#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व559197034795028759002368120
नेपाल6824566112

कमल श्रेष्ठ जसले लकडाउनमा पनि नेपाललाई स्वर्ण दिलाए

काठमाडौं ।

नेपालका तेक्वान्दो खेलाडी कमल श्रेष्ठले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध र लकडाउनका बीचमा पनि विश्व अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जितेका छन् । फ्रान्समा भएको ३० वर्ष मुनिको विधा अन्तर्गतको अनलाईन प्रतियोगितामा कमलले २७ देशका प्रतिस्पर्धीलाई हराउँदै स्वर्ण जितेका हुन् ।

नेपाल पुलिस क्लबबाट खेल्ने कमलले गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि नेपाललाई स्वर्ण दिलाएका थिए । इन्टरनेटको माध्यमबाट प्रतियोगितामा भाग लिने सबै प्रतियोगीले आ–आफ्नो देशबाट भिडियोमा पठाएको खेलको आधारमा विजेता घोषित गरिएको थियो । आयोजकले सार्वजनिक गरेको नतिजा अनुसार कमलले ७.६७ अंक प्राप्त गर्दै स्वर्ण पदक हासिल गरेका छन् ।

पहिलो पटक अनलाइनमार्फत तेक्वान्दो प्रतियोगिता
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ ले विश्वका सबै जसो खेलाडीहरु घरमै बस्न बाध्य भएका छन् । यस्तो बेलामा खेलाडीको उत्साह बढाउन अनलाइन प्रतियोगिता पनि विकल्पको रुपमा अघि सारेको छ । यसै क्रममा फ्रान्समा पहिलोपटक अनलाइनमार्फत् तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रदर्शनमा आधारित रहेर मूल्यांकन गरिएको यो प्रतियोगितामा नेपालका ७ जना खेलाडीले सहभागीता जनाएका थिए ।

विश्वभर खेलकुद गतिविधि बन्द रहेको अवस्थामा नेपाल पनि अछुतो छैन । नेपालमा पनि दुई महिना अघिदेखि सबै खालका खेलहरु स्थगित भएका छन् । एकातिर तेक्वान्दो जस्तो प्रतियोगिता र अर्कोतिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान ठप्प रहेको बेलामा उनीहरूले प्रतियोगितामा भाग लिन कसरी सम्भव भयो भन्ने सबैलाई जिज्ञासा पनि भएको छ ।

तेक्वान्दो खेलमा पुम्से विधामा कुनै भौतिक सम्पर्क हुदैन । यो प्रदर्शनी खेल हो । तेक्वान्दोको गेरोगी विधामा मात्रै फाइट गर्नु पर्ने हुँदा त्यसमा भौतिक सम्पर्क हुन्छ । पुम्सेमा विधामा भने आफ्नो प्रतिभा प्रदर्शन गर्नु पर्छ । त्यसकारण यो खेल अनलाइनबाट गराउन सम्भव भएको हो । लकडाउनमा पनि खेलाडीलाई व्यस्त राख्न विश्व तेक्वान्दो महासंघ साथै युरोपले यो प्रतियोगिता आयोजना गरेको थियो । जर्मनीमा हुने ‘२०२० अनलाइन पुम्से विश्व च्याम्पियनसिप’ नाम दिइएको यस प्रतियोगितामा नेपालबाट दुई महिला र पाँच पुरूषसहित सात खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कमल श्रेष्ठ, लक्ष्मणबहादुर ऐर, सुरेन्द्र बहादुर महरा, जीतबहादुर बोटे, सीता तामाङ, प्रेम बहादुर लिम्बु र पार्वती गुरुङले उक्त प्रतियोगितामा भाग लिएका हुन् । जसमा कमलसहित जीतबहादुर बोटेले ७.५४ अंक प्राप्त गर्दै रजत पदक हासिल गरेका छन् । प्रेमबहादुर लिम्बुले ७.५० अंक प्राप्त गर्दै कास्य पदक जितेका छन् । यस्तै सुरेन्द्रबहादुर महरा नवौं स्थानमा रहे ।

महिलातर्फ पार्वती गुरुङले रजत पदक जितेकी छिन् । पार्वती पनि १३ औं सागकी स्वर्णपदक विजेता हुन् । सीता तामाङ भने १२ औं स्थानमा रहिन् । ५० वर्ष मुनिको विधामा लक्ष्मणबहादुर ऐरको प्रतिस्पर्धा भने बाँकी नै छ । प्रतियोगिता वैशाख २२ गतेबाट शुरू भएको थियो ।

अनलाइन प्रतियोगितामा कसरी प्रतिस्पर्धा हुन्छ ?
अनलाइन प्रतियोगितामा खेलाडी दर्ता, खेलाडीको प्रदर्शनदेखि नतिजा प्रकाशनसम्म अनलाइन मार्फत् गरिन्छ । सम्पूर्ण खेलाडीहरुको दुई वटा पुम्से भिडियोको युट्युब लिंक, खेलाडी दर्ता रसीद र अन्य विवरणहरु पेस गरिन्छ । यसरी इन्टरनेटको माध्यमबाट प्रतियोगितामा भाग लिने सबै प्रतियोगीको भिडियोमा पठाएको खेलको आधारमा विजेता घोषिणा गरिन्छ । यस प्रतियोगितामा प्रतियोगीहरुले प्रतिव्यक्ति १० युरो पनि फ्रान्सको बैंकमा जम्मा गर्नु परेको थियो ।

को हुन् कमल ?
अर्घाखाँची घर भएका ३० वर्षीय खेलाडी कमल श्रेष्ठ बिगत ८ वर्षदेखी तेक्वान्दोको पुम्से विधामा आवद्ध रहेका छन् । उनी घरको कान्छा छोरा हुन् । कमल पुलिसमा भर्ति हुनका लागि काठमाडौं आएका थिए । पुलिसमा भर्ति भएपछि क्लबमा साथीहरुले खेलेको देख्थे र उनलाई पनि खेल्न रहर जाग्यो । यसरी तेक्वान्दोसँग जोडिन पुगेका उनले अहिले नेपाललाई प्रतिनिधित्व गरिरहेका छन् । कोरियाली प्रशिक्षक क्वान योङबाट कमलले सुरुवाती दिनबाटै प्रशिक्षण लिइरहेका छन् । उनले अनलाइन प्रतियोगिताको अनुभव केन्द्रबिन्दुकी संवाददाता सृजना राईलाई यसरी सुनाए :

‘अनलाइन प्रतियोगिता हुँदैछ भन्ने कुरा कोरियाली प्रशिक्षक क्वान योङ र ओलम्पियन दीपक विष्ट गुरुद्वारा थाहा पाए त्यसपछि उहाँहरुकै सल्लाहमा सहभागिता जनाएका थियौं । जित्न सफल पनि भयौं । यो प्रतियोगितामा सहभागी भई आफ्नो देशलाई चिनाउन पाउँदा एकदमै खुशी छु । नौलो अनुभव भएको छ र विजयको खुशी सबै नेपालीलाई बाँड्न चाहन्छु साथै सम्पूर्ण नेपालीलाई कोरोनासँग सुरक्षित भएर बस्नु पनि भन्न चाहान्छु ।’

लकडाउनको समयमा प्रतियोगिताको तयारी कसरी गर्नु भयो?

हामी सुरुबाटै बिहान र बेलुका दुई–दुई घण्टा नियमित प्रशिक्षण गर्दै आएका छौँ । लकडाउन भए पनि हाम्रो प्रशिक्षण टुटेको छैन । यो प्रतियोगिताको लागि हामीले दैनिक चार घण्टा सामाजिक दूरीको नियमलाई पालना गर्दै प्रशिक्षण गरेका थियौं ।

यस्तो प्रतियोगितामा सहभागि हुन नेपाललाई कत्तिको सहज हुँदोरहेछ त?

यस्तो प्रतियोगितामा नेपाली खेलाडी सहभागि हुनु खुशीको कुरा हो । बस आफुले चाहनुपर्छ सबै सहज लाग्छ । यो नेपालको लागि पहिलो पटक होइन । यसरी अनलाइनमार्फत् प्रतियोगिता गरिएको यो नेपालको दोस्रो खेल हो । यसले नेपाल पनि प्राविधिक रूपमा अन्य देशभन्दा कुनै हिसाबले कमजोर छैन भन्ने सन्देश पनि दिन्छ ।

जब तपाईले स्वर्ण पदक जित्नु भएको नतिजा सार्वजनिक भयो, कस्तो अनुभव भयो ?

रातको १२ बजेतिर साथीले फोन गरेर मैले स्वर्ण पदक जितेको कुरा सुनायो सुरुमा त मलाई पत्यार नै लागेन । पछि आफैले हेरें अनि मात्रै हो रहेछ भन्ने भयो । यो सफलताको श्रेय मेरो प्रशिक्षक र परिवार हुन् । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि उहाँहरुले मलाई साथ र सहयोग दिनुभयो ।

हालसम्म कतिवटा पदक हासिल गर्नुभयो ?

ठ्याक्कै यति नै भन्ने त याद छैन । स्वर्ण पदक चाहीं १२ वटा हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार