#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1218013055238045470057080745
नेपाल164233586367752

लकडाउनको प्रभावकारीतामाथि ५ प्रश्न

लकडाउनलाई कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि हालसम्मकै उपयुक्त माध्यम मानिंदै आएको छ । चिनियाँ मोडलको लकडाउन नअपनाएका कतिपय मुलुकले कर्फ्यु र संक्रमणकाल लगाउँदै आएका छन् ।

नेपालमा पनि लकडाउन लागू भएको आज ६६ औं दिन । गत वर्षको चैत ११ गतेदेखि लागू भएको लकडाउन पटकपटक गरी आगामी जेठ २० गतेसम्म लम्ब्याइएको छ । यो बीचमा कोरोना भाइरस नियन्त्रणका लागि सरकारी तबरबाट के कस्तो कामहरू भए ? जनताले के कस्तो सास्ती भोगे ? सरकारी काम कारवाहीको नतिजा के कस्तो आयो ? कोरोना भाइरससँगै लकडाउनले सिर्जना गरेका जटिल समस्याहरु के के हुन् ?

यावत कुराहरुलाई अध्ययन र मनन गर्दा लकडाउनको प्रभावकारीतामाथि केही प्रश्नहरु उठेका छन् ।

१. लकडाउनको सदुपयोग खोई ?

समयमै लकडाउन अपनाएर सरकारले थोरै भएपनि बुद्धी पुर्‍याएकै हो । तर ६५ दिन बित्दा लकडाउनको जति सदुपयोग हुनुपर्ने थियो त्यो भएन । लकडाउन नै कोरोनाको हतियार होइन यो त माध्यम मात्रै हो । लकडाउनको सदुपयोग गरी कोरोनाको हतियार तयार पार्नुपर्ने थियो जुन भएको देखिएन । यसबीचमा गर्नुपर्ने टेष्ट, ट्रेसिङ, ट्रिटमेन्ट, टिम वर्क, ट्रयाकिङ जस्ता कामहरु सरकारले प्रभावकारीरुपले गर्न सकेन । ६५ दिनमा पीसीआर विधिबाट जम्मा ५८ हजार २ सय ७७ वटा र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण भएको छ । टेष्ट नै नगरिएपछि विरामी नदेखिनु स्वाभाविक नै थियो । नदेखिएको विरामीले समुदायमा संक्रमण फैलाउने पनि स्वाभाविक नै भयो ।

सरकारले भारतको सीमानाका र देशभित्रको लकडाउनलाई समेत प्रभावकारी ढंगले लागू गर्न नसकेको देखियो ।

यस्तो महामारीको संकटमा समेत कुर्सीका आधारमा पास बाँड्नेदेखि राहतका नाममा नाम बेच्ने कामहरू भए । यस अवधिमा भारतबाट मात्रै करिव ६ लाखको संख्यामा प्रवासी नेपाली भित्रिएको गृह मन्त्रालयको तथ्यांक छ । उनीहरु मध्ये १० प्रतिशतलाई पनि चेकजाँच नभएको पाइएको छ । पछिल्ला दिनहरुमा झन भारतबाट दिनहुँ हजारौंको संख्यामा नेपालीहरु भित्रिरहेका छन् । तर न उनीहरुलाई व्यवस्थित क्वारेन्टाइनमा राखिएका छन् न त चेकजाँच नै ।

जेठ १४ गतेसम्मको तथ्यांक हेर्दा देशभरीका क्वारेन्टाइनमा ७० हजार ३ सय ५ जना छन् । क्वारेन्टाइनमा राख्नु ठूलो कुरा होइन, मापदण्ड अनुरुपको क्वारेन्टाइनमा राखिएको हो कि होइन भन्ने प्रधान कुरा हो । स्थानीय तहले बनाएका कतिपय क्वारेन्टाइनहरू नाम मात्रैका छन् जहाँ शौचालयदेखि गाँसबासको समेत व्यवस्था छैन भने सामाजिक दूरीको कुरा त हाँस्यासपद भइ गयो ।

गत जेठ १० गते रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिकाले वडा नंं. ६ हर्दी्स्थित बोगडी माविमा बनाएको क्वारेन्टाइनमा भद्रगोल अवस्था रहेको र मापदण्ड पालना नगरिएको भन्दै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए । जेठ १३ गते दैलेखको नारायण नगरपालिका १ मा रहेको त्रिउमाविमा विद्यालयमा राखिएका करिब १ सय ३५ जनाले क्वारेन्टाइन व्यवस्थित नभएको, क्वारेन्टाइन स्थलमा खानेपानीको व्यावस्था नगरिएको भन्दै नाराबाजी गरे । त्यस्तै जेठ १४ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित उच्च माविको क्वारेन्टाइनमा तनाव उत्पन्न भयो । यी त उदाहरण मात्रै हुन् ।

क्वारेन्टाइन र सीमानाकामा जम्मा भएकाहरुको भीडमा कुनै एक जनालाई मात्रै कोरोना संक्रमण रहेछ भने अवस्था के होला ? अझ क्वारेन्टाइनबाटै धमाधम भागिरहेको अवस्था छ । उनीहरुको ट्रेसिङ भएको छैन ।

नेपालमा संक्रमित देखिएका मध्ये भारतबाट आउनेहरू धेरै छन् । र, भारतीय सीमा जोडिएका जिल्लाहरुमा संक्रमित धेरै छन् ।

अन्तरदेशीय सीमाको कुरा मात्रै होइन देशभित्रका अन्तरजिल्ला आवतजावत समेत प्रभावकारीरुपमा संचालन भइरहेको छैन । देशकै राजधानी काठमाडौंकै कुरा गर्दा अहिले पनि दैनिक ३ हजारको हाराहारीमा मानिसहरु आवतजावत गरिरहेका छन् भने १५ सयको हाराहारीमा सवारीसाधन आवतजावत गरिरहेको अवस्था छ । लकडाउन यता मात्रै करिव एक लाख ५४ हजारको हाराहारीमा उपत्यका भित्रिएको र २ लाख ५२ हजारको हाराहारीमा बाहिरिएको तथ्यांक छ ।

अत्यावश्यक, खाद्यान्न, निर्माण सामग्री लगायतका सवारीसाधन मार्फत भित्रिएकाहरु कहाँ गए, कहाँ बसे भन्ने कुनै ट्रेसिङ भएको छैन । न त उनीहरु भित्रिँदा कोरोना चेकजाँच नै हुन्छ ।

अझ दु:खदायी कुरा त कोरोना आशंका गरिएका व्यक्तिको परिक्षण र कोरोना पुष्टि भएका व्यक्तिलाई अस्पताल लैजाने व्यवस्था समेत भएको देखिँदैन ।

जेठ २ गते अस्पताल भर्ना भएका कलैया ७ बाराका ७० वर्षीय पुरुषको मृत्यु भएपछि जेठ ४ गते अन्त्येष्टि गरियो । तर उनको रिपोर्ट जेठ १२ गते पोजिटिभ आयो । यति मात्रै होइन, उनको परिवारको स्वाव परिक्षण अझै भएको छैन । परिक्षण र ट्रेसीङ् कति सुस्त गतिमा भइरहेको छ भन्ने यो एउटा उदाहरण नै काफी छ।

अर्काे कुरा कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएका व्यक्तिहरु समेत निर्धक्क आवतजावत गर्ने गरेको पाइएको छ । रिपोर्ट आएपछि नुवाकाेटका एक व्यक्तीलाइ अस्पतालसम्म लैजान एम्बुलेन्स चालकले नमानेपछि आफैं मोटरसाइकल चलाएर अस्पताल पुगेका छन् । गत आइतबार कोरोना संक्रमण पुष्टि भएका नुवाकोट ककनीका उनी आफैं मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल पुगेका थिए । उनी त केवल उदाहरण मात्रै हुन् ।

यावत कुराहरु मनन गर्दा नेपालमा जति संक्रमित भेटिएका छन् के त्यतिमात्रै होलान् त ? भन्ने जिज्ञासा अस्वभाविक पक्कै होइन ।

२. भोकमरी र अर्थतन्त्रको सवाल

गत जेठ ११ गते दुई वटा घटना सार्वजनिक भयो । कीर्तिपुरको मंगल बहुमुखी क्याम्पस अगाडिको सडकपेटीमा धादिङका सूर्यबहादुर तामाङ मृत फेला परे । भारी बोकेर जीवनयापन गर्दै आएका उनको के कारणले मृत्यु भयो भन्ने नखुलेपनि उनी लकडाउन यता विभिन्न संघसंस्थाले संचालन गर्दै आएको मेसमा खाना खाँदै आएको खुलेको छ । सोही दिन मोरङको बास्वारी गोकुवाटोलकी रेखा परियार बेहोस भएर ढलेको भिडियो भाइरल बन्यो । परियारलाई अस्पताल लगेर उपचार गराएकी मिलन कार्कीका अनुसार उनी एक महिनाकी सुत्केरी थिइन् तर उनको घरमा केही खानेकुरा थिएन ।

केही साता अघि एक महिलाले एभिन्यूज टिभीको एउटा कार्यक्रममा फोन गरेर आफ्नो बच्चा पाल्न नसकेको भन्दै अरुलाई दिने बताउदै थिइन् । यी त केवल उदाहरण मात्रै हुन् । लकडाउन लम्बिदै जाँदा विपन्नवर्ग मात्रै होइन कुनै दिन राहत बाँड्नेहरु समेत अब राहत माग्ने अवस्थामा पुगेका छन् । पाँच किलो चामल र एक लिटर तेलका लागि वडा कार्यालयमा लागेको लाइनले पनि भोकमरीको अवस्था चित्रण गर्छ । दैनिक ज्यालादारी काम गरेर दैनिक हातमुख जोर्नेहरुको हालत के भएको होला ? एकलजीवन बिताइरहेका, सहरमा अलपत्र परेका विद्यार्थी, बिरामी, असक्तहरुको दैनिकी कसरी चलिरहेको होला ?

सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष पनि संचालनमा ल्याएको छ। जेठ १४ गतेसम्मको विवरण अनुसार २ अर्व ३० करोड रुपैयाँ  भन्दै बढी रकम जम्मा भइसकेको छ। तर, उक्त रकम कहाँ कति खर्च भयो या भएन त्यसको कुनै विवरण सार्वजनिक गरिएको छैन ।

सरकारले घर भाडा छुट दिन आग्रह गरिरहँदा तिनै घरधनीहरु केही समयपछि राहत माग्ने अवस्थामा पुग्ने देखिन्छ । अझै लकडाउन लम्ब्याउँदै जाने हो भने डेरा छोडेर घर फर्केकाहरु त्यो डेरामा नफर्किने पक्का छ किनकी डेरामा भएको सामान भन्दा डेराभाडा महंगो पर्न जान्छ ।

लकडाउन लम्बिँदै जाँदा अधिकांश कार्यालयले कर्मचारी कटौती गर्न थालेका छन् । कार्यारत कर्मचारीहरुले पनि समयमा पारिश्रमिक पाउन सकेका छैनन् । अझै लकडाउन लम्बिँदै जाने हो भने कतिपय व्यवसाय र कार्यालय कहिल्यै नखुल्ने गरी बन्द हुन सक्ने आंकलन भइरहेको छ ।

मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । सरकारले यस वर्षको बजेटमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । यस अघिको तीन वर्षमा आर्थिक वृद्धिदर औषत ७ प्रतिशत भन्दा माथि रहेको थियो ।

एसियाली विकास बैंक (एडिबी) ले पनि कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण गरेको छ । नेपालमा कुल गार्हस्थ्य उत्पादनको १३ दशमलव ६ प्रतिशत अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान एडिबीको छ । पर्यटन, बैंक, विकास निर्माण, उद्योग लगायतका क्षेत्रले के कति क्षति व्यहोर्ने हुन् ति सबैको क्षति देशको क्षति हो ।

३. कोरोना भाइरसबाट डराउने कि सावधानी अपनाउँने ?

कोरोना भाइरसलाई महामारीकारुपमा चित्रण गरिएको छ तर यसको प्रभावबारे अध्ययन विश्लेषण गर्दा सोचमग्न बनाउँछ । इटालीको नेशनल हेल्थ इस्टीच्यूट अफ इटालीले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार मृतकमध्ये १.२ प्रतिशत मात्रै कोरोनाकै कारण मृत्यु भएको उल्लेख छ । ४८.६ प्रतिशत मृतक कोरोनाबाहेक पनि ३ वटा रोगले पीडित थिए ।

बीबीसीमा गत अप्रिल १६ मा प्रकाशित रिपोर्ट अनुसार इंग्ल्याण्ड र वेल्समा मृत्यु हुने १० मध्ये ९ जना विभिन्न रोगबाट पीडित थिए । कोरोना भाइरस संक्रमितमध्ये ९१ प्रतिशत विरामी अन्य रोगबाट संक्रमित पाइएको रिपोर्टमा उल्लेख छ । उनीहरु विशेषतः मुटु, क्यान्सर, स्वासप्रस्वास, निमोनिया, मिर्गाैला लगायतका रोगबाट पीडित थिए ।

विश्व स्वास्थ्य संगठनले चीनमा गरेको एक अध्ययनले कोरोना भाइरसबाट मृत्यु हुने संभावना २ प्रतिशत मात्रै देखाएको थियो तर युरोप र अमेरिकामा गरिएको सर्वेक्षणले ०.२ देखि ०.९ प्रतिशत मात्रै मृत्युदर रहेको पाइएको छ । जबकी यसअघिको महामारी सार्स र मर्सको मृत्युदर क्रमशः १० र ३४ प्रतिशत थियो ।

कोरोना भाइरसबाट पाँच महिनामा ३ लाख जनाको ज्यान जाँदा अन्य सरुवा रोगहरु हैजा, एड्स, क्षयरोग, मलेरियाबाट कयौं गुणा बढीको ज्यान गएको छ ।

डब्लुएचओकै निश्कर्ष अनुसार कोरोनाबाट मृत्यु हुनेमा रोगसँग लड्ने क्षमता कमजोर भएका, ६० वर्षभन्दा माथिका र अन्य जटिल रोग भएका  व्यक्तिहरु बढी छन् । डब्लुएचओकै भनाइ मान्ने हो भनेपनि कोरोना संक्रमित मध्ये धेरैमा लक्षण नै देखिंदैन, त्यसकारण धेरै मानिस रोग पहिचान नभइकनै निको हुन सक्छ । संक्रमितमध्ये ५ प्रतिशतसम्मलाई मात्रै अस्पताल लैजानुपर्ने डब्लुएचओको भनाइ छ ।

एकपटक विश्वव्यापी तथ्यांक पनि हेरौं । विश्वभर संक्रमित ५७ लाख ८९ हजार मध्ये ३ लाख ५७ हजारको मृत्यु भएको छ भने २४ लाख ९७  हजार जना निको भएका छन् । यो भनेको मृत्यु हुने भन्दा निको हुनेको संख्या करिव ७ गुणा बढी हो । उनीहरु कोरोनाको औषधि खाएर निको भएका होइनन् किनकी यसको कुनै औषधि नै बनेको छैन । कतिपय भेन्टिलेटरमा बसेपनि कतिपय घरमै बसेर कोरोनालाई जितेका छन् ।

अब अलिकति नेपालको अवस्था पनि हेरौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली सिन्धुपाल्चोककी महिला ९ दिनकी सुत्केरी थिइन् । उनको रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर थियो । टिचिङ अस्पतालमा सुत्केरी भएर सिन्धुपाल्चोक पुगेकी उनले बेलैमा एम्वुलेन्स सुविधा पाइनन् ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा मृत्यु भएका बाराका ७० वर्षीय बृद्धा श्वासप्रश्वास, निमोनिया, क्षयरोग लगायतका बिरामी थिए । त्यस्तै अर्का मृतक गुल्मी मदाने गाउँपालिका ६ का ४१ वर्षीय पुरुष टाइफाइड, कमलपित्त र मिर्गाैला रोगबाट पीडित थिए  । अर्का मृतक भारतबाट आएका बाँकेका २५ वर्षीय पुरुष ज्वरो र झाडापखालाका विरामी थिए । अब आफैं चिन्तन गर्नुहोस् के यी सबै व्यक्ति कोरोनाले मात्रै मृत्यु भएका हुन् त ?

अर्काे कुरा कोरोनाले मृत्यु भएको भनिएका सिन्धुपाल्चोककी महिलाको १० दिनकी शिशु र श्रीमानलाई कोरोना देखिएन । सँगै सुतेर, सँगै खाएर पनि कोरोना नसरेका घटनाहरु अनेकौं छन् ।

अब भन्नुहोस् कोरोना भन्नासाथ आकाश नै खस्ला जसरी त्रसित हुने कि सावधानी अपनाउँने ?

४. अन्य रोगीले उपचार पाउनु पर्दैन ?

कोरोना आतंक यसरी फैलिएको छ कि मानौं यसले छुने वित्तिकै भष्म हुन्छ । यही त्रासका कारण कयौंले अकालमा ज्यान गुमाएका छन् । देशको अन्य स्वास्थ्य सेवा समेत लथालिङ्ग हुने गरि प्रभावित भएको छ।  न त सरकारले निजी स्वास्थ्य संस्थालाई नियन्त्रणमा राख्न सकेको छ।

क्वारेन्टाइन र आइसोलेसनमा बसेका बिरामीले समेत उपचार पाएका छैनन् । हालै नारायणी अञ्चल अस्पतालमा भर्ना भएका विरामीहरुको एउटा भिडियो सार्वजनिक भएको थियो । जहाँ विरामीहरु चिकित्सकले आफ्नो ज्वरो समेत परिक्षण गर्न नआएको बताइरहेका थिए ।

निजी अस्पतालहरुले हातखुट्टामा घाउ भएर ज्वरो आएका बिरामी समेत फर्काउन थालेका छन् । ज्वरो आएको बिरामीलाई अस्पतालको ढोकाबाटै भित्र नछिराउने यो कस्तो त्रास, कस्तो मानवता ? ज्वरो आउने वित्तिकै उपचार गर्न डराउनु पर्ने यो कस्तो त्रास ? ज्वरोका विरामीले उपचार नपाएर मर्नु र कोरोनाका बिरामीले उपचार नपाएर मर्नु आखिर उही हो कि फरक ?

अहिले फलोअपमा जानुपर्ने बिरामीहरुको बेहाल भएको छ । दीर्घरोगीहरुले नियमित औषधि र चेकअप गर्न पाएका छैनन् । कोरोना नियन्त्रणका नाममा अन्य रोगीले मृत्युवरण गर्नुपर्ने यो कस्तो प्रवृति ?

अन्य रोगले जति धेरैको मृत्यु भएपनि वास्तै नहुने कोरोनाबाट मृत्यु हुनु चाहिँ भयंकर मृत्यु हुने ?लकडाउन अवधिमा ४ जना कोरोना संक्रमितले ज्यान गुमाउँदा उपचार नपाएर कति जनाले ज्यान गुमाए ? सरकारसँग कुनै हिसाबकिताब छ ?

लकडाउनकै कारण हिडेर जन्मघर जाँदै गर्दा कतिले बाटैमा ज्यान गुमाए ? लकडाउन लम्बिंदै जाने हो भने भोकमरी र ऋणले कतिले आत्महत्याको बाटो रोज्ला ? के यो चाहिँ मृत्यु होइन र ?

५. लकडाउनको मोडालिटी किन नफेर्ने ?

कोरोना भाइरस संक्रमण तीव्रदरमा फैलिरहेको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)का अनुसार जुन र जुलाईमा कोरोना भाइरसका बिरामी झनै बढ्नेछ ।

जति धेरै परिक्षण त्यति नै धेरै संक्रमित फेला पर्ने कुरा अब प्रमाणित भई नै सकेको छ । डब्लुएचओकै कुरा मान्ने हो भने पनि अबको २ वर्षसम्म यो भाइरसको विभिन्न रुप रहीरहनेछ । कतिपय अनुसन्धानले त यो भाइरस अब कहिल्यै अन्त्य नहुने बरु कमसल हुँदै जाने उल्लेख गरेको छ ।

त्यसकारण अब कोरोना संक्रमित बढ्यो भन्दैमा लकडाउन लम्ब्याउँदै जाने कुरा सह्य हुँदैन । किनकी रोगसँग भोक डराउँदैन । अमेरिका, जर्मनी, बेलायत, ब्राजिल, भारत लगायतका मुलुकरुमा यसैकारण प्रदर्शन भएका थिए । नेपालमा पनि लकडाउनको विरोध शुरू भइसकेको छ।

लकडाउनको चुस्त व्यवस्थापन नहुनु र भाइरसको संक्रमण दर तीव्र हुनुले नेपालमा अबको केही महिनामा कति संक्रमित होलान् भन्ने अनुमान लगाउन सकिन्छ । त्यसकारण संक्रमित थपिएकै कारण लकडाउन अवधि थप्दै जाँदा कति नेपालीसँग घरभित्र बसेर खान पुग्ने रकम होलान् भन्ने पनि सोच्नुपर्छ । रोग र भोकको व्यवस्थापन कसरी गर्ने त्यो सरकारको दायित्व हो ।

अबको विकल्प भनेको लकडाउनको मोडालिटी फेरबदल गर्नु नै हो । छिमेकी मुलुक भारतकै कुरा गरौं, त्यहाँ कोरोना संक्रमितको संख्या एक लाख ५८ हजार नाघिसकेको छ भने ४ हजार ५ सय भन्दा बढीले ज्यान गुमाएका छन् । तर त्यहाँ आन्तरिक हवाइ उडान खुलेको छ,  विद्यालयस्तरको एसएसएलसी परीक्षा मंगलवारबाट सुरु भएको छ । होटल रेष्टुरेन्ट खोल्न अनुमति दिएको छ । निजी  तथा साना सवारी चलाउन अनुमति दिइएको छ । अन्तरार्ष्ट्रिय उडानको तयारी भइरहेको छ ।

लकडाउन भन्दा सतर्कता र सावधानी ठूलो कुरा हो भन्ने कुरा दक्षिण कोरियालाई हेरेर थाहा हुन्छ जसले संक्रमणकाबीच चुनाव सम्पन्न गर्‍यो। अब कोरोनासँग डराउने होइन सावधानी अपनाएर अघि बढ्ने हो ।

नेपालको सन्दर्भमा कोरोना संक्रमित क्षेत्रका आधारमा लकडाउनको मोडालिटी तय गर्नुपर्छ । जनताले त्यसको पूर्णपालना गरी ‘स्वास्थ्य नै धन’ हो भन्ने मन्त्र जप्नु जरुरी छ । तपाईंले कोरोना जीते पनि तपाईंको नानीबाबु र अभिभावकलाई सकस हुन सक्छ ।

अब हामीले अपनाउनुपर्ने सावधानीहरु भनेको व्यक्तिगत तथा कार्यस्थल सावधानी र सुरक्षा नै पहिलो कुरा हो त्यसका लागि उच्चतम उपाय अवलम्वन गर्नुपर्नेछ । बजार होस कि कार्यस्थल त्यहाँ सामाजिक दूरी ख्याल गर्नु अर्काे महत्वपूर्ण कुरा हो । सामाजिक दूरी कायम गर्न नमिल्ने क्षेत्रहरु जस्तै सिनेमा हल, स्विमिङ पुल, जिम, नाइट क्लब, रंगशाला, शैक्षिक संस्थालगायत तत्काल नखोल्दा नै उत्तम हुन्छ ।

सामाजिक दूरी कायम गर्न सकिने क्षेत्रहरु उद्योग, व्यसाय, होटल रेष्टुरेन्ट (मदिरा निषेध), विकास निर्माण, धेरै भिड हुने निजी तथा सरकारी कार्यालयलाई सिफ्ट गरेर संचालन गर्न सकिन्छ ।  त्यस्तै अन्तरजिल्ला यातायात तत्काल संचालन नगर्ने, सवारी साधनलाई जोर, बिजोर प्रणाली लागू गर्नुका साथै टुटल पठाओ जस्ता सवारी साधन प्रयोग गर्न सकिन्छ ।

शैक्षिक संस्थाहरुले सिफ्टमा कक्षा संचालन गर्न सकिन्छ । सम्भव भएसम्मका कामहरु अनलाइनबाट गर्न सकिन्छ  । ग्रामीण क्षेत्रमा उत्पादित कृषी उपजहरु सहरी क्षेत्रमा विक्रि वितरणको जिम्मा सरकारले लिनुपर्छ।

भारतीय नाकाबाट आउने सामान सीमाबाट सरकारले आफ्नै जनशक्ति सवारीसाधन प्रयोग गरेर भित्र्याउन सकिन्छ । विदेशमा अलपत्र नागरिकको उद्धार गरी आर्थिक अवस्था अनुसारको क्वारेन्टाइनमा राख्नुपर्छ ।

कोरोनासँग सावधानीका साथ् लड्ने हो लुक्ने होइन । कोरोनासँग अब पनि डरायौं भने हामी हार्नेछौँ। अब यसको रोकथाम र नियन्त्रण हाम्रै हातमा छ। लकडाउन खुल्यो भन्दैमा चोक गल्लीमा बसेर गफ हाँक्ने, सावधानी नअपनाउने र रमाइलो जमघट गर्नु आफ्नैलागि घातक हुन सक्छ। किनकी प्रहरीको आँखा छल्न सकिएला तर कोरोनाबाट जोगिन सकिन्न।

अबको सबैभन्दा महत्वपूर्ण र प्राथमिक कुरा भनेको आफू, आफ्नो परिवार र आफ्नो सहकर्मीको स्वास्थ्यमा ध्यान दिनु हो ।

सम्बन्धित समाचारहरु