#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32793219993972760779624191451
नेपाल706144591828951866

मेगा बैंकले गाभ्ने भयो गण्डकी विकास बैंक, चुक्तापूँजी साढे १३ अर्ब पुग्ने

काठमाडौं ।

मेगा बैंकले गण्डकी विकास बैंकलाई गाभ्ने भएको छ । मेगाले बुधबार विशेष साधारण सभा सम्पन्न गर्दै गण्डकी विकास बैंकलाई एक बराबर एक शेयरको अनुपातमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

मेगाले गत असोजमा गण्डकी विकास बैंकलाई आफूमा गाभ्न सम्झौता गरेको थियो । विशेष साधारणसभाले संयुक्त मर्जर कमिटीले गरेका सम्पूर्ण एक्वायर सम्बन्धी सम्झौताको अनुमोदन गर्दै पूँजी वृद्धि अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको मेगा बैंकले जनाएको छ ।

गण्डकीलाई प्राप्ती गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड पुग्नेछ । बैंकको निक्षेप १ खर्ब २५ अर्ब भन्दा बढी हुनेछ भने कर्जा लगानी १ खर्ब ९ अर्ब नाघ्ने बैंकले जनाएको छ । त्यसैगरी, मेगा बैंकको शाखा संख्या २०६ वटा, एक्सटेन्सन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् भने ग्राहक संख्या करिब ११ लाख हुने बैंकले जनाएको छ ।

त्यस्तै, पोखरामा केन्द्रिय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबार नै विशेष साधारणसभा सम्पन्न गरेको छ । सो साधारण सभाले मेगा बैंकले प्राप्ती गर्न स्वीकृति प्रदान गरेको छ । यस बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ । बैंकका शाखा ९६ वटा रहेका छन् । मेगाले प्राप्ती गरेपछि मेगा बैंकको शाखा सञ्जाल ५८ वटा जिल्लामा फैलिनेछ । देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंक मध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान, कर्जाका आधारमा १२ औं तथा मुनाफाका आधारमा ११ औं स्थानमा रहने बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले बताइन् ।

दुबै बैंकको विशेष साधारण सभाले स्वीकृति दिएपछि मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ती गर्न बाटो खुलेको छ । बैंकले यसै आर्थिक वर्ष भित्रमा गण्डकी विकास बैंकलाई प्राप्ती गरी संयुक्त कारोबार प्रारम्भ गर्नेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार