#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व657358538804130145123171032
नेपाल230092013278

नीति तथा कार्यक्रमप्रति पर्यटन व्यावसायी पनि रुष्ट

file photo

काठमाडौं ।
शुक्रबार सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारीबाट थला परेको पर्यटन क्षेत्रको लागि राहतसहित नयाँ योजना आउने अपेक्षा गरे पनि अपेक्षा अनुरुप योजना नआएको व्यावसायीले बताएका छन् ।

कोरोनाको प्रभावले विश्वलाई नै आतंकित बनाएको छ । यसको प्रभावले नेपालको अर्थतन्त्रलाई तहसनहस बनाएको छ । करिव दुई महिनादेखि आर्थिक गतिविधि हुने प्रायः सबै क्षेत्र ठप्प रहेका छन् । यसमा पनि नेपालको आधा आर्थिक गतिविधि हुने पर्यटन व्यावसायमा सबैभन्दा बढि क्षति पूगेको देखिन्छ ।

पर्यटन व्यावसायमा कोरोना प्रभावले करिब २ खर्ब भन्दा बढि क्षति हुने आंकलन गरिएको छ । तर सरकारले यो व्यावसायलाई जिवित राख्नको लागि नीति तथा कार्यक्रममा नै समेटेर आवश्यक छुट्टै राहत प्याकेज आउने व्यवसायीको आशा निराशामा परिणत भएकाले उनीहरु सरकारसँग रुष्ट भएका हुन् ।

हिजो संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई नसमेटिएको तथा पुरानै योजना आएको र अहिलेको विषम परिस्थिति सुहाउँदो पर्यटन क्षेत्रको लागि नयाँ कार्यक्रम नआएको ट्रेकिङ एजेन्सी एशोसिएन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले बताए ।

उनका अनुसार निति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा रहेका पुराना आयोजना र एक दुईवटा विमानस्थल निर्माण बाहेक भन्दा अरु नयाँ कार्यक्रम नआएका छैनन् ।

उनले भने, नीति तथा कार्यक्रमले पर्यटन क्षेत्र र त्यसमा पनि ट्राभल र ट्रेकिङ क्षेत्रलाई छोएको छैन । अब हाम्रो अपेक्षा बजेटमा हो, नीति तथा कार्यक्रममै प्राथमिकतामा परेको भए व्यवसायी उत्साहित हुने थिए । तर त्यस्तो भएन, अब बजेटमा पनि विशेषरुपमा छुट्टै प्याकेज नल्याए पर्यटन क्षेत्र माथि उठ्ने छैन ।

सरकारले पर्यटन क्षेत्रलाई नीति तथा कार्यक्रममार्फत स्पष्टरुपमा प्याकेज ल्याउनु पर्ने हो तर त्यस्तो भएन । अब बजेटमा केही सम्बोधन हुन्छ कि भन्ने छ । नत्र बजेटमा पनि यहि अवस्था भए पर्यटन क्षेत्र दीर्घकालिन रुपमा नउठ्ने गरि थला पर्ने उनको भनाइ छ ।

त्यस्तै, होटल एशोसिएन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले समग्रमा नीति तथा कार्यक्रम राम्रो रहेको र पर्यटनलाई पनि धेरै योजनामा समेटिएको तर कोरोना प्रभावले पर्यटनमा पारेको असरलाई सम्बोधन हुने गरि छुट्टै राहत प्याकेज ल्याउनु पर्नेमा त्यो नल्याएको बताएकी छिन् ।

उनका अनुसार सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानका कार्यक्रम ल्याउने देखि आन्तरिक विमानस्थल बनाउने र भएकालाई व्यवस्थित बनाउने योजना ल्याएको छ । बरु होटल व्यवसायको लागि भने खासै महत्त्व दिएको छैन । यसलाई पनि समेटिएको भए राम्रो हुने उनले बताइन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईंले पनि नीति तथा कार्यक्रमले अहिलेको परिस्थिति अनुसार पर्यटन क्षेत्रलाई बेवास्ता गरेको बताए । नीति तथा कार्यक्रम आउनु भन्दा अगाडि नै पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संगठनले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत विभिन्न राहतका प्याकेजहरु माग्दै आएका थिए ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा अधिकांश अघिल्लो वर्षकै कार्यक्रमलाई निरन्तरता दिइएको पाइएको छ । अघिल्लो वर्ष घोषणा गरेका कार्यक्रमहरुलाई आगामी वर्षलाई पूरा गर्ने गरी योजना अगाडि सारिएको छ ।

गत वर्षकै नीति तथा कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०१९ भित्रै सञ्चालनमा ल्याइसक्ने उल्लेख गरिएको थियो । अहिलेसम्म काम सम्पन्न नभएकाले आगामी बर्ष भित्र सम्पन्न गरि सञ्चालन गर्ने उल्लेख गरिएको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार