#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व597792236456629818312631525
नेपाल121261000206

विदेशिएका काभ्रेली ११ हजार ५८७, थप क्वारेन्टाइनको तयारी

काभ्रे ।

भारत लगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली नागरिक रहेको तथ्याङ्क प्राप्त भएको छ । सरकारले विदेशबाट नेपाली नागरिक स्वदेश फर्काउने तयारीसँगै जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले विदेशिएकाहरू घर फर्किए अनिवार्य क्वारेन्टाइननमा राख्न पुर्ने जनाउँदै क्वारेन्टाइन थप्ने योजनामा जुटेको छ ।

काभ्रेका १३ स्थानीय तह तथा संस्थामा ३४२ शैयाको क्वारेन्टाइन व्यवस्थित छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टाइन हाल रित्तिएका छन् । पाँचखाल नगरस्थित क्वारेन्टाइनमा चार, धुलिखेल अस्पतालमा ११ र चौँरीदेउराली गाउँपालिकामा १७ जनाको हाल उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । अन्य केही क्वारेन्टाइनमा बसेकाको दोस्रो परीक्षण तथा क्वारेन्टाइन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।
जिल्लास्तरीय क्वारेन्टाइन व्यवस्थित गर्ने तथा भइरहेको क्वारेन्टाइन थप व्यवस्थित गर्दै शैया थप्ने तयारीमा जुटेको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “काभ्रेका विदेशिएका नागरिक फर्किए क्वारेन्टाइनमा राख्नपुर्ने भएकाले हामीहरू पूर्वतयारीमा जुटेका हौँ ।” स्थानीय तहमार्फत दोस्रोपटक लिइएको तथ्याङ्कमा भारत लगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेका नागरिक रहेको तथ्याङ्क प्राप्त भएको हो । जसमध्ये एक हजार १२५ भारतमा छन् ।

गत माघ महिना यता ४५१ विदेशिएका काभ्रेली घर फर्किएको पोष्टले जनाएको छ । जसमध्ये चैत महिनामा मात्रै २५१ घर फर्किएका हुन् । त्यतिबेला २७ देशबाट घर फर्किएका थिए भने भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक थियो । यसअघि विदेशबाट घर फर्किएका सबैको कोरोना भाइरस सङ्क्रमण भए/नभएको स्वास्थ्य परीक्षण भइसकेको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार विदेशबाट घर फर्किएका केहीबाहेक सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको हो । यससँगै जिल्लामा एक हजार ५१८ को आरडिटी तथा १७२ जनाको पिसीआर प्रविधिबाट परीक्षण भएको छ ।

हाल विदेशमा रहेका नागरिकमा पाँचखाल नगरका एक हजार ३२५, नामोबुद्धका एक हजार २१२, मण्डन देउपुरका एक हजार ३६९, धुलिखेलका ९९४, बनेपाका ७३१, पनौतीका ५६४ तथा चौँरीदेउराली गाउँपालिकाका एक हजार ८१, रोशीका ४९३, तेमालका ४१७, भुम्लुका ६३७, महाभारतका ५९७, खोनीखोलाका २१२ र बेथानचोक गाउँपालिकाका ८३० नागरिक छन् ।

केन्द्रले स्थानीय तहका प्रमुख, प्रतिनिधि एवं सरोकारवालालाई भेला गराएर सङ्क्रमित जिल्लाबाट आ–आफ्नो तहमा फर्कनेको पिसीआर परीक्षण गरेर मात्रै सम्बन्धित तहले बुझेर लैजाने सहमति गराएको छ । साथै जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख शहर मानिएको बनेपामा तीन÷तीन सय शैयाको क्वारेन्टाइन व्यवस्थित गरिने तथा अन्य तहमा शैया बढाइ १०० का दरले क्वारेन्टाइन व्यवस्थित गरिने सहमति भएको हो ।

धुलिखेल र बनेपामा निर्माण गरिने जिल्लास्तरीय क्वारेन्टाइनका लागि भने प्रत्येक नगरपालिकाले रु पाँच लाख र गाउँपालिकाले रु तीन लाख दिनु पर्ने सहमति भएको धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनका अनुसार जिल्लास्तरीय क्वारेन्टाइनमा रहेकाहरूको कुरुवाका लागि छुट्टै २५ शैयाको क्वारेन्टाइन व्यवस्थित गरिनेछ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिका छन् । यस्तै आठ शैयाको धुलिखेल अस्पतालमा ५० शैयाको आइसोलेसन कक्ष बनाइने तथा सोही अस्पतालमा हप्ताको दुई दिन मात्रै स्वाब सङ्कलन परीक्षण गर्दै आइएकोमा दैनिकरूपमा गर्ने तयारी भइरहेको जनाइएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार