#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1091822852137142912226105635
नेपाल145193191685320

कोरोना जितेकी गर्भवती भन्छिन् : ‘आत्मबल बढाए निको हुन्छ’

भरतपुर ।

सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले कोरोना भाइरसको सङ्क्रमण सामान्य रहेको बताएकी छिन् । पाँच महिनाको गर्भ भएको समयमा कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन् , “कोरोना सङ्क्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।”

आफूलाई कोरोना सङ्क्रमण भएको भान नभएको बताउँदै उनले सङ्क्रमणसमेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताइन् । आफूहरु लकडाउनको समयमा र त्यसअघि पनि खासै कतै नगएको भए पनि कोरोना सङ्क्रमण देखिएर त्यसलाई जित्न सफल भएको उनको भनाइ छ । कोरोना सङ्क्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उनको तर्क थियो । उनले भनिन् “कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन । म गर्भवती हुँदा त तीन÷चार दिनमा नै जाती भएँ । तपाईंहरु पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ ।”

कोरोना सङ्क्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाह बमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुने उनले जानकारी दिइन् । आफूहरु जेठ ९ गते चितवनबाट हेटौंडा घर गएको र १० गते क्वारेन्टाइनमा बसेको समयमा स्वाब परीक्षणका लागि नमूना लिइसकेपछि घर गएको र नतिजा पोजेटिभ आएपछि उपचारका लागि यहाँ आएको उनले बताइन् ।

भरतपुर अस्पतालको सेवा सुविधाबाट आफू सन्तुष्ट रहेको उनको भनाइ थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको नमूना लिइएको एक सातापछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आएपछि उनलाई आइतबार बिदाइ गरिएको हो ।

बिदाइ गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना सङ्क्रमण निको भए पनि थप १४ दिन घरमै सुरक्षित बस्न आग्रह गरे । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत उनले सुझाव दिए ।

सोही अवसरमा अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले गर्भवती भएको समयमा कोरोना देखिए पनि बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे । भरतपुर अस्पतालमा यसअघि पूर्वी चितवनको राप्ती नगरपालिकाका आमा छोरा पनि कोरोना जितेर फर्किसकेका छन् । अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना विशेष अस्पतालमा चार जना सङ्क्रमित राखी उपचार गराइराखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार