#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व648477638310930117753089892
नेपाल230092013278

घुस लिनेलाई हदैसम्मको कारवाही गर्न सांसदको माग

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थपन समितिका सांसदहरुले घुस लिनेलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् । शुक्रबार बसेको समिति बैठकको दफावार छलफलमा सांसदहरुले सो माग गरेका हुन् । घुस लिनेलाई मात्रै नभएर उनीहरुका परिवारलाई पनि कारवाहीको दायरामा ल्याउन सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने सांसदहरुको भनाइ छ ।

समितिको छलफलमा राष्ट्रिय सभा सांसद रामनारायण विडारीले घुस लिएको प्रमाणित भए अभियुक्तको सबै परिवारको सम्पति जफत गर्नु पर्नेमा जोड दिए । परिवारको सम्पति जफत गर्न सकेमा मात्रै भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने उनको भनाइ छ ।

समाजवादी पार्टीकी सांसद प्रमिला कुमारीले जति ठूलो रकम घुस लियो त्यती धेरै कैद सजायको व्यवस्था गर्नुपर्ने बताइन् । अर्बौ रुपैयाँ घोटाला गर्नेलाई कम्तिमा पनि २० वर्ष कैद हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै समितिको छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा सहमति जुटेको छ । शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो ।

समिति सभापति पर्शुराम मेघी गुरुङले घुस लिएको रकम जफत हुने र सोही रकम बराबरको जरिवाना समेत गर्ने विषयमा पनि सहमति भएको जानकारी दिए । १ करोडदेखि १० करोडसम्म घुस लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ । यसअघि १ करोडभन्दा बढी रकम घुस लिए पनि आठदेखि १० वर्षसम्म कैद र घुस लिएको रकम जफत हुने प्रावधान थियो । नयाँ प्रावधानमा १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार