#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1217218155216445485507071467
नेपाल164233586367752

‘एमसीसी पास गर्ने/ नगर्ने विषय अब संसदको’ : प्रधानमन्त्री

फाइल फोटो

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने/ नगर्ने विषय अब संसदको भएको बताएका छन् ।नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले एमसीसी पास गर्ने/नगर्ने विषय अब संसदको भएको बताएका हुन् ।

जेठ २ गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको ‘बुँदा नम्बर २११ मा लप्सीफेदी- रातमाटे-हेटौडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४ सय केभी ट्रान्समिसन लाईन’ को विषय उल्लेख छ । सोही विषयमा सत्तारुढ दलकै सांसदहरुले एमसीसी जस्केलाबाट ल्याउन खोजिएको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले ट्रान्समिसन लाइन अनिवार्य ढंगले बनाउनुपर्ने कुरा भएकाले पछाडी ढोका नभइ अगाडीकै ढोकाबाट बनाइने बताए । एमसीसी पास भए/नभए पनि लप्सीफेदी-रातमाटे-हेटौडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४ सय केभी ट्रान्समिसन लाईन बनि छाड्ने प्रधानमन्त्रीले बताए ।

नेपालमा उत्पादन भएको विद्युत अन्य देशमा निर्यात गर्न पनि ट्रान्समिसन लाइनको आवश्यकता पर्ने उनले बताए । ‘‘ठूलो लगानी गरेर उत्पादन भएको विद्युत कहाँ लाने ? डोकामा बोकेर लाने कुरा भएन । केहीमा बोकेर लाने कुरा भएन । त्यसकारण त्यसका लागि चाहिने ट्रान्समिसन लाइन त्यो अनिवार्य छ । हामी बनाउँछौँ ।’’ उनले भने ।

प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्ने÷नगर्ने कुराको निष्कर्ष सदनले निकाल्नु पर्ने बताए । विगतको सरकारले गरेको सम्झौता अविच्छिन्न उत्तराधिकारको हैसियतले अहिलेको सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको उनले बताए । अघिल्लो सरकारले गरेका सम्झौता पारित गर्दैनौ भन्न नमिल्ने भन्दै ओलीले सम्झौताको परिपालना नभए कुटनीतिक विश्वसनियता, राज्यहरुका बीचमा गरेका सम्झौताहरुको विश्वसनियता र नीतिहरुको निर्णयहरुको स्थिरता तथा स्थायित्वको विश्वसनियतामाथि प्रश्न उठ्ने बताए ।

ट्रान्समिसन लाइन बनाउने बुँदामा एमसीसी उल्लेख नभएको बताउँदै ओलीले सरकारले भोलिका लागि आज पेट काटेर, पटुका बाँधेर भएपनि बनाउने बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा विद्युतको व्यापार गर्नका लागि यसको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, ‘‘लाइन नै नबनाइ विद्युत कसरी अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापार गर्ने ? बंगलादेशसँग व्यापार गर्ने भनेका छौँ । अनि के गर्छौ ? कसरी लिएर जान्छौँ ? ट्रकमा त जाँदैन विजुली, रेलबाट, पानी जहाजबाट पनि जाँदैन ट्रान्समिसन लाइन चाहिन्छ । त्यसैले लाइन बनाउछौँ भनेर भनिएको हो ।’’

सरकारका सम्बन्धमा

सरकारले नीति तथा कार्यक्रममा आफ्नो गुणगान मात्रै गाएको भन्ने जिज्ञासाको जवाफमा ओलीले स्थायी सरकार भएकाले दीर्घकालिन योजनाहरु सञ्चालन गर्ने नीति लिएको बताए । २ वर्षको अवधिमा सरकारले ३६ सय किलोमिटर बाटो निर्माण गरेको तथा ३ सय २५ पक्की पुल बनाएको उनले बताए । यो भन्दा तिव्र गतिले काम अघि बढ्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारले दीर्घकालिन योजना बनाएर अगाडी बढेको बताएका छन् । अहिले कोरोना महामारीमा मात्रै केन्द्रीत नभएर भोलिका लागि पनि सरकारले योजनाहरु अघि सारेको उल्लेख गर्दै उनले भने, ‘‘अहिले महाप्रलयको कल्पना गर्ने ? अब मावन जाति रहँदैन भन्ने कुरा गर्ने ? आशावादी बन्नु पर्छ । केही वर्षको कुरा हो कोरोना नियन्त्रण गर्छांै छोटो समयमा अनि नेपाल एउटा विकशित राष्ट्र हुनेछ ।’’

प्रधानमन्त्री ओलीले उच्च मनोबलले सफलता प्राप्त हुने बताउनुभयो । तेह्रौँ सागमा ३ वटा स्वर्ण जितेको नेपालले १४ औं सागमा ५१ वटा स्वर्णपदक जित्न सफल भएको उल्लेख गर्दै ओलीले भने, ‘‘१३ औं सागमा तीनवटा स्वर्ण आएका थिए । भूकम्पले थिलथिल्याएको पूर्वाधार थिएन । त्यस्तो अवस्थामा सरकारमा आएपछि पूर्वाधार विकास गरेर १४ औं सागमा ५०, ५१ वटा स्वर्ण पदक जित्यौँ । अघिल्लोमा ३ वटा, अर्को पाइला चाल्दा ५१ स्वर्णपदक कस्तो हुन्छ, मनोबल कस्तो हुन्छ उत्साह । हो त्यही उच्च मनोबल आत्मविश्वासका साथ सरकार अघि बढेको छ ।’’

प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुलाई काममा प्रतिश्पर्धा गर्न पनि आग्रह गरे । सरकारलाई असफल बनाएर, अलोकप्रिय देखाएर जनतामा भ्रम फैलाएर सफलता नपाइने उनले बताए । प्रधानमन्त्री ओलीले अहिलेको सरकार अल्प अवधिको सरकार नभएको पनि बताए । उनले भने, ‘‘यो सरकार अहिलेलाई ५ वर्षको हो । पछिको कुरा पछि गरौला । पछिको कुरा अहिले भनेर मान्छेलाई झस्काउने चस्काउने किन पार्ने ? त्यो नगरौँ अहिलेका लागि यो सरकार ५ वर्षको हो । ५ वर्षको अगाडी देखि पछाडीसम्मका योजना बनाएर अगाडी बढेको छ ।’’

कोरोना संक्रमण नियन्त्रणमा नेपालले गरिरहेका प्रयास सफल सावित भएको उनले बताए । विश्वस्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोनाका कारण २ जनाको मृत्यु भएको उल्लेख गर्दै उनले नेपालको अवस्था भयावह नरहेको बताए ।

सम्बन्धित समाचारहरु