चामल किन्दै भातसम्म खाँदै बसेका छौँ । तर, अब उसले हाम्रो अवस्थालाई बुझेर उधारो नदिने भनिरहेको छ । हामीसँग अब विकल्पको कुनै आधार छैन । हाम्रो भएको पैसा पनि सक्किँदै गएको छ । बाहिर निस्कने वातावरण छैन ।”

“एटीएममा जान सक्ने कुनै वातावरण छैन ?”
“आज हामी २–३ जना यहाँको पुलिसलाई छलेरै भए पनि एटीएममा पैसा निकाल्न जाने भनेर बाहिर निस्क्यौँ । यहाँ एक–दुईवटा ट्याक्सीलाई मात्र सरकारी पास दिइएको छ । कुर्दा–कुर्दा बल्लतल्ल एउटा ट्याक्सी आयो । लकडाउन अघिको सामान्य अवस्थामा हामी बसेको यहाँ ठाउँदेखि एटीएम भएको ठाउँसम्म पुग्नलाई २५ रिङ्गेड तिर्थ्र्यौँ । बल्लतल्ल १३० रिङ्गेड तिरेर एटीएमसम्म गएर आइयो । त्यहाँबाट ल्याएको पैसाले यस अघिसम्म खाएको पसलेको ऋण तिरेर २० केजी चामल किनेको हो, तर…..। अहिले साहुले उधारो दिँदैन । हामीले कम्पनीसँग ‘कि त खाने व्यवस्था गर, कि त घर पठाइदेऊ’ भनेर अनुरोध गरेका हौँ ।”

“दाइ हजुरको कुरा सुनेर साह्रै दुःख लाग्यो । अब म त यहाँबाट के गर्न सकौँला र ?”
“हामी यो कम्पनीमा नेपाल लगायतका विभिन्न देशका ५०० देखि करिब ७०० जना जति छौँ होला । त्यसमध्ये थुप्रै नेपाली नै छौँ । तर, कम्पनीले लकडाउनको समयको स्यालरी नदिने कुरा भनिसकेको छ । हामी त यहाँ कोठाभित्रबाट नेपालको यादमा तड्पिन्छौँ । घरको सम्झनासँग दिन बिताइरहन्छौँ । त्यहाँ त हुनेखानेले समेत राहतमा समेत लडाइँ झगडा गरिरहेको समाचार पढ्दा झनै निराशा बढ्छ । कतार, अष्टेलिया जस्ता देशले त आफ्ना नागरिकलाई विभिन्न देशबाट भेला पारेर आफ्नै देशमा फर्काइरहेका छन् । अब हामीलाई यहाँको कम्पनीले लकडाउन खुलेपछि पनि कति समयसम्म काम दिन्छ भन्ने ठेगान छैन । व्यापार नभएपछि कम्पनी घाटामा गयो भने हामीले सायद नेपाल नै फर्कने विकल्प बाँकी रहन्छ ।”

“दाइ, अनि तपाईँहरूले अरू केही प्रयास गर्नुभएन ? त्यहाँको मिडियालाई बोलाउनु भएन ?”
“अँ, बोलाएका छौँ । केही साथीहरूले तल रोडमा उत्रेर आन्दोलन पनि गरे । तर, फेरि कम्पनीको साहुले झन नराम्रो व्यवहार गर्ने डर हामीलाई छ । त्यसैले यो हाम्रो अवस्थालाई नेपालसम्म खबर गर्न पनि हामीलाई एक हिसाबले डर भइरहेको छ ।”

“दाइ, यहाँ नेपाल सरकारलाई सहयोगको लागि अपिल गरौँ न त, के फरक पर्ला त ?”
“होइन, हामीले यहाँको मिडियासँग कुरा पनि गर्ने भएका छौँ । तर, अब त्यहाँ हाम्रो नाम र कम्पनीका बारेमा नभनिदिनुहोला । अझै हामीले केही समय कुर्ने भनेर सल्लाह गरेका छौँ । फेरि हामीलाई कम्पनीले कारबाही ग¥यो भने न काम पाइन्छ न यसअघिको दाम नै । मिडियाभरि प्रकाशित भयो भने उसकै नुन खाएर विरोध गरे जस्तो हुन्छ । बरु केही समय हामी दुःख भोग्नै बाध्य छौँ । मिडियालाई बोलाएर सबै कुरा भन्न थाल्दा केही समय प्रचार त हुन्छ तर फेरि हामी कामदार नै समस्यामा पर्छौँ । त्यो प्रचार त केही समयका लागि मात्र त हुने हो । कृपया, नभनिदिनोस् ।”
मैले सोचेँ, आखिर म जाबो एउटा सामान्य नागरिकले के नै गर्न सक्छु र ! उहाँको नाम र कम्पनीको नाम उल्लेख नगरी भएपनि यो विचारलाई बढाइचढाइ नगरिकन राख्न मन भयो । आज विदेशमा जीवनमरणको दोसाँधमा बसेका सामान्य नागरिकको दशा कम भयावह छैन । रोगभन्दा भोकको भयले अर्को शोकलाई बढाइदिएको छ ।

बाँच्ने संघर्षको पीडाले थिल्थिलिएको अवस्थामा ती नेपालीको वेदनालाई कसले सुनिदिन्छ । दूतावासको दायित्व के हो ? राजदूतको जिम्मेवारी के हो ? राज्य कुन अवस्थामा चाहिन्छ ? अनि मानव अधिकार र मे १ मा बोलिने मीठा आदर्शका वाणीको मूल्य कति गहन हुन्छ ?

मलाई पनि थुप्रै प्रश्नका झटाराले अप्ठ्यारोमा सहयोग गर्नुको साटो तर्कने र असम्भव भनिदिने असंवेदनाको पराकाष्ठाबाट आज मान्छे किन क्रुर बन्दै छ । के आफ्ना घरका मान्छेलाई यस्तो पीडा हुने हो भने दूतावासका कर्मचारी, सम्बन्धित राजदूत, या सरकारका नेतृत्व यसै गरी कानमा तेल हालेर बस्थे होलान् ! कमसेकम सरकारसमक्ष यो विचार पुग्नु आवश्यक छ । परदेशिएका यस्तै अनगिन्ती पीडाबाट बटुलिएको रेमिट्यान्सबाट धानिएको अर्थतन्त्र मात्रै ठूलो कुरा होइन मानवता अझै ठूलो विषय हो । बुझ्नुपर्ने कुरा हो– कोरोनाले हामीलाई आज पैसा होइन, जीवन मूल्यवान् हो भन्ने सन्देश प्रवाह गरिरहेको छ ।

bhattarairamesh353@gmail.com

सम्बन्धित समाचारहरु

ताजा समाचार