#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व657354038804130149943170505
नेपाल230092013278

नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका समस्या नसमेटिएको भन्दै व्यावसायीहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ।

सरकारले नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका समस्या नसमेटिएको भन्दै सम्बद्ध व्यावसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले पटक पटक आफ्ना समस्याहरु सरकार सामू राखे पनि कोरोनाबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई कुनै राहतका कार्यक्रम नल्याएको भन्दै आगामी बजेटमा यी कुराहरुको सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

नेपाल एसोशिएसन अफ टुर एण्ड टरभल्स एजेन्ट्स, होटल एसोशिएसन नेपाल, ट्रेकिंग एजेन्सिज् एसोशिएसन अफ नेपाल,
नेपाल पर्यटक यातायात व्यावसायी संघ, नेपाल एशोसिएसन अफ टुर अपरेटर, सोसाइटी अफ टरभल्स एण्ड टुर अपरेटर्स नेपाल, पाटा च्याप्टर नेपाल, नेपाल माउन्टेरिङ एसोशिएसन, टुरिष्ट बस एसोशिएसन अफ नेपाल, नेपाल एसोशिएसन अफ र्याफ्टिङ एजेन्सिज् , रेष्टुरेन्ट एण्ड वार एसोशिएसन अफ नेपाल र एक्सपिडिसन अपरेटर्स एसोशिएसनले संयुक्त रुपमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

एक विज्ञप्ती जारी गर्दै उनीहरुले कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएको पर्यटन व्यवसायको पुर्नस्थापना गर्न यस अघि नै सरकारलाई सामुहिक रुपमा नेपाल ध्यानाकर्षण गराउदै आएको भए पनि सरकारले भने बेवास्ता गरेको गुनासो गरेका छन् ।

नेपाल सरकारले हालै जारी गरेको आ.व. ०७७, ०७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यावसायीहरुको मर्म र भावना अनुरुप पर्यटन व्यावसायलाई पुनर्जीवन दिने खालको कुनै पनि ठोस कार्यक्रमहरु नआएको भन्दै देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगलाई बचाउन राज्यले वेवास्ता गरेको सम्बद्ध व्यावसायीहरुले गुनासो गरेका हुन् ।

पर्यटन व्यावसायीहरुले यस विषयमा आफूहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्षलाई व्यापक रुपमा सफल बनाउन पर्यटन व्यावसायीहरुले यस क्षेत्रमा अर्वौंको थप लगानी गरेको सरकारलाई स्मरण पनि गराएका छन् ।

पर्यटन व्यावसायीहरुको लगानीको संरक्षण गर्ने, शिथिल भैसकेको व्यावसायलाई पुनर्जीवन दिएर पुनर्स्थापना गर्ने सरकारको प्रमुख दायित्व हुनु पर्ने उनीहरुको माग छ । प्रस्तुत नीति तथा कार्यक्रममा नयाँ नयाँ योजनाहरु आएको तर महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यावसायीहरुलाई पुर्नउत्थान गर्ने कुनै पनि ठोस योजनाहरु घोषणा नगरिएकाले व्यवसायीहरु निराश बनेका हुन् ।

नेपाल सरकारको सबै नीति नियमहरु पालना गर्दै, करोडौंको कर राज्यलाई नियमित रुपमा तिर्दै आइरहेका पर्यटन व्यवसायीहरुलाई कोरोनाको महामारीले निम्त्याएको जरजर अवस्थाबाट जोगाउनु राज्यको प्रमुख दायित्व भएकाले यस क्षेत्रमा परेको प्रभावको मूल्यांकन गर्दै राहतका कार्यक्रम ल्याउन उनीहरुले माग गरेका छन् ।

कोरोनाको प्रभावको प्रारम्भमा नै क्षती बेहोर्न पुगेको तथा पुनः सामान्य अवस्थामा फर्कन समेत अन्य व्यावसाय भन्दा निकै लामो समय लाग्ने हुँदा पर्यटन व्यावसायलाई यो महासंकटबाट बचाउन हारगुहार गरिराखेका पर्यटन व्यावसयीहरुको बलियो साहारा बन्नबाट राज्य पछि नहटोस् । विज्ञप्तीमा भनिएको छ , खर्बौंको लगानी डुब्ने र नेपालको समग्र पर्यटन उद्योग नै तहसनहस हुने खतरालाई मध्यनजर गर्दै सरकारले ल्याउने आगामी वर्षको बजेटमार्फत पर्यटन व्यावसायीहरुको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दीर्घकालीन विशेष कार्यक्रमहरु ल्याउन सरकारसँग जोडदार माग गरेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार