अत्यावश्यकीय मानिएकाे बैंकिङ सेवालाई पनि पासकै तगारो

अत्यावश्यकीय मानिएकाे बैंकिङ सेवालाई पनि पासकै तगारो


काठमाडौं ।

अत्यावश्यक सेवामा परे पनि अझै पनि बैंक तथा वित्तीय संस्था पूर्णरुपमा संचालन हुन सकेका छैनन् । कोरोना भाइरसको महामारीबाट बच्न सरकारले गत चैत्र ११ गतेबाट मुलुकैभरी लकडाउन गरेको छ । सो लकडाउन पटक पटक गरी जेठ ३२ सम्म तोकिएको छ । यो अवधीमा बैंक तथा वित्तीय संस्थाहरुले पूर्णरुपमा बैंकिङ सेवा दिन पाएनन् ।

लकडाउनको अवधीभर अतिआश्यकीय सेवालाई पासको व्यवस्था गरिएको छ । सोही पासका कारण बैंकले पूर्ण रुपमा सेवा दिन सकिरहेका छैनन् । यद्यपी सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरुले डिजिटल कारोबार भने तिब्र रुपमा गरेका छन् । तर डिजिटल कारोबारमा पहुँच नहुनेहरु भने बैंकिङ सेवा लिन सम्बन्धीत बैंकका शाखा खुलेको दिन कुर्नु पर्ने अवस्था छ ।

पासको व्यवस्थाले बैंक खोल्न समस्या परेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबाहादुर अधिकारीले बताए । ‘अहिले पनि बैंक खोल्न पासले समस्या पारेको छ ।’ सिइओ अधिकारीले भने । लकडाउन बढेको बढ्यै भएपछि दिक्क भएका बैंकहरुले विस्तारै सबै शाखा कार्यालय खोल्न थालेको उनको भनाइ छ । उपत्यका बाहिरका सबै शाखा कार्यालय खुलेको तथा उपत्यकाका आधा आधी मात्रै खुलेको उनले बताए । असार १ गतेपछि मात्रै केही सहज हुने र बैंकका सबै शाखा कार्यालयहरु खुल्ने सिइओ अधिकारीको भनाइ थियो ।

सरकारले लकडाउन खुकुलो बनाउने भने पनि कहिलेसम्म लम्बिने हो त्यसको कुनै टुंगो छैन । लकडाउन अनिश्चित बनेपछि यतिबेला अधिकांश बैंकहरुले आफ्ना शाखा कार्यालयहरु धमाधम खोल्न थालेका छन् । लकडाउन बढ्दै गर्दा उल्लंघन गर्ने क्रम पनि बढेको छ । उपत्यकाका शाखा कार्यलयहरु पनि विस्तारै खुल्ने क्रम बढेको बैंकर्स संघले जनाएको छ । ‘बैंकका अधिकांश शाखा खुलेका छन् ।’ संघका अध्यक्ष भुवन दाहालले भने । अब विस्तारै खोल्दै जाने उनको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले राजधानीका सबै शाखा खोल्ने तयारी गरिरहेका छन् भने बाहिर जिल्लाका शाखा स्थानीय तहले तोकिदिएको तालिका अनुसार सबै खुलिसकेका छन् । बैंकका सबै शाखा खोले पनि आम कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सकेसम्म कम कर्मचारीबाट काम गरिने अध्यक्ष दाहालको भनाइ छ ।

बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले सीमित शाखाबाट सेवा प्रदान गर्न निर्देशिन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकिङ सेवा दिँदै आएका अधिकांश बैंकहरुले पछिल्लो समय धमाधम सबै शाखा खोलेर पूर्ण रुपमा बैंकिङ सेवा दिन थालेका छन् ।

Logo