युएईमा समस्यामा परेका नेपालीलाई सक्रिय युवाहरुद्वारा राहत वितरण

युएईमा समस्यामा परेका नेपालीलाई सक्रिय युवाहरुद्वारा राहत वितरण


आबुधावी,

युएईको आबुधावीमा समस्यामा परेका झन्डै दुई हजार जना नेपालीलाई राहत वितरण गरिएको छ । आबुधावीमा सक्रिय युवाहरुको राहत वितरण टोलीले कोरोनाका कारण समस्यामा परेर खाना अभाव भएका २ हजार जना नेपालीलाई बिगत ४७ दिनदेखि खाद्यसामग्री प्रदान गरेको हो ।

आबुधावीमा बिभिन्न पेशा व्यवसाय गर्दै आएका युवाहरुको टोलीले डेढ महिना पहिलेबाट राहत वितरण गर्दै आएको छ । समस्या समाधान नहुँदासम्म सक्दो राहत वितरण अभियान सन्चालन गरिने टोलीले जनाएको छ ।

आबुधावीमा सक्रिय रुन्चे गायक प्रकाश पौडेल लगायत कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ , मनोज श्रेष्ठ, मनोज सैजु, शंकरराज घिमिरे, निर्मल कुमार पोखरेल, भीमनारायण श्रेष्ठ, राजेश श्रेष्ठ ,रुपेश अधिकारी ,उमाकान्त पान्डे र पुर्ण डुम्रे लगायतको सक्रियतामा राहत वितरण गरिंदै आइएको छ ।

टोलीलाई मनकारी दाताहरुले सहयोग गरिरहनु भएको छ । त्यसरी अहिले सम्म झन्डै ११ हजार ५ सय दिराम सहयोग रकम संकलन भएको छ । त्यस्तै युएईमा नेपाली समाजको नेतृत्वमा बनेको संघसस्थाहरु सम्मिलित मूल समितिबाट ६ हजार १ सय दिराम , नेपाली दुतावासबाट ५० प्याकेट खाद्यसामग्री, त्यस्तै मुल समितिबाट ५० प्याकेट खाद्य सामग्री (एक जनालाई ११ दिन पुग्ने प्याकेट) , डाबर इन्टरनेशनलबाट पौष्टिक आहार युक्त सामग्री र सेन्चुरी बैंकको सेन्चुरी रेमिट तथा आइएमई रेमिट, युएइमा रहेका नेपालीहरु, अबुधाबीमा रहेको भान्साघर रेस्टुरेन्ट, नेपाली चुलो रेस्टुरेन्ट , नाङ्लो रेस्टुरेन्ट  लगायतबाट प्राप्त खाद्यान्न तथा नगद टोलीले वितरण गरेको हो ।

टोलीले अहिले सम्म ८ हजार किलो चामल , ३ हजार ५० किलो दाल, २२ सय लिटर तेल, ३८ सय किलो आलु , ३३ सय किलो प्याज, २ हजार किलो नुन, ५०० किलो सोयाबिन तथा ५ सय किलो मसलाजन्य सामाग्री राहत वितरण गरेको हो ।

राहत अभियानमा हालसम्म ३ सय वटा समूहमा बस्ने झन्डै दुई हजार जना नेपालीलाई राहत सामाग्री वितरण गरिएको अभियान्ता कृष्ण गौतमले जानकारी दिए । समस्यामा परेका नेपालीहरुले दुतावासमा सम्पर्क गर्ने र दुतावासले समेत सिफारिस गरेका निवेदन तथा समस्या पहिचान गरेर टोलीले राहत वितरण गरिरहेको छ । टोलीले राहत वितरणसँगै कतिपयलाई अस्पतालसँगको सहयोगमा औषधी उपचारमा पनि सहजीकरण गरिरहेको छ ।

 

आबुधावीमा कोही नेपालीलाई खानाको अभावमा समस्या भए टोलीको सम्पर्क (०५५१३९६४३०) मा टेलिफोन वा ह्वाट्सएप गर्न सकिनेछ । टोलीले समस्यामा परेर राहतका लागि सम्पर्क गर्नेहरुको गोपनियता कायम राख्दै एजेन्ट, म्यानपावर वा कम्पनी लगायतको विवरण समेत संकलन गरेर दुतावासलाई बुझाउँदै आएको छ ।

Logo