सामाजिक हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ–मन्त्री गुरुङ

सामाजिक हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ–मन्त्री गुरुङ


काठमाडौं । सामाजिक हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बताएका छन् । सोमबार संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०७७ माथि भएको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
समाजमा भएको कुसंस्कार, कुरिति र अन्धविश्वास अन्त्य गर्नका लागि मन्त्रालयले विशेष प्राथमिकता दिएको मन्त्री गुरुङको भनाइ छ ।

उनले महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुँदै आएको व्यवहारमा परिवर्तन गर्ने गरी कार्यक्रमहरु तय गरेको बताए । बालबालिकाको राष्ट्रिय रणनीति तयार गर्ने, महिलामाथि हुने लैङ्गिक हिंसा अन्त्यको लागि महिला आर्थिक सशक्तिकरणमा जोड दिने र जेष्ठ नागरिकलाई सक्रिय बनाई पुस्तान्तरणको रुपमा विकास गर्ने कार्यक्रमहरु सरकारले ल्याएको मन्त्री गुरुङले जानकारी दिए ।

अपाङ्गताको क्षेत्रमा पनि फरक क्षमता भएकाहरुको पहिचान गरी परिचयपत्र दिने र सामाजिक सुरक्षाको अनुभूति दिलाउन अपांगतामैत्री वातावरण निर्माण गर्न बजेट केन्द्रीत भएको उनले बताए । सामाजिक क्षेत्रका कार्यक्रमलाई पनि राष्ट्रिय गौरवको कार्यक्रममा रुपान्तरण गर्ने गरी मन्त्रालयले कार्यक्रमहरु ल्याएको उनको भनाइ छ । साथै समाजमा हुने विभेदहरुको अन्त्य गर्न र मर्यादित नेपाल निर्माण गर्नको लागि केही नीतिगत रुपमा सामाजिक रुपान्तरणका विषयहरुलाई पनि समेटिएको उनले बताए । मन्त्री गुरुङले अपाङ्गता तथा महिला क्षेत्रका ऐनहरुलाई संशोधन गर्ने प्रक्रियाको सुरुवात मन्त्रालयले गरिसकेको समेत जानकारी दिए ।

Logo