#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1121052752948643244806356561
नेपाल152593290846143

भारतबाट फर्कंदै काभ्रेली, स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी

काभ्रे,

भारतको सिमावर्ती क्षेत्रमा रोकिएका काभ्रेली धमाधम जिल्ला फर्कन थालेका छन् । सुनौली नाकाबाट नेपाल भित्रिएका २३ काभ्रेली गएराति तथा पूर्वी नाकाबाट ल्याइएका ३७ जना आज बिहान जिल्ला आइपुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतबाट आएका नेपालीमध्ये काभ्रेका बासिन्दा सोमबार रातिदेखि आउन थालेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनका अनुसार सुनौली नाकाबाट भित्रिएका सोही स्थानीय तहको समन्वय तथा आज बिहान आइपुगेका जिल्लास्थित बेथानचोक गाउँपालिकाले आफ्नै समन्वयमा ल्याइएको हो । “काम तथा अन्य सिलसिलामा भारतमा रहेका जिल्लाका बासिन्दा आउने क्रम शुरु भएको छ, सोही अनुसार व्यवस्थापनमा लागेका छौँ”, प्रजिअ तिमल्सिनाले भने ।

सदरमुकाम धुलिखेल आइपुगेकालाई सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने व्यवस्थापन मिलाइएको प्रजिअ तिमल्सिनाले बताए । उनले भने, “धुलिखेल आइपुगेकालाई सम्बन्धित स्थानीय तहमै पठाउँछौँ, स्थानीयस्तरमा रहेका क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण हुनेछ ।” उनका अनुसार भारतबाट आएकालाई स्थानीय क्वारेन्टाइनमा राखेपछि पहिला आरडिटी गरिनेछ र कोरोना भाइरस पोजेटिभ देखिए पिसीआर दोस्रो परीक्षण गरिनेछ ।

त्यसो त काभ्रेका १३ स्थानीय तह तथा संस्थामा ३४२ शैयाको क्वारेन्टाइन व्यवस्थित छन् । धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८, पाँचखालमा ११ शैया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, मण्डनदेउपुर नपामा १५, चौँरीदेउराली गाउँपालिकमा १५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा छ र खानीखोलामा १५ तथा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ शैयाको क्वारेन्टाइन व्यवस्थित गरिएका हुन् ।

हाल पाँचखाल नगरस्थित क्वारेन्टाइनमा दुई, धुलिखेलमा २९, धुलिखेल अस्पतालमा सात, मण्डनदेउपुरमा दुई, तेमाल गाउँपालिकामा एकको उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार अन्य केही क्वारेन्टाइनमा रहेकाको दोस्रो परीक्षण तथा क्वारेन्टाइन बसाइको समयावधि सकी स्वस्थ्य देखिएपछि घर फर्किएका हुन् । यससँगै हालसम्म जिल्लामा एक हजार ६५७ जनाको आरडिटी तथा १७२ जनाको पिसीआर प्रविधिबाट परीक्षण भएको छ ।

साथै आठ शैया रहेको धुलिखेल अस्पतालमा ५० शैयाको आइसोलेसनकक्ष बनाइने तथा सोही अस्पतालमा हप्ताको दुई दिन मात्रै स्वाब सङ्कलन÷परीक्षण गर्दै आएकोमा अबदेखि दैनिकरूपमा गर्ने तयारी भइरहेको जनाइएको छ । गत हप्ता केन्द्र र स्थानीय तहका जनप्रतिनिधिबीच स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै शैया थप्ने तयारीमा जुट्ने सहमति भएको थियो । सोही अनुसार भारत लगायत अन्य देशबाट आएकालाई स्थानीय क्वारेन्टाइनमा राखिने प्रजिअ तिमल्सिनाले बताए ।

केन्द्रका अनुसार भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेका बासिन्दा छन् । तीमध्ये एक हजार १२५ भारतमा छन् । “विदेशिएका नागरिक क्रमशः आउन थालेपछि क्वारेन्टाइन थप व्यवस्थित बनाउँदै शैया थप्दै लगिनेछ”, उनले भने ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार