काभ्रेका क्वारेन्टाइनहरुमा दैनिक सय जना थपिंदै

काभ्रेका क्वारेन्टाइनहरुमा दैनिक सय जना थपिंदै


काभ्रे ।
एक सातादेखि भारतबाट दैनिक सय जनाको हाराहारीमा काभ्रेका नागरिक जिल्ला फर्किरहेका छन् । उनीहरुलाई स्थानीय क्वारेन्टाइनमा राखिएको छ ।

हालसम्म करिब पाँच सय काभ्रेली भारतबाट आएका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टका सदस्य एवम् जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र झाले भारतबाट पछिल्ला दिनमा दैनिक सय जनाको हाराहारीमा जिल्लावासी आउन थालेको बताए । उनले भने, “अब क्वारेन्टाइन र बेड थप्नुपर्ने देखिन्छ ।” क्वारेन्टाइनमा बसेका तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाको परीक्षण गरिनेछ । सङ्क्रमण नदेखिएकालाई ‘होम क्वारेन्टाइन’ बसाइनेछ ।

कोरोनाको जोखिम बढेदै गएपछि काभ्रेका १३ स्थानीय तहलगायत विभिन्न संघसंस्थामा ३४२ बेडको क्वारेन्टाइन व्यवस्थित गरिएकोमा भारतबाट जिल्ला फर्कन थालेपछि त्यसमा थप गरी ६६५ बनाइएको छ । भारतबाट जिल्ला फर्कने क्रम जारी रहेकाले आवश्यकता अनुसार थप्दै जाने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले बताए । “हजार जना भन्दा बढी जिल्ला बासिन्दा भारतमा बस्दै आएको तथ्याङ्क देखिन्छ, सबै फर्कंदा बेड अपुग हुने हुँदा थप्ने योजना बनाइरहेका छौँ”, उनले भने । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच बेडको आइसोलेसन कक्ष छ ।

पोष्टका अनुसार शुक्रबार ८५, शनिबार ९९, आइतबार ९३ र आज ११८ जिल्ला फर्किएकालाई स्थानीय क्वारेन्टाइनमा राखिएको छ । मजदूरीलगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ जना भारतमा रहेको केन्द्रले जनाएको छ । भारत लगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेका नागरिक रहेको जनाइएको छ ।

गतसाल माघ महिना यता ४५१ विदेशिएका काभ्रेली घर फर्किएका थिए । त्यतिबेला भने २७ देशबाट घर फर्किएका मध्ये भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको थियो । यसैबीच, जिल्लामा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभाव रहेको छ । झाले भने, “आरडीटी किट अभाव भएकाले स्वास्थ्य मन्त्रालय धाइरहेको छु, मन्त्रायले विभाग देखाउँछ विभागले प्रदेश, किट आवश्यकता भइसक्यो आफैं अलमलमा छु ।” उनका अनुसार जिल्लामा आएको २१०० आरडीटी किट सकिएको छ । रासस

Logo