#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626390137389930432892846713
नेपाल157281344220

नेपाल–भारत सम्बन्ध र सीमा समस्या

इतिहासदेखि नै नेपाल–भारत सम्बन्ध जटिल रहँदै आएको छ । आवरणमा देख्दा नेपाल–भारत सम्बन्ध शान्तिपूर्ण र भाइचाराको जस्तो देखिए पनि भित्री सम्बन्ध त्यस्तो मात्र छैन । सामाजिक रुपमा शान्त नै छ । तर राजनीतिक रुपमा अस्थिर, आर्थिक रुपमा परनिर्भरता र कुटनीतिक रुपमा काम चलाउ सम्बन्ध नेपालको भारतसँग छ ।

भारतको नेपालप्रतिको दृष्टिकोण र नेपालको भारतप्रतिको परनिर्भरताले गर्दा नेपाल–भारत बीच सह–अस्तित्वको सम्बन्ध बन्नै सकेन । कुनै पनि राष्ट्र परनिर्भर भएपछि उसको सार्वभौमसत्ता समेत खुम्चिन्छ । संविधान निर्माण, कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता सीमा समस्या, नागरिकता सम्बन्धी ऐन जस्ता कुरामा भारतले अनावश्यक चासो लिएको देखिएको मात्र होइन प्रत्यक्ष कतिपय अवस्थामा त बल मिच्याइँ समेत गरेको देखिन्छ ।

भारतको यस्तो बल मिच्याइँलाई नेपालले सहँदै जाने हो भने नेपालको सार्वभौमसत्ता अझै खुम्चिन्छ । कालापानी, लिपुलेक र सुस्ता जस्ता सीमा समस्या पटकपटक दोहोरिइ रहनेछन् । भारतमा जुनसुकै पार्टीको सरकार बने पनि नेपाल–भारत सम्बन्धमा नीतिगत तहमा ठूलो अन्तर हुँदैन । भारतको नेपालप्रतिको नीति नेपाललाई आफ्नो छत्रछायाँमा राख्ने नै हो । तर व्यक्तिहरुका फरक स्वभाव हुने भएकाले कार्यगत तहमा को प्रधानमन्त्री छ भन्ने कुराले पनि फरक चाहिँ पार्छ र बेलाबेला सम्बन्धमा उतार चढाव पनि आउने गर्छ । विदेश मामिलामा निकै चातुर्य ठानिएको मोदीको कार्यकालमा नेपाल निकै उचार–चढाव भएको छ । हुन त नेपाल–भारत सम्बन्धमा यस्तो उतार–चढाव आज मात्र होइन, परम्परादेखि चल्दै आएको हो र संभवत भोलिका दिनमा पनि यसैगरी चल्नेछ, जबसम्म नेपाल आर्थिक रुपमा आत्मनिर्भर हुँदैन र नेताहरु राजनीतिक रुपमा स्वभिमानी हुँदैनन् । वर्तमान सन्दर्भमा नेपाल–भारत सम्बन्धको कुरा गर्दा चारवटा कोणबाट विश्लेषण गर्नु जरुरी छ– आर्थिक सामाजिक सम्बन्ध, कुटनीतिक सम्बन्ध, भारतीय चिन्तन र नेपाली मानसिकता ।

आर्थिक–सामाजिक सम्बन्ध
नेपाल–भारत बीचको सबै भन्दा मजबुत सम्बन्ध भनेको सामाजिक सम्बन्ध नै हो, जसलाई नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध भन्ने गरिन्छ । यसभित्र पारिवारिक, आर्थिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, कामदारहरु आदान प्रदानका सम्बन्धहरु पर्दछन् । खुला सीमा भएकै कारण नेपाल–भारत बीच यो सम्बन्ध निकै मजबुत छ । यदा कदाको आर्थिक उतार–चढाव बाहेक यो सम्बन्ध सधैँ स्थिर छ । नेपाल वा भारतमा कुन सरकार बन्यो वा कस्तो राजनीतिक व्यवस्था छ भन्ने कुराले यो सम्बन्धमा कुनै फेरबदल गर्दैन । अझ कतिसम्म भने कतिपय यी सम्बन्धका पक्षहरुलाई नेपाल वा भारतमा कसको सरकार छ र सरकारको परराष्ट्रनीति कस्तो छ भन्ने कुरा समेत थाहा हुँदैन । न त दुई देश बीचको परराष्ट्र नीतिले नै यी कुराहरुमा ठूलो फरक पार्दछ । नेपाल–भारत बीच खुला सीमाना भएकाले पनि दिल्ली–काठमाडौं बीचको सम्बन्धमा उतार–चढावले सीमामा धेरै ठूलो असर नपरेको हो । रोटी बेटीको सम्बन्ध भन्ने गरिएको यो सम्बन्ध कुनै सरकारले निर्माण गरेको नभइ स्वतः स्फूर्त सम्बन्ध हो र यो स्थिर पनि छ । विगतमा, वर्तमानमा र भविष्यमा पनि यो सम्बन्धमा ठूलो परिवर्तन हुने संभावना देखिँँदैन ।

कूटनीतिक सम्बन्ध
नेपाल–भारत बीचको कूटनीतिक सम्बन्ध नीतिगत तहमा स्थिर छ भने कार्यगत तहमा अस्थिर देखिन्छ । नेपालप्रतिको भारतीय नीति नेपाललाई सधैँ छत्रछायाँमा राख्ने नै हो । आफ्नो छत्रछाँयामा राख्न बेलाबेलामा अनेकन अस्वभाविक गतिविधि हुने गर्दछन् । यसैकारण कहिले अत्यन्त सहयोगात्मक भाइचाराको सम्बन्ध देखाउने र कहिले सम्बन्धमा दरार आउने गर्दछ । नेपालको शान्ति क्षेत्र प्रस्तावमा असहयोग, बेलाबेलामा भएका नाकाबन्दी, नेपालको मानवअधिकार सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आलोचना, युरोप अमेरिकालाई भारतीय आँखाबाट नेपाललाई हेराउने भारतीय नीति आदि नेपालमाथि भारतीय हस्तक्षेपका केही उदाहरण हुन् । बाहिर नेपाल–भारत बीचको कूटनीतिमा कुनै समस्या छैन भन्ने तर वास्तवमा समस्या भने सधैँ रहि रहने परम्परा नै बनेको छ ।

भारतको परराष्ट्रनीतिका दृष्टिले नेपाल दक्षिण एशियमा एक महत्वपूर्ण देश हो । एकातिर नेपालको चीनसँग सीमाना जोडिएको र अर्कोतिर नेपाल भारत बीचको खुला सीमाना हुनुले पनि नेपालतिर भारतको बढी चासो हुनु स्वभाविक हो । चीनका कारण युरोप अमेरिकाले नेपाललाई बढी महत्वमा राखेका कारण पनि भारतको प्राथमिकतामा नेपाल पर्ने नै भयो । त्यसो त भारतको लागि नेपाल मात्र नभएर नेपालको लागि भारत पनि महत्वपूर्ण नै छ । महत्वपूर्ण तर उतार–चढाव पनि भएकोले नेपाल–भारत बीचको कूटनीति सधैँ अर्धविवादित रहेको छ ।

भारतीय चिन्तन
नेपाल, भारत दुबै स्वतन्त्र र सार्वभौमिकता भएको मुलुक भएपनि व्यवहारमा भारतले नेपाललाई त्यो दृष्टिले कहिल्यै हेरेन । नेपाललाई भारत आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । भारतको अघोषित यो नीतिलाई कार्यान्वयन गर्न भारतले नेपालमाथि बेलाबेलामा आर्थिक नाकाबन्दी लगाउने, सरकार परिवर्तनमा अनावश्यक हस्तक्षेप गर्ने, नेपालको राजनीतिमाथि अनावश्यक टीका टिप्पणी गर्ने, भारतीय सुरक्षाकर्मीहरु विना अनुमति नेपाल प्रवेश गर्ने, सीमामा नेपालीमाथि दुरव्यवहार गर्ने, सीमा अतिक्रमण गर्ने जस्ता समस्या सिर्जना गर्दछ । भारतीय चिन्तन र व्यवहार नेपालप्रति समकक्षीको होइन, आफू दाजु र नेपाल भाई भन्ने प्रकृतिको छ । भारत नेपालसँग मात्र होइन दक्षिण एशियामा नै अरु देशको समकक्षी भएर बस्न चाहँदैन । ऊ यो क्षेत्रमा अरु देशमाथि आफू सुपर पावर हो भन्ने मनोवैज्ञानिक दबाब सिर्जना गर्न चाहन्छ । भारतको यही चिन्तनले सार्क उर्जाशील हुन सकेको छैन । सार्कमा हरेक पटक समस्याको कारक भारत बन्ने गरेको छ ।

भारतको नेपालमाथि आफू विना नेपालको केही चल्दैन भन्ने मनोवैज्ञानिक त्रास र दबाब सिर्जना गर्न चाहन्छ । यो कुनै एकको मात्र चिन्तन होइन, नेहरुदेखि मोदीसम्मको चिन्तन हो । समग्रमा यो व्यक्तिको होइन, भारतीय चिन्तन हो । भारतमा जुन सरकार आएपनि उनीहरुको नेपालप्रतिको चिन्तन एउटै हुन्छ । त्यसैलाई उनीहरु आफ्नो नेपालप्रतिको परराष्ट्रनीतिको सफलता ठान्छन् । यो भारतको कुटनीतिभित्रको कुटनीति हो । भारतीय यही चिन्तन नै नेपाल–भारत बीचको समस्याको जड हो ।

नेपाली मानसिकता
नेपाल–भारत सम्बन्धमा भारतको नीति र चिन्तन जति दोषी छ त्यो भन्दा बढी दोषी नेपाली मानसिकता छ । नेपालका जुनसुकै सरकारको पनि मानसिकता भारतलाई रिझाउने र रिझाउन सके दंग पर्ने नै हो । भारत खुशी पार्न सके परराष्ट्र सम्बन्ध राम्रो भयो र भारत खुशी पार्न नसके परराष्ट्र सम्बन्ध असफल भयो भन्ने बुझाइ सत्ताको छ । त्यो पनि कुटनीतिक माध्यमबाट खुशी पारेको भए छुट्टै हुन्थ्यो । व्यक्तिगत लेनदेन र भारतको स्वार्थ पूर्ति गरिदिएर खुशी पार्ने नेपाली नेताहरु बीच होडबाजी नै चल्छ । दलहरुको सामान्यतया आफू सत्तामा नपुगेसम्म नेपाल–भारत सम्बन्धमा देखिएका झिना मसिना समस्याहरुलाई पनि बढाइ चढाइ विरोध गर्ने र सत्तामा पुगेपछि तीनै समस्यालाई ढाकछोप गर्ने नेपाली सत्ताको चरित्र बुझेर नै भारतले नेपालका राजनीतिक दल र नेतामाथि खेलिरहन्छ । त्यसैले नेपालीको सोच स्थिर नभएसम्म नेपाल–भारत सम्बन्ध स्थिर हुँदैन ।

नेपाल–भारत बीचको कुटनीतिक सम्बन्ध समकक्षताको कहिल्यै भएन । भविष्यमा पनि हुने संभावना कमै छ । भारतको परराष्ट्रनीतिमा नेपाल खुशी हुुनु र नहुुनुले त्यति महत्व राख्दैन, जति महत्व नेपालमा भारत खुशी पार्नु र नपार्नुलाई दिइन्छ । भारत दक्षिण एशियामै आफूलाई ठूलो माछाको रुपमा उतार्न चाहान्छ त्यसको मार भने नेपाल लगायतका साना माछाहरुले भोग्नु परिरहेको छ । भारतको यो कुटनीतिभित्रको कुटनीतिमा नेपाली दरिद्र मानसिकताले मलजल गरिरहेको छ, यो ठूलो विडम्बना हो । नेपाल–भारत सम्बन्धको सफलताको मापन भारतलाई कति खुशी पार्न सकियो भन्ने होइन, बरु भारतसँग कत्तिको समकक्षी सम्बन्ध निर्माण गर्न सकियो भन्ने आधारामा हुनुपर्दछ । यसो गर्न सकेन भने कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता जस्ता सीमा समस्या सधैँ बल्झि रहन्छन ।
इमेल: tikaram.pokharel@gmail.com

सम्बन्धित समाचारहरु

ताजा समाचार