#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व575539035567029256292474091
नेपाल8864699183

अन्ततः कोरोनालाई जिते कलाकार वेलासेले, भन्छन्, -“आत्मबल नै ठूलो उपचार रहेछ”

काठमाडौं ।
करिब एक महिनादेखि विश्व महामारी कोरोनाबाट संक्रमण भएपछि उपचार गराइरहेका कलाकार सुवास कार्की ‘वेलासे’ ले अन्ततः कोरोनालाई जितेका छन् । उनी बैशाख २७ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

तैपनि पूर्णरुपमा ठिक हुन अझै ४ हप्ता लाग्ने भएकाले उनी अस्पतालकै निगरानीमा रहनेछन् । उनले केन्द्रबिन्दुलाई दिएको जानकारी अनुसार करिब ९० प्रतिशत निको भइसकेको छ । कहिले काहीं हल्का खोकीको समस्या भएकाले उनी अस्पताल जाने आउने क्रममै छन् ।

कोरोना निको भएपछि अहिले उनी परिवारसँगै बस्न थालेका छन् । निको भएपछि तपाईंले परिवारमा कसलाई पहिलो पटक भेट्नु भयो, भन्ने केन्द्रबिन्दुको जिज्ञासामा उनले २ वर्षकी सानी छोरीलाई अंगालो हालेको बताएका छन् । ‘अब म पूर्णरुपमा ठिक हुने क्रममा छु ।’ उनले भने ।

करिब २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनले अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई सामान्य नठान्न अनुरोध गरेका छन् । ‘यो निकै भयावह रहेछ, मलाई बाँच्ने आशा नै हराइसकेको थियो, तैपनि समयमै उपचार पाएकाले र साथीभाई, आफन्त र शुभ चिन्तकहरुको मायाले ठिक भएँ ।’ खुशी हुँदै उनले भने ।

कोरोना जित्न आत्मबल जरुरी रहेको उनले अनुभव सुनाए । ‘सकेसम्म लाग्न नदिनु नै उत्तम हो, केहि गरि लागि हाले पनि नआत्तिकन सबै सूरक्षा अपनाएर आत्मबल दरिलो बनाउन सकियो भने आधा रोग त त्यसै निको हुने रहेछ ।’ बेलासेले भने ।

नेपालमा रहँदा ‘वेलासे’ हाँस्य टेलिसिरियल भद्रगोलमा एक समय निकै रुचाइएका पात्र हुन् । उनी यसका निर्माता पनि थिए । उनले प्रयोग गर्ने थेगो ‘खै हुन्छ भन्ने कि हुदैन भन्ने, म त केही सोच्नै सक्दिन, तनाबै तनाब छ , गोजीमा २ रुपैयाँ छैन’ , पछिल्लो समय निकै रुचाइएको थियो । यसले गर्दा नै उनलाई धेरैले चिनेका हुन् ।

केन्द्रबिन्दुसँग कुराकानी गर्दै उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्नु हुने आफन्त, साथीभाई र शुभेच्छुक सबै प्रति आभार व्यक्त गरेका छन् । ‘सबैको मायाले म ठिक भएँ । अस्पतालले केही समस्या परेमा तुरुन्तै आउनु भनेको छ । अब धेरै सुधार भएको छ ।’ उनले भनेका छन् । साथै उनले लण्डनमा आफूलाई सहयोग गर्ने, घरसम्म नै औषधि र खाद्यान्न ल्याइदिने सबै सहयोगी प्रति पनि धन्यवाद दिएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुई, दुई तथा संयुक्त राज्य अमेरिका, कतार र कुवेतमा एक, एक नेपालीको यो साता निधन भएको हो । एनआरएन स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ६५ गैरआवासीय नेपालीको मृत्यु भएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार युएइमा १८ नेपालीको निधन भएको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । यसैगरी साउदी अरबमा सात, नेपालमा तीन तथा कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन, कतार र कुवेतमा एक, एक जनाको मृत्यु भएको एनआरएन, कोभिड–१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । मृत्यु हुनेमा ९५ पुरुष र १९ महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।

विश्वभर कोरोना महामारीका कारण ५४ लाख मानिस प्रभावित हुँदा मृत्यु हुनेको संख्या ३ लाख ४४ हजार पुगेको छ । निको हुनेको संख्या २२ लाख ४७ हजार पुगेका छन् भने हाल ४५ हजार मानिस अति नै संवेदनशील अवस्थामा उपचार गराइरहेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार