मंगलबार चन्द्रागिरीमा एम्बुलेन्स र तरकारी गाडी लुटपाट भएको छ।
काठमाडौँबाट बिरामी बोकेर गएको एउटा एम्बुलेन्स र तरकारी बोकेर आएको २ वटा गाडीमा मध्यराति साढे १२ बजेतिर लुटपाट भएको हो ।
एम्बुलेन्सले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँबाट डिस्चार्ज भएका बिरामी बोकेर गएको थियो भने अरू गाडीहरू चित्लाङबाट तरकारी लिएर काठमाडौँ आउंदै थिए। मकवानपुरको थाहा नगरपलिका ६ बज्रवाराहीस्थित प्यासिफिक सहकारी संस्थाद्वारा संचालित प्रदेश ३-०१-०२३ च ११०९ नम्बरको एम्बुलेन्स लुटपाटमा परेको हो।
चन्द्रागिरीको सेतोपहरा भन्ने ठाउँमा लुटपाट भएको सहकारीका व्यवस्थापक राजन श्रेष्ठले जानकारी दिए । ८/१० जनाको समूहमा रहेका लुटेराहरूले नगद, मोबाइल फोन, सुनको सिक्रीसहित करिब ५ लाख रुपैयाँ बराबरको लुटपाट गरेको उनले बताए।
थाहा नगरपालिका १० टौखेलका बिरामी बोकेर जाँदै गर्दा आफूहरू माथि लुटपाट र कुटपिट भएको चालक इश्वर महर्जनले जानकारी दिए । लुटपाट गर्ने समूहले आफूहरूलाई हतियारको त्रास देखाएको उनले बताए।
लुटपाटमा संलग्नहरू मध्ये केहीलाई इलाका प्रहरी कार्यालय चित्लाङले पक्राउ गरेको छ। उनीहरूलाई महानगरीय प्रहरी वृत थानकोटमा रखिएको छ । थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्माले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए ।
काठमाडौँ र मकवानपुर आवतजावत गर्ने यो सबै भन्दा पुरानो र छोटो मार्ग हो ।