#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1091951652138842917266106402
नेपाल145193191685320

वीरगन्जकाे नेशनल मेडिकल कलेजमा डायलसिसमा चरम लापर्बाही : ५ सातामा ७ जनाको मृत्यु

वीरगन्ज ।
पर्साको बहुदरमाई गाउँपालिका–७ भौराटारका २७ वर्षीय कृष्ण ठाकुरले गत वैशाख ३० मा वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा डायलसिस गराए । डायलसिसपछि घर फर्किएका ठाकुरको स्वास्थ्य अचानक बिग्रियो । उनलाई पुनः नेशनलकै आईसीयूमा भर्ना गरियो । अन्ततः जेठ ५ मा उनको मृत्यु भयो ।

सरकारले नारायणी अस्पताललाई लेभल–२ स्तरको कोभिड–१९ अस्पताल घोषणा गरेपछि सरकारकै सिफारिसमा त्यहाँ डायलसिस गराइरहेका बिरामी पनि उपचारका लागि नेशनल जाँदै आएका छन् । कृष्णका भिनाजु सन्तोष ठाकुरका अनुसार नेशनलमा डायलसिस गरेको पहिलो पटकदेखि नै उनको स्वास्थ्य बिग्रिन थालेको थियो । ‘नारायणी अस्पतालमा करिब ४ वर्षसम्म डायलसिस गराउँदा कुनै गम्भीर समस्या आएको थिएन,’ सन्तोषले भने ।

उनका अनुसार नारायणीबाट नेशनलमा डायलसिस गराउन आएका अन्य बिरामीभन्दा २७ वर्षीय कृष्ण तन्दुरुस्त नै थिए । नारायणीमा डायलसिस गराउँदा उनी एक्लै १९ किलोमिटर टाढा रहेको घरबाट वीरगन्ज आइपुग्थे । ‘नेशनलका चिकित्सक यहाँको डायलाइजरको रसायन नारायणीको भन्दा फरक भएकाले समस्या आएको र केही दिनमा बिरामी सुहाउँदो भइहाल्छ भन्थे,’ सन्तोषले भने, ‘तर रसायन बिरामी सुहाउँदो बनाउँदा–बनाउँदै उसको ज्यानै गयो ।’

गत वैशाख ९ मा वीरगन्ज महानगरपालिका–१२ मुर्ली नैयका टोलका ४५ वर्षीय नासरिन बानो श्रीमान् मोहम्मद कलाम शेखलाई साथमा लिएर डायलसिसका लागि नेसनल पुगिन् । ‘डायलसिस गर्दागर्दै अवस्था गम्भीर भएपछि उनलाई आकस्मिक कक्षमा लगियो,’ शेख भन्छन्, ‘आकस्मिक कक्षमा पुर्‍याएको केही समयभित्रै उनको मृत्यु भयो ।’ नारायणीमा डायलसिस गराउँदासम्म श्रीमतीको स्वास्थ्य स्थिर रहेको उनी बताउँछन् ।

नारायणी अस्पतालका अनुसार यहाँ डायलसिस सेवा बन्द भएपछि नेशनल पुगेका ४० जना मिर्गौला रोगीमध्ये ७ जनाको डायलसिस गर्ने क्रममै मृत्यु भएको छ । करिब पाँच साताको बीचमा रौतहटका रञ्जित मण्डल र तैबुन नेशा, वीरगन्जका नागेन्द्र झा र नसरिन बानो, सर्लाही हरिवनका अजय कार्की, बारा देवतालका नन्दलाल महतो र कृष्ण ठाकुरको मृत्यु भएको नारायणी अस्पतालका मिर्गौला विभागका स्वास्थ्यकर्मी नरेन्द्र कुशवाहाले बताए ।

‘नारायणी अस्पतालमा डायलसिस गर्दासम्म सबै बिरामीको स्वास्थ्य स्थिर नै थियो,’ उनले भने, ‘उता गएपछि केही मिलेन होला, त्यसैले ज्यान गएको हुन सक्छ ।’ ७ जनाको मृत्यु भएपछि डायलसिस गर्नुपर्ने अन्य बिरामी पनि सशंकित बनेको उनले बताए । ‘अहिले अरू मिर्गौला रोगीले फोन गरेर अब हामी पनि मर्छौं भन्छन्,’ उनले भने ।कान्तिपुरबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार