मोदीलाई नारायणकाजीको सुझावदेखि नेपाली फर्काउने कार्ययोजनासम्म (भिडियोसहित)

मोदीलाई नारायणकाजीको सुझावदेखि नेपाली फर्काउने कार्ययोजनासम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये राष्ट्रिय सभा सांसद एवं नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथको आशीर्वाद लिएर सच्चिन आग्रह गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै प्रवक्ता श्रेष्ठले सो आग्रह गरेका हुन् । भारतीय प्रधानमन्त्री मोदी आत्धात्मिक स्वभावको भएकाले पशुपतिनाथ र मुक्तिनाथसँग आराधना गरी सत्यको मार्गमा हिँड्न उनको सुझाव छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले पुर्नकर्जालाई थप व्यवस्थित बनाउने भएको छ । पुर्नकर्जा सुविधालाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकले पुर्नकर्जा कार्यविधिको मस्यौदा तयार गरेको हो । राष्ट्र बैंकले तयार गरेको कार्यविधिमा पुर्नकर्जालाई तीन वर्गमा वर्गीकरण गरिएको छ ।

सरकारले उद्योगीहरुलाई कुनै सहयोग नगरीे लकडाउन मात्र बढाउँदा सबैभन्दा बढी समस्या अर्थतन्त्रमा पर्नेे व्यवसायीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लकडाउन मात्रै बढाउने तर उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाउँदा अर्थतन्त्रमा असर पर्ने बताएका हुन् ।

त्यस्तैगरी अमेरिकाको उत्तरी राज्य मिनिसोटाको मिनियापोलिस सहरमा प्रहरीले एक अश्वेत व्यक्तिलाई पक्राउ गर्ने क्रममा अत्यधिक बल प्रयोग गर्दा ज्यान गएपछि विरोध सुरु भएको छ । पक्राउ परेका अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसाले उग्ररुप लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सरकारले कोभिड–१९ बाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउन चाहने नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुंदे विशेष कार्ययोजना तयार पारेको छ । गत जेठ १२ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने नागरिकलाई सुरक्षित रूपमा स्वदेश आउने, क्वारेन्टाइनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने /गराउनेलगायत विषय समेटेर कार्ययोजना तयार पारिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo