कास्कीको भेडाबारीमा फुटबलको ड्रिम प्रोजेक्ट बन्दै, १७ करोड ५५ लाख बजेट पारित

कास्कीको भेडाबारीमा फुटबलको ड्रिम प्रोजेक्ट बन्दै, १७ करोड ५५ लाख बजेट पारित


काठमाडौं ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा फुटबल ट्रेनिङ सेन्टर बन्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भेडाबारीमा बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको हो । यसका लागि फुटबलको सर्बोच्च निकाय फिफाबाट बजेट आएको हो ।

भेडाबारीमा बहुउद्देश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउन फुटबलको सर्बोच्च निकाय फिफाको सहयोगमा सुरु भएको हो । सो ट्रेनिङ सेन्टर निर्माणका लागि नयाँ आर्थिक बर्षमा एन्फाले १७ करोड ५५ लाख रुपैयाँको बजेट समेत छुट्याएको छ । कार्यसमितिको बैठकले ट्रेनिङ सेन्टर निर्माणका लागि करिब साढे १७ करोड रुपैयाँको बजेट पारित गर्ने निर्णय गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ लामाका अनुसार बजेट पास भैसकेको र नयाँ आर्थिक बर्षबाट काम थालनी हुनेछ । करिब २ सय ५२ रोपनी जग्गामा निर्माण हुने भएको छ । फुटबल ट्रेनिङ सेन्टरका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको हो । ट्रेनिङ सेन्टर निर्माणको विस्तृत परियोजना रिपोर्ट (डीपीआर अनुसार करिब ३५ जनासम्मलाई आवाशीय सुविधा सहितको व्यवस्था हुनेछ ।

नेपालकै ड्रिम प्रोजेक्टको रुपमा निर्माण गर्न लागेको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसले गण्डकी प्रदेशको फुटबल विकासमा ठूलोे योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो सेन्टरमा विदेशी फुटबल खेलाडी समेत ल्याएर तालिम गराउने लक्ष्य एन्फाले राखेको छ । यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा गरिएको छ । एन्फाले तयार पारेको डीपीआर अनुसार ट्रेनिङ सो सेन्टरभित्र ५ हजार दर्शक क्षमता सहितको तीन वटा प्राकृतिक मैदान बन्नेछन् । सो सेन्टरमा स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र एक अन्तराष्ट्रिय मापदण्डको सम्मेलन हल समेत निर्माण गरिनेछ । यो प्रारम्भिक बजेट भएको र फिफाबाट अरु बजेट समेत आउने अध्यक्ष लामाले बताएका छन । यो परियोजना ३ चरणमा सक्न फिफाले एन्फालाई निर्देशन दिएको छ ।

Logo