सीमा विवाद वार्ताबाट हल हुने विश्वासदेखि रुपन्देही घटनासम्म (भिडियोसहित)

सीमा विवाद वार्ताबाट हल हुने विश्वासदेखि रुपन्देही घटनासम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वार्ताबाटै भारतसँगको सीमा विवादको समाधान हुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सीमा समस्या कुटनीतिक वार्ताबाटै समाधान गरिने बताएका हुन् । सन् १८१६ को सुगौली सन्धि अनुसार काली नदी नै नेपाल भारतको सीमा भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । मंगलबार केन्द्रबिन्दुसँग अन्तर्वार्ता दिँदै मन्त्री भट्टराईले एमसीसी संसदबाट पारित हुने बताएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले छिट्टै कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गर्ने बताएका छन् । प्रतिनिधि सभाको मंगलबार बजेटमाथि सांसदहरूले राखेकाे प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले सम्पूर्ण खर्च सार्वजनिक गर्ने बताएका हुन् ।

त्यस्तैगरी गत जेठ १८ बाट लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल गर्दै आएको सरकारले अहिलेसम्म कुनै मोडालिटी अपनाउन सकेको छैन । जेठ २५ बाट लकडाउनको मोडल परिवर्तन गरी जनजीवन खुकुलो बनाउने चर्चा चलेपनि अहिलेसम्म हुन सकेको छैन ।

रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या गरिएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १० कान्छी बजारस्थित पशुफार्ममा ५ जनाको हत्या गरिएको हो । ज्यान जानेमा चार पुरुष र १ महिला रहेका छन् । ज्यान जाने पाँचै जना पशुफार्ममा काम गर्ने भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

 

Logo