राजनीतिक तहबाट चर्को दबाबका कारण हाजिर जमानीमा छुटे उच्च घरानिया जुवाडेहरु

राजनीतिक तहबाट चर्को दबाबका कारण हाजिर जमानीमा छुटे उच्च घरानिया जुवाडेहरु


काठमाडौं ।
कोरोना संक्रमण न्यूनीकरणका निम्ति सरकारले सामाजिक दूरी कायम गराउन जारी गरेको लकडाउनका समयमा जुवाखालबाट ९ जना ठूला व्यापारी रङ्गेहात पक्राउ परेका छन् । सोमबार राति कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको भए पनि प्रहरीले सबै जनालाई हाजिर जमानीमा छोडेको छ ।

कोरोनाको संक्रमण हुन सक्ने कारण देखाएर उनीहरुलाई राति आफ्नो घरमा सुत्न पठाउने र दिउसो प्रहरी कार्यालयमा हाजिर हुन आउने भनिए पनि राजनीतिक तहबाट चर्को दबाबका कारण थुनामा नराखिएको स्रोत जनायो । पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनी लगायत उद्योग व्यवसायमा संलग्न रहेको हुँदा उनीहरुको राजनीतिक पहुँच मन्त्री, प्रधानमन्त्रीसम्म रहेकाले राजनीतिक दबाबका आधारमा प्रहरीले थुनामा राख्न नसकेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार जुवाडे व्यापारी छुटाउन बहालवाला र भूतपूर्व प्रहरीका उच्च अधिकारीहरूसमेत हात धोएर लागेका थिए । व्यक्ति सम्बन्धका आधारमा पक्राउ परेका जुवाडे व्यापारीलाई छुटाउन उनीहरुले विभिन्न तिकडम गरेका थिए । प्रहरीले जुवाको खालबाट २ लाख ७७ हजार रुपैंयाँ नगद बरामद गरेको जनाएको छ ।

साथै १ हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरेको उल्लेख छ । स्रोतले भन्यो– ‘जुवामा प्रयोग भएका क्वाइन र चिप्सको मूल्यांकन सयमा होइन १० हजार रुपैयाँमा गरिएको हुन सक्छ । अर्बौंपति व्यापारीको खालमा १००, ५० खेल हुँदैन १ हजार रुपैयाँको क्वाइनलाई ५० हजार वा लाखमा गणना गरिएको हुन सक्छ । त्यसका लागि सूक्ष्म अनुसन्धानको खाँचो छ ।’

जुवाको खाल चलेको सूचनाका आधारमा प्रहरीले छापा मारेपछि उच्च घरानियाँ व्यापारी रहेको रहस्य खुलेपछि प्रहरीलाई घटनालाई सामान्यकरण गर्न गाह्रो परेको छ ।नेपाल समाचारपत्रबाट

Logo