आन्तरिक हवाई भाडामा भारी छूट, कहाँको भाडा कति ?

आन्तरिक हवाई भाडामा भारी छूट, कहाँको भाडा कति ?


काठमाडौं ।

हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर घटाइएको सङ्घले विज्ञप्तिमार्फत जनाएको हो ।

हवाई इन्धनको मूल्य घटेको अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने सरकारको निर्णय र सोही अनुरुप प्राधिकरणको मिति ०७७ जेठ २५ को पत्रबाट अनुमोदन गरी कार्यान्वयनका लागि लेखी आएकाले हवाईभाडामा नयाँ ‘फ्युल चार्ज’ कायम गरिएको आज जारी विज्ञप्तीमा भनिएको छ । नयाँ भाडादर अनुसार काठमाडौँ माउन्टेन उडानका लागि रु ८६० घटाएर रु दुई हजार २३० कायम गरिएको छ । काठमाडौँ–भद्रपुरको रु ७५० घटाइ एक हजार ९५० बनाइएको छ । काठमाडौँ–विराटनगर गन्तव्यमा साविकको रु दुई हजार १६० बाट रु ६०० घटाएर एक हजार ५५० कायम गरिएको छ ।

पोखराको रु २७० घटाएर रु ६९५ बनाइएको छ । काठमाडौँ–धनगढीको साविकको रु तीन हजार ९७५ बाट रु एक हजार १०५ घटाई रु दुई हजार ८७० निर्धारण गरिएको छ । काठमाडौँ–नेपालगञ्जको रु ८१५ घटाई रु दुई हजार ११५ बनाइएको छ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ५५८ र सबैभन्दा बढी काठमाडौँ–धनगढी गन्तव्यको भाडा रहेको छ ।

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्री) को २०७५ जेठ २७ निर्णय गरेको थियो । सोही निर्णय अनुसार सङ्घमा आबद्ध वायुसेवा कम्पनीले स्वचालित प्रणाली अनुसार हवाई इन्धनको मूल्य समायोजन गर्ने निर्णय गरिएको सङ्घका महासचिव योगराज कँडेल शर्माले बताए ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको छ । चैत ९ गतेदेखि नै नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय उडान तथा चैत ११ देखि नै आन्तरिक उडान पनि स्थगन गरिएको छ । पछिल्लोपटक असार १६ सम्म उडान स्थगन गरिएको छ । आगामी असार १७ देखि आन्तरिक उडान सञ्चालन गर्ने सरोकारवाला निकायले तयारी गरिरहेका छन् ।रासस

Logo