जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता


काठमाडौं । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार दल दर्ताका लागि आवश्यक कागजपत्र बुझाएसँगै जसपा दर्ता भएको हो । दल दर्ता भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले दुई अध्यक्ष र तीन वरिष्ठ नेताको नाम राखेर ५३ सदस्य कार्यकारी समितिको तर्फबाट दल दर्ता भएको जानकारी दिए ।

उनले जसपाको कार्यकारी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको र वरिष्ठ नेतामा डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतोको नाममा सहमति जुटेको बताए । बाँकीको जिम्मेवारी दल दर्ताको प्रक्रिया पूरा भएपछि गरिने उनको भनाइ छ । उनले जसपामा राजनीतिक समितिमा १ सय ५१ सदस्य र केन्द्रीय समितिमा ७ सय १ जना रहने सहमति भएको बताए ।

दल दर्ताका लागि शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु निर्वाचन आयोगमा पुगेका थिए । वरिष्ठ नेता महतोले जसपा १३९२ नम्बरमा दर्ता भएको जानकारी दिए । सरकारले गत वैशाख ८ मा दल फुटाउन सहज हुने अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको अध्यादेशपछि फुट्न लागेको समाजवादी पार्टीलाई रोक्न गत वैशाख १० गते राति समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गर्ने सहमति भएको थियो ।

वैशाख ११ मा दुबै पार्टीका नेताहरु आयोग पुगेर पार्टी एकताबारे लिखित जानकारी दिएका थिए । आयोगमा लिखित जानकारी गराएको ४५ दिनभित्रमा दल दर्ता गराउनुपर्ने प्रावधान अनुसार अन्तिम दिन आइतबार जसपाका नेताहरुले दल दर्ता गराएका हुन् ।

Logo