कोरोना संक्रमितको संख्या २३ सय, ज्यान गुमाउनेको संख्या नौ पुग्यो

कोरोना संक्रमितको संख्या २३ सय, ज्यान गुमाउनेको संख्या नौ पुग्यो


काठमाडौं ।

देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ सय पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार देशभर संक्रमितको संख्या २३ सय पुगेको हो ।  कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।

बुधबार दोलखाका ७६ वर्षका पुरुषको कोरोनाका कारण निधन भएसँगै मृतकको संख्या नौ पुगेको हो । जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको १५ गते स्वाव संकलन गरिएको थियो । परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको निधन भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन् । नेपालमा बुधबार २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना र सुनसरीका ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोसी अस्पतालमा गरिएको परीक्षण्मा मोरङका २, झापा १ जना, तेह्रथुमका १ सुनसरी १ जनामा कोरोना पोजेटिभ देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताए ।

त्यस्तैगरी रुपन्देहीमा भएको परीक्षणमा ९५ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ६७, पाल्पाका २ जना र रुपन्देहीका २६ जना रहेका छन् । जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ५, प्युठानका २ र सल्यानका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबारसम्म नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रदेश नम्बर १ मा १२ हजार ६ सय ४२, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ३१, वागमती प्रदेशमा २५ हजार ९ सय ३३ र गण्डकी प्रदेशमा ९ हजार १ सय ५१ वटा आरडीटी परीक्षण भएका छन् । त्यसैगरी प्रदेश नम्बर ५ मा २६ हजार ७ सय ४४, कर्णाली प्रदेशमा १४ हजार ८ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २३ हजार ७ सय ३३ वटा आरडीटी परीक्षण गरिएको छ ।

अहिले प्रदेश नम्बर १ मा ३ हजार ८ सय, प्रदेश नम्बर २ मा २२ हजार ७ सय २, वागमती प्रदेशमा ३ हजार २ सय २७ र गण्डकी प्रदेशमा ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ४१ हजार ६ सय ८३, कर्णाली प्रदेशमा ३० हजार १ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ४९ हजार ८ सय २० गरी देशभरी १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म प्रदेश नम्बर १ मा ४८, प्रदेश नम्बर २ मा १ सय ९, वागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी २ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Logo