नेपालमा नौ जना कोरोना संक्रमितको मृत्यु, ९ औं व्यक्ति दोलखाका

नेपालमा नौ जना कोरोना संक्रमितको मृत्यु, ९ औं व्यक्ति दोलखाका


काठमाडौं ।
नेपालमा आज थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । आज दोलखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका लागि भर्ना भएका र ‘हेमोराइजिक स्ट्रोक’ देखिएपछि अप्रेसन गरिएको थियो । जेठ १५ गते स्वाब परीक्षण पश्चात कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपालमा जेठ ३ गते सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको कोरोनाका कारण मृत्यु भएको थियो । उनी यस संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति थिइन् । त्यसयता मृत्यु हुनेको संख्या बढीरहेको छ भने संक्रमितको संख्या पनि थपिने क्रम तीब्र छ ।

देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा आज थप २०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १७९ पुरुष र २२ जना महिला छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ३०० पुगेको छ ।

त्यस्तै आज मात्रै १२ जना सङ्क्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् भने हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार ९२४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको उनले जानकारी दिए । हाल मुलुकभर एक लाख ५५ हजार ८६८ व्यक्ति विभिन्न क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म ६४ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ ।

Logo