#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व576418235601229274722480698
नेपाल8864699183

टेकु अस्पताललाई स्वाब कलेक्सन बुथ हस्तान्तरण

काठमाडौं ।

नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई आधुनिक स्वाब कलेक्सन पीपीई बुथ उपलब्ध गराएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को नमुना संकलनका लागि प्रयोग गर्न इन्जिनियर्सहरुले स्वाब कलेक्सन पीपीई बुथको निर्माण गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उपलब्ध गराएका हुन् । करिब १ लाख रुपैंयाँको लागतमा निर्माण गरिएको उक्त बुथ बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले अस्पताललाई उपलब्ध गराएको छ । आधुनिक प्रविधिको प्रयोग गरि निर्माण गरिएको उक्त बुथमा बिरामी र स्वास्थ्यकर्मीबीच संवाद गर्न माइक जडान गरिएको छ । यस्तै बुथमा हावा पास गर्नको लागि पछाडिपटिको भागमा पंखा जडान गरिएको छ । बुथ हस्तान्तरण कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशका अध्यक्ष नन्द बन्जाडेले कोभिड–१९ सँग अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको जोखिम न्यूनिकरणका लागि इन्जिनियर्सहरुको समेत भूमिका होस् भन्ने उद्देश्यले बुथ निर्माण गरी उपलब्ध गराइएको बताए ।

विपदको अवस्थामा स्वास्थ्यकर्मीहरुको जोखिमलाई ध्यान दिई इन्जिनियर्सहरुले गरेको सहयोगले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । वैज्ञानिक रुपमा बनाइएको स्वाब कलेक्सन बुथ जस्तै अन्य स्वास्थ्य उपकरणहरुको निर्माणमा इन्जिनियर्सहरुको सहयोगको आवश्यकता रहेको उनले बताए ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्राध्यापक डा. रत्न बज्राचार्यले कोभिड–१९ को रोकथामका लागि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षाको निम्ति काम गर्न पाउँदा खुशी लागेको बताए । नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले अहिलेसम्म काठमाडौं, रामेछाप, काभ्रे, सिन्धुपलान्चोक, रसुवा, नुवाकोट, र धादिङमा गरी कुल १७ वटा स्वाब कलेक्सन बुथ निर्माण गरी सरकारी अस्पतालहरुलाई उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार