#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व659182638835330196853183788
नेपाल230092013278

नयाँ नक्साको जस लिने नेकपाका नेताहरुमा होडबाजी

काठमाडौं ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटिएको नेपालको नक्सा जारी भएसँगै यसको जस लिने विषयमा सत्तारुढ दल नेकपाभित्र हानथाप सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट नेताहरुले यसलाई सरकारको ऐतिहासिक काम भनेर टिप्पणी गरेका छन् भने पार्टीका अन्य नेताहरुले पार्टीको सामूहिक निर्णय अनुसार सरकारले नक्सा जारी गरेको बताएका छन् ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमले औपचारिक रुपमा नक्सा जारी भएकै दिन विज्ञप्ति निकालेर सरकार र प्रधानमन्त्री एक्लैले नक्सा जारी गर्ने निर्णय लिएको जसरी प्रचार भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले निर्णयका लागि सरकारलाई धन्यवाद दिँदै पार्टीको सामूहिक निर्णय अनुसार नक्सा जारी भएको बताएका छन् ।

नेता गौतमले अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा आफूले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको दावी गर्दै यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा आफूले नै राखेको उल्लेख गरेका छन् ।

वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि नक्सा जारी गर्ने काम भने स्वागतयोग्य भएको नेता गौतमको भनाई छ । पाटीभित्रैबाट केही नेता–कार्यकर्ताले नक्सा जारीको विषयमा प्रधानमन्त्री ओलीको साहसिक कदमका रूपमा प्रस्तुत गरेका बेला उपाध्यक्ष गौतमले निश्चित व्यक्तिका नामलाई देवत्वकरण नगर्न सुझाब दिएका छन् ।

मन्त्रिपरिषद् बैठकबाट नयाँ नक्सा स्वीकृत भए लगत्तै पर्यटन मन्त्री योगेश भट्टराईले यसलाई सरकार र प्रधानमन्त्रीको ठूलो कामका रुपमा उल्लेख गरेका थिए । ‘आज नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिने नै छ । आजको मिति र निर्णय युग युगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भईरहने छ,’ बैठक लगत्तै उनले सामाजिक संजालमा लेखेका थिए । गौतमको जवाफ सम्भवत यस्तै प्रतिक्रियाहरुलाई हुन सक्छ ।

प्रधानमन्त्री ओलीले कुटनीतिक संवादमार्फत् अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पहल गर्ने बताएका थिए । यसबाहेक उनले सरकारले समस्या समाधान गर्ने उद्देश्यसहित नक्सा सार्वजनिक गरेको पनि बताएका थिए । प्रधानमन्त्री ओलीको भनाई थियो, ‘अब लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषय ओझेल पर्न वा सेलाउन दिइने छैन । यसको निष्कर्ष निकालिन्छ, यो हाम्रो भूभाग हामी फिर्ता लिएर छाड्छौं ।’ आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले पार्टीभित्र छलफल र निर्णय भएको विषय कतै उठाएका थिएनन् ।

यस्तै, बुधबार नयाँ नक्सा सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पनि पार्टीको नाम नै लिइनन् । नक्सा सार्वजनिक गर्दै उनले भनिन्, ‘यस विषयमा मार्गनिर्देशन गर्नुहुने सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू, सुझाब, सल्लाह दिनुहुने अभियन्ताहरू, विज्ञहरू, नागरिक समाज, अहोरात्र खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू, राजनीतिक दल र सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरू प्रति आभारी छु ।’

मन्त्री अर्यालले नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने अवसर नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद क्षण भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको काँधमा आइपुगेको बताईन् ।
कान्तिपुरबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार