#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559035834790728758772366574
नेपाल6824566112

नारायणगोपाल नभएको भए

प्रकाश सायमी

नेपालका पहिलो रक सिङ्गर माइक खड्काले प्रसङ्गवश संगीतकार दीपक जंगमलाई सोधेछन्, “तुलनामा हाम्रो नारायणगोपालको स्वरको टेक्स्चर गुलाम अलीको भन्दा राम्रो भन्न मिल्छ ?”

पाकिस्तानी गजल गायक गुलाम अली सित पनि र नारायणगोपालसित सहकार्य गरिसकेका गायक, संगीतकार दीपक जंगम लामो समय मौन भएछन् र एक पेग उडाएपछि बल्ल मुश्किलले भनेछन्, “भन्न गाह्रो छ दुवैको आआफ्नो रेञ्ज र टोन छ तर लङ्ग रनमा दुवैको तुलना गर्न मिल्दैन । ”
यो चानचुने मूल्याँकन थिएन एउटा सिद्धहस्त संगीतकारको जसले दुवैको आवाजलाई एक क्रुशियल समयमा प्रयोग गर्न पाएका थिए ।

नारायणगोपालसँग पछिल्लो समय काम गरेका दुई सशक्त संगीतकार थिए, दिव्य खालिङ र दीपक जंगम । दुवैले आफ्नो क्षमताले भ्याए अनुसार नारायणगोपालबाट लिए पनि दिए पनि । नारायणगोपाल तीस र चालीसको दशकमा नेपाली संगीतका अमिताभ बच्चन जस्ता थिए । उनले जसलाई छोयो त्यो संगीतकार वा गीतकार कामयाब हुन्थे, शुभ शम्भुजीत, भूपेन्द्र रायमाझी, चन्दन लम्जेल आदि उनकै गीतमा गुञ्जिएपछि चर्चामा वा पहिचानमा आए ।

नारायणगोपालले शुरुवाती कालखण्डमा गाएका छ ओटा गीत रत्न शम्सेर थापाका थिए, दोस्रो कालमा अम्बर गुरुङ र आफ्ना मितज्यू गोपाल योञ्जन अनि कर्म योञ्जनका गाए । त्यसपछि तेस्रो चरणमा उनले सीके रसाइली, नातिकाजी, शिवशंकर, चन्द्रराज शर्मा आदिका गीत गाए र एक विशेष परिस्थितिमा आफैं संगीतमा झन् धेरै राम्रा राम्रा गीत गाए ।

उनको पहिलो इनिंङ र दोस्रो इनिंङमा फरक एउटै कुराको थियो, उनको स्वर । पहिलो इनिंङमा उनले राम्रा हुनका लागि राम्रा राम्रा गीत खोजेर गाए तर दोस्रो इनिंङ राम्रा गीतले उनलाई खोज्दै खोज्दै आए , कालिप्रसाद रिजाल, नोर्देन रुम्बा, विश्वम्भर प्याकुर्याल, चाँदनी शाह त्यसका उदाहरण हुन् ।

विक्रमाब्द २०१८ देखि २०४४ सालसम्म उनले कुल मिलाएर १५७ वटा रेकर्डेड गीत गाए तर कुनै पनि गीतमा उनले आफूलाई दोहोरिन दिएनन्, न स्वरितामा, न गायकीमा, न शब्द चयनमा । उनी एक नाश नर्मदा जस्तै फरक फरक रुपमा बगे । तर उनले वीचवीचमा रेस्ट चैँ लिइरहे, क्रिकेटमा सचीन तेन्डुलकरको रिटायर्ट हल्ट जस्तै ।

नारायणगोपालको स्वरको दुइटा खूबी थियो, उनको स्वरको मौलिकता र स्वरोच्चारणको अतीव नौलोपन । नेपाली गायकीमा पाइने शुद्ध ब्राम्हणीय ओज र ढबबाट उनी अलग्गै थिए भने पुरानो पारसी शैलीको गायनलाई उनले सम्पूर्णता वहिष्कार गरिसकेका थिए ।

उनी गाउँदा एउटै मान्छेलाई हिरो सम्झिन्थे, आफैंलाई र आफैंलाई केन्द्रीयतामा राखेर गाउन सक्ने उनको क्षमता नै पछि उनको उग्र अहम् र झोंकी स्वभावको पहिचान हुन गयो । उनको लार्जर देन लाइफको इमेजले उनलाई लोकप्रियतामा जति माथि पुर्यायो कहिलेकाहिँ त्यसैले उनलाई बोहेमियन –(असामाजिक प्राणी, चम्चाहरुको घेरामा रमाउने) पनि बनाउँदै लग्यो । तर यसैकारण पनि पञ्चायतकालको शाही शासनकालमा राजदरवारका सचिवदेखि मन्त्रालयका सचिव उपसचिव पनि उनको धर्नामा उभिन वा उनका वरपर हुन मन पराउँथे । त्यो उनको स्वरको कारण मात्र होइन, उनको वीग ब्रदरको व्यक्तित्वको कारण पनि हो, उनको खानगी, उनको विश्व राजनीति र इतिहासको जानकारी अनि आफ्नो गायकीमा विश्वास र पकड । उनी जुन गीत गाउँदिन भने ती गीत फ्लप भएका छन्, जुन कमसल गीत गाए तिनलाई पनि टिकाएका छन् । रञ्जित गजमेर र शम्भुजित बासकोटा गीतलाई त्यस कोटीमा राख्न सकिन्छ ।

नारायणगोपालको मातृभाषा नेवारी हो उनले नेवारी रंगमञ्चमा एक वा दुई कार्यक्रमपछि कुनै गीत गाएनन् । उनले नेवारभाषाको गीत गाएर राजनीति गर्ने रहर पनि चलेन यद्यपी उनले पछि नेवार भाषाको गीत गाउने चाह पनि राखेका थिए आफ्ना साथी दुर्गालाल र गिरिजाप्रसाद जोशीसित ।
उनले आफ्नो पितृशैलीका घरानिया गीत गाएर पुर्खाको सेवा पनि गरेनन्, उनका पिता आशागोपाल शास्त्रीय संगीतका धुरन्धर उस्ताद् थिए । आफ्ना छिमेकी कोमलनाथ जस्तै । तर नारायणगोपालले आफ्ना पिताको बाटोलाई भ्याएसम्म अभ्वायड् गरे र आफ्नै बाटो बनाए ।

नेपालमा गीत गाएर गुजारा गर्न सकिंदैन भनेको बेला उनले गीत गाएरै सांस्कृतिक संस्थानको महाप्रवन्धकसम्म भइदिए, उनको महाप्रवन्धकत्वकाल सबभन्दा विवादास्पद र चर्चामुखी रह्यो उनको यो अभ्याक्रमी चरित्रले ।

उनीसित कलाकारहरु प्रायः रुष्ट नै रहे । कतिले उनका विरुद्धमा केही समय पर्चावाजी पनि गरे । तर उनको यो अटेरीपना तिनै कलाकारको हक–हितको लागि थियो, त्यही सांस्कृतिक संस्थान बचाउनको लागि । त्यतिबेला सांस्कृतिक संस्थान कलाकार भर्ती केन्द्र थियो र संस्थानका कलाकारलाई राणाका दरबार, पाँचतारे होटल र चलचित्रले तान्न खोज्थे, यसका सख्त विरोधी थिए नारायणगोपाल र उनको व्यवस्थापकीय शक्ति ।

नारायणगोपाल शुद्ध कलाकारलाई सांस्कृतिक संस्थानले नै पाल्नु पर्छ भन्ने अभियानमा थिए । यो नै उनको घातक कदम हुन पुग्यो । नारायणगोपाल कुनै तालीमप्राप्त महाप्रवन्धक थिएनन्, उनी त पहिलो कलाकार थिए जो सामान्य अध्ययन भएर पनि जीएमसम्म हुन पुगेका थिए । बरु त्यसपछि उनले अरु कलाकारलाई जीएम हुने रन वे बनाईदिए ।

त्यतिबेलाको राजदरवारसँग लभ एन्ड हेट रिलेशनशिप भएका नारायणगोपालले धेरै वर्ष दरवारबाट आएको गीत गाउन चाहेका थिएनन् वल्कि दरवारबाट निहत्था बनाएर फ्याँकिएका राजकुमार रवीन्द्र शाहको गीत चैँ उनले शानले गाइसकेका थिए ।

नारायणगोपालको गीतमा सन्देश, चेतना, जागरण र आव्हान भएपनि उनी ०४६ सालको कुनै पनि आन्दोलनमा प्रत्यक्ष सरिक हुन चाहेनन् । त्यतिवेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि वन्देज लगाएको विरुद्धमा चैत्र ३ गते कालोपट्टि बाँधेर विरोध गर्ने कार्यक्रममा उनले आफ्ना मित्र वासु शशीलाई आउँछु भने पनि गिरफ्तार हुने समय सम्म उनी आईपुगेनन् , यसका लागि उनी आलोचित पनि भए ।

नारायणगोपालको स्वर र व्यक्तित्वमा शक्ति थियो तर उनी ती चीजले सवैलाई दबाउन र कँजाउन सक्थे । उनले आफ्नो जीवनमा आयोजित काठमाण्डूको पहिलो एकल साँझ स्वर्णिम साँझमा औद्योगिक परिवारका एक नामचीन व्यक्ति बसन्त चौधरीलाई सही प्रयोग गरे, बसन्त पनि त्यतिवेला राजपरिवारसित निकट हुन स्पेश खोज्दै थिए । यी दुवै कुरा दुवैलाई मिल्यो ।

काठमाण्डूका रैथाने नेवारसित अलोकप्रिय भइसकेका नारायणगोपाललाई नेवार परिवारसित निकट मानिने चौधरी परिवारका बसन्तले स्वापू –(नेवारीमा यसको अर्थ हुन्छ सुधारिएको सम्वन्ध) जोडिदिए । बसन्तको न्यूरोडका भिडियो पसले, कपडा व्यवसायी, थँहिटीका होटल व्यापारीसित सुसम्वन्ध थियो , ती सबलाई नारायणगोपालको कार्यक्रममा टिकट विक्रेता, स्वयम् सेवक, सज्जाकार बनाईदिए । त्यतिवेला नेवार समुदायसँग सहकार्य नभई त्यत्रो कार्यक्रम काठमाण्डूमा हुन असम्भव थियो ।

पञ्चायतको चरमकालमा काठमाण्डू उपत्यकाका तीन शहरका नेवारभाषी भाषा आन्दोलनमा होमिरहेको बेला र भिन्तुना र्यालीका कारण सत्ता र सरकारसित विनविनको गेम खेलिरहेको बेला एक नेवारभाषी कलाकारले सबै नेपाली गीत गाउनु चुनौती र पराकाष्ठाको संकेत थियो । यसै सन्दर्भमा नारायणगोपाल यसअघि पनि मञ्चमा आइसकेको तर रिजेक्ट भएर गइसकेको तीतो इतिहास थियो ।

नारायणगोपाललाई गायकका रुपमा चिन्नेले उनका चारवटा नेवारी गीत सुनेका छन् तर त्यो गीत उनले मञ्चमा कहिले गाएनन् । उनले नेवार भई नेवारजातिको दुलही भित्र्याएनन् , उनले कहिले नेवार जाति र सम्प्रदायको कुनै आन्दोलनमा हिंशा बन्न चाहेनन् , यी धेरै कारणले काठमाण्डूका नेवार उनीसित टाढाटाढा नै थिए । त्यसबाहेक काठमाण्डूका अन्य कलाकार पनि उनीसित रुष्ट थिए, कारण उनले दार्जीलिंगबाट आएका कलाकार गोपाल योञ्जन, कर्म योञ्जन, दिव्य खालिंङलाई मात्र च्याप्यो भन्ने अर्थमा । उनका यहाँका पुराना साथीसंगीतकर्मी टाढिइसकेका थिए ।

नारायणगोपालका जीवनका असाध्य चुनौती दुइटा थिए, उनको स्वरको बचाऊ र स्वरको समृद्धि । उनको महाप्रवन्धकको जागीर पनि त्यसको एक वाधक पक्ष भइसकेको थियो भने मद्यपानको अनवेक्ष प्रयोगले उनको स्वरमा भन्दा शरीरमा थकान थपिसकेको थियो ।

स्वरका कारणले यूनिक देखिने नारायणगोपालका आफ्ना केही रिजभर्सेन पनि थिए, उनी गीत छानेर गाउँथे र मागेर गाउँथे । तर उनी पैसा मागेर लिन्नथे, उनी पैसा तोकेर लिन्थे ।
प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेको नाटक ‘मालती–मङ्गले’ चर्चित भएपछि राजदरवारले सबैलाई बाँड्नु भनेर दुईलाख रुपैयाँ बख्शिश पठायो । दुर्भाग्यवश, नारायणगोपालको हातमा दश हजार मात्र पर्यो । उनले लेखकले कति पाए भनेर सोधे । कतैबाट जवाफ आयो, “पचास हजार ।”

जवाफ पाएपछि उनले त्यो दशहजार तत्स्थानमै फर्काइदिए र भने, “उसले लेखेर यो गीति नाटक चलेको हो भनें साझा प्रकाशनमा यो किताब थन्केर बस्ने थिएन । यो मेरो आवाजले चलेको हो मलाई आधा हिस्सा चाहिन्छ ।”

यो कुरा जहाँ पुग्नु पर्ने पुग्यो, पैसा उनकोमा लेखकलाई भन्दा वढी नै आईपुग्यो । हार्न उनले जानेका थिएनन्, र जीतको लागि उनी आफैं कोर्ट बनाउँथे । बल पनि आफ्नै कोर्ट पनि ।

करामती आवाजका धनी नारायणगोपालको बानी बेहोरा पनि करामत कै थियो, उनी मन नपरेको मान्छेलाई घरको दैलोसम्म आएपनि भेट्दैन थिए, त्यसमा कैयन् पटक दरवारका सचिव देखि मन नपरेका संगीतकार, गीतकार पनि परेका छन् । यति मात्र कहाँ हो र, उनी मन नपरेका दर्शकलाई समेत मञ्चबाट च्यालेञ्ज गर्न पछि पर्दैनथे , त्यसको एउटा उदाहरण हो, सम्झनाको रात । उनले त्यो कार्यक्रममा गीतै गाएनन् ।
नारायणगोपालको एउटा सपना थियो, गीतगंगा स्थापित गर्ने । उनी वितेको २५ वर्ष भइसक्दा पनि उनको यो सपना अधुरो नै रहेको छ, यो सपना पूरा गर्ने जिम्मेवारी लिएको नारायणगोपाल संगीत कोश पनि वर्षमा एकदिन पुण्यतिथि मनाएर सेलाइसकेको वा हारिसकेको छ ।

जीवनभर नारायणगोापलकै मात्र गीत गाएर साधना गर्दै आएका गायक शैलेश सिंह भन्छन्, “नारायणगोपाल त उनको नाममा कुनै कोश नभए पनि हराउने कलाकार होइनन् , उनका सालिक नभए पनि नचिनिने साधक होइनन् तर नारायणगोपाल संगीत कोशले झन् नारायणगोपाललाई पछि धकेल्दै छ । ”
अहिले पनि बर्सेनी नारायणगोपालको सम्झनामा देशभरि कता कता कार्यक्रम हुन्छ तर कार्यक्रमको प्रायोजक या त रक्सी व्यापारी हुन्छ, या त चुरोटको नाउँ ।
कस्तो विडम्बना रक्सी र चुरोटले पराई बनाएका नारायणगोपाललाई सँधै यसैको समर्थन र सहयोग चाहिने ?

(यो सामग्री हामीले प्रकाश सायमीको फेसबुकबाट लिएका हौं )

सम्बन्धित समाचारहरु