डेंगु परीक्षणमा बढि मूल्य नलिन एशोसियशनको आग्रह

रुपन्देही, १२ कात्तिक
रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ ।  डेंगुको सङ्क्रमण बढेसँगै रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवाग्राहीले गुनासो गरेपछि मेडिकल ल्याब्रोटरी एशोसियशन नेपाल (मेलान) रुपन्देहीले बढि शुल्क नलिन आग्रह गरेको छ । पछिल्लो समय रुपन्देही सहित यसक्षेत्रमा डेंगु रोगीहरु दैनिक रुपमा भेटन थालेपछि परीक्षण गर्ने सेवा ग्राही बढ्दै गएका छन् । मेलान रुपन्देहीका अध्यक्ष गुणानिधि खनालले प्रेस विज्ञप्ति जारी गरी डेंगु परीक्षण गरेको शुल्क एक हजार मात्र लिन पाउने गरी निर्णय भएको जानकारी गराए ।

उनले मेलानका पदाधिकारीसहितको बैंठकबाट एक हजार भन्दा बढि रकम डेंगु परीक्षणमा लिन नपाउने गरी निर्णय भएको बताएका छन् । साथै डेंगु परीक्षण गर्ने किटको अभाव भएको भन्ने हल्ला निराधार भएको र किट पर्याप्त मात्रामा रहेको जानकारी पनि दिएका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलका डा. कृष्ण खनालले हाल सम्म १७० जना डेंगुका रोगी भेटिएको बताए ।
रासस