#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व626375837387230431732846713
नेपाल157281344220

कोरोना र प्रधानमन्त्री ओलीको चेपुवामा नेकपाको स्थायी समिति वैठक

फाइल फोटो

प्रचण्डको ढुलमुले नीति पनि केही जिम्मेवार

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र सरकार नीति–कार्यक्रम र बजेट तयारीमा रहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको वैठक झन् अनिश्चित बन्दै गएको छ । पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तत्कालै वैठक चाहान्छन् । यति मात्र होइन्, ४५ सदस्यीय स्थायी समितिमा २० सदस्यले तत्काल वैठक बोलाउन पार्टीमा लिखित निवेदन नै दिएका थिए । तर उनीहरुको मागको अहिलेसम्म कुनै सुनुवाई भएको छैन् । उनीहरुको माग अनुसार वैशाख २५ गते स्थायी समितिको बैठक बस्नुपर्ने थियो । तर वैशाख २५ गते बिहान पार्टी कार्यालयमा तय भएको बैठक पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

वास्तवमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समितिको वैठक तत्काल बसाल्ने पक्षमा छैनन् । पार्टीभित्र सो वैठक राख्नका लागि दबाब परेका कारण मात्रै उनले आफू तयार रहेको बताउने गरेका छन् । त्यसैले वैशाख ३१ ग्ते तय गरिएको स्थायी समितिको वैठक पनि विभिन्न बहाना देखाएर स्थगित गर्न ओली पक्ष सफल भयो । स्थायी समितिमा प्रचण्ड र नेपाल समूहको स्पष्ट बहुमत रहेका कारण त्यहाँ सरकार र पार्टी सञ्चालनका बारेमा चर्को आलोचना मात्र नभइ प्रधानमन्त्रीबाट राजीनामा समेत माग हुने भय ओलीमा छ ।

केही दिन अगाडि एक अनलाइनसँगको अन्तवार्तामा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भनेका थिए–‘अहिले स्थायी समितिको वैठक बस्नुपर्ने आवश्यकता छैन् ।’ यसले पनि स्थायी समितिको बारेमा प्रधानमन्त्रीले के सोचिरहेका छन् भन्ने स्पष्ट हुन्छ । सरकारको कार्यशैलीप्रति यतिवेला नेकपामा ठूलो असन्तुष्टि रहेको छ जुन स्थायी समितिको वैठकमा देखिने छ । तर ओली पक्षधर भने सरकारले जारी गरेका दुई अध्यादेशका कारण पार्टीमा बैठकको माग भएको तर सरकारले दुबै अध्यादेश फिर्ता लिएका कारण वैठकको औचित्य समाप्त भएको तर्क गरी रहेका छन् ।

लामो समय ओली वैठकको लागि तयार नै भएनन्, पछि तयार भए केही सर्तसहित । केही दिन अगाडि ओली स्थायी समितिको वैठक बोलाउन सहमत भए, वैठक पनि राखियो । तर, बैठक राखेकै दिन सरकारको कट्टर आलोचक भीम रावलको सुरक्षा गार्डमा कोरोना भाइरस देखियो । त्यही बहानामा ओलीले वैठक तत्कालै स्थगित गरे । त्यसपछि वैठक कहिले बोलाउने भन्ने यकिन भएको छैन् । तर, वास्तवमा ति सुरक्षा गार्ड एक महिनादेखि सेवामा नै थिएनन् । पछि आफ्नो कारणले वैठक स्थगित गरेको भन्दै रावलले सार्वजनिक रुपमा आक्रोश नै व्यक्त गरे ।

नेताहरुका अनुसार नेकपाको वैठकको सन्दर्भमा अहिले दुईवटा परिदृष्य रहेका छन् । पहिलो, सकेसम्म ओली कोरोना र अन्य कारण देखाएर वैठक गर्ने पक्षमा छैनन् । आफ्नो बलले पुगेसम्म उनले वैठक सार्ने प्रयत्न जारी नै राख्ने छन् । अर्काे वैठक नै राख्न सहमत भएपनि ओली त्यसलाई एउटा कर्मकाण्डी मात्रै बनाउने पक्षमा छन् । धेरै दिन नलम्ब्याउने र तत्कालै त्यसलाई सम्पन्न गर्नु पर्नेमा उनकाे जाेड हुनेछ । पछिल्लो समयमा काठमाडौंमा नै कोरोना संक्रमितको संख्या बढेपछि र मृत्यु समेत हुन थालेपछि त्याे ओलीका लागि वैठक स्थगित गर्ने गत्तिलाे बहाना बनेको छ । कोरोनाकै कारणले पार्टीका अन्य नेताहरु पनि वैठक तत्काल हाेस भन्ने पक्षमा छैनन् ।

अर्काे, सरकार यतिवेला वार्षिक निती तथा कार्यक्रम र बजेटको तयारीमा जुटेकाे छ । यतिवेला संसदमा सरकारको नीति तथा कार्यक्रमको बारेमा व्यापक छलफल भईरहेको छ । अबको केही दिनमा नै संसदमा प्रिबजेट छलफल हुने छ । प्रिबजेट सकिएलगत्तै जेठ १५ गते संसदमा सरकारले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । यसबीचमा पहिलो त वैठक बस्ने सम्भावना नै छैन्, बसिहाले पनि कर्मकाण्डी मात्र हुने निश्चित जस्तै छ । यसबीचमा भारतले नेपाली भूभाग मिचेर सडक बनाएका कारण पनि सत्तारुढको वैठक प्रभावित हुन पुग्यो । हुन पनि विभिन्न कारणले प्रधानमन्त्री यतिवेला स्थायी समितिलाई समय दिन सक्ने अवस्थामा छैनन् ।

स्थायी समितिको वैठक कमजोर हुनुका पछाडि प्रचण्ड फ्याक्टर समेत कारक रहेकोे छ । पहिला उनी जसरी पनि वैठक बोलाउने पक्षमा थिए र अहिले उनको र प्रधानमन्त्रीको एक प्रकारको समझदारी भएको छ । विशेषतः उनलाई पुनः कार्यकारी अध्यक्षकै हैसियत पूर्ण रुपमा दिन ओली सहमत भएपछि दाहाल अहिले ओलीप्रति केही नरम देखिएका छन् । स्थायी समिति वैठक गर्ने पक्षमा उनको पहिलेको जस्तो जोडबल देखिँदैन । उनी ओलीसँग मिलेर पुनः नेपाल पक्षलाई पेलेर भित्तामा पुर्याउने रणनीतिमा रहेको नेपाल पक्षका नेताहरुको आरोप छ । त्यसैले पनि नेकपामा स्थायी समितिको वैठक माग गर्नेहरु एकदमै कमजोर बनेका छन् । एक नेताका अनुसार प्रचण्डको ढुलमुले नीति पनि वैठक स्थगित हुनुको एक कारकतत्व हो ।

केही समय अगाडि प्रचण्ड, ओली, नेपाल, खनाल र वामदेव गौतम लगायतका नेताहरु ओलीलाई जसरी पनि राजीनामा गराउने पक्षमा एकत्रित भएका थिए । तर, विभिन्न आन्तरिक र बाहिरी दबाबपछि प्रचण्ड र नेपाल त्यो अभियानबाट पछाडि हटे । त्यतिवेला उनीहरु एक हुँदा ओली कमजोर देखिएका थिए । तर अहिले ओलीले प्रचण्ड र गौतमलाई तत्कालका लागि भएपनि आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । तर, यो कति समय टिक्ने हो भन्ने यकिन छैन् । त्यसैले यतिवेलाको ओलीको रणनीति भनेको प्रचण्डलाई जसरी पनि फकाएर राख्ने र स्थायी समितिको वैठक तत्काल नगर्ने । यति मात्र होइन, त्यतिवेला नेकपामा द्वन्द्व पनि केही साम्य भएको छ । तत्कालका लागि प्रम ओलीको राजीनामको माग पनि टरेको छ । सरकारको आलोचना भएपनि नेताहरु अहिले राजीना नै माग्ने पक्षमा छैनन् । नेकपाभित्रकाे याे परिस्थिती कति दिन टिक्ने हाे त्याे भने अ‌ागामी दिनमै थाहा हाेला ।

सम्बन्धित समाचारहरु

ताजा समाचार