#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व599185036533929914342635077
नेपाल121261000206

संविधान संशोधनको प्रस्तावबारे जनता समाजवादी अलमलमा, प्याकेजमै संशोधनको पक्षमा

फाइल फोटो

काठमाडौं ।

संविधान संशोधनको विषयलाई लिएर जनता समाजवादी पार्टीमा अलमल देखिएको छ । निसान छापमा लिम्पियाधुरासहितको नेपालको नक्सा राख्न सरकारले शुक्रबार दर्ता गराएको संविधान संशोधनको प्रस्तावबारे जसपाले धारणा बनाउन सकेको छैन ।

पार्टी एकीकरणको आन्तरिक व्यवस्थापनमा व्यस्त जसपा नेताहरूले आफूले पहिलेदेखि नै उठाउँदै आएको मागलाई पनि सम्बोधन हुने गरी संशोधन प्रस्ताव तयार गर्न सरकारलाई आग्रह गरेका थिए । तर, सरकारले निसान छाप मात्रै संशोधन गर्ने गरी प्रस्ताव दर्ता गराएको छ ।

‘संविधान संशोधन गर्नुपर्ने हाम्रो पनि माग हो । अहिले सरकारले के संशोधनको प्रस्ताव ल्याएको छ, त्यो हेरेर मात्रै निर्णयमा पुग्छौँ,’ नेता महन्थ ठाकुरले भने । उनले संसदमा टेबुल भएपछि प्रस्ताव आउने र त्यसबारे छलफल र निष्कर्ष निकालिने बताए । ‘सरकारले प्रस्ताव दर्ता गराउँदासम्म हामीसँग कुनै सरसल्लाह गरेको छैन । त्यसैले अहिलेनै त्यसबारे प्रतिक्रिया दिन्नँ,’ ठाकुरले भने ।

जसपा नेता उपेन्द्र यादवले पनि संविधान संशोधन गर्दा अहिलेसम्म संविधानमा देखिएका सम्पूर्ण त्रुटि मिलाएर प्रस्ताव लैजाँदा राम्रो हुने बताए । संशोधन प्रस्ताव संसदमा टेबुल भएपछि मात्रै छलफल गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा सरकारले सर्वदलीय बैठक बोलाएर छलफल गरेको थियो । बैठकमा जसपाका नेताहरूले नयाँ नक्सा ल्याएर नेपालको भूमि भारतबाट फिर्ताका लागि पहल गर्न सरकारलाई सुझाब दिएका थिए ।

संसदमा पनि जसपा नेताहरूले नेपालको नयाँ नक्सा जारी गरेर कूटनीतिक तवरबाट विवाद समाधान गर्न सल्लाह दिएका थिए । उनीहरूले संविधान संशोधन गर्दा मधेसकेन्द्रित पार्टीहरूले आन्दोलन गर्दा अघि सारेका मागसमेत सम्बोधन गर्न आग्रह गरेका थिए । तर, संविधान संशोधन प्रस्ताव लैजाँदा कसैसँग सरसल्लाह नगरेकाले जसपा नेताहरू मौन देखिएका छन् ।नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार