कतारबाट बाकसमा आएको मित्रलाई सम्झेर....

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २३ बुधबार | प्रकाशित १८:४७:५२
कतारबाट बाकसमा आएको मित्रलाई सम्झेर....

दुर्गा पंगेनी, कतार |

(यो त्यस्तो सत्य घटना हो, जुन विदेशवाट दैनिक रुपमा बाकसमा भरिएर आउँछ । त्यही घटनाको निरन्तरता हो यो आलेख । इमेलमा आफ्ना अफ्ट्याराहरु मित्रलाई सेन्ड गरेर, भेटेर भावना सुनाएर र सांकेतिक रुपमा विदाईको हात हल्लाएर एउटा तन्नेरीले जीवनमा लगाएको दुखद पूर्णबिराम हो यो कथा । कतारको एउटा घरमासँगै बस्ने त्यही मित्रलाई संझेर दुर्गा पंगेनीका आँशुले लेखेका शब्दहरुको संयोजन पनि हो, यो समाचार । सं)

मेरो साथी छ एकजना । मेरो रुम पार्टनर नै भन्दा हुन्छ । पछिल्ला धेरै वर्ष उसंग एउटै घरमा डेरा गरेर बसेको थिएँ म । मेरो डेरा भुँई तल्लामा र उसको डेरा पहिलो तल्लामा थियो । एकदम रमाईलो र चन्चल बानी ब्यहोरा भएको मेरो मित्रलाई मैले कहिल्यै दुखी देखेको थिईन ।

उसको जिवनमा धेरै समस्याहरु थिए, त्यो त म बुझ्दथें । तर उ कस्ता समस्याले घेरीएको छ भनेर विस्तारमा बुझ्ने मौका कहिल्यै मिलेन । उ कहिल्यै निराश नहुने मान्छे हो । हरेक समस्या जन्मदै समाधान पनि साथमै लिएर जन्मन्छ, बस हामीले मेहनत गरेर त्यो समाधान खोज्नु पर्दछ भन्ने गर्दथ्यो उ, जहिले पनि । उसको यो भनाईले मलाई अन्तर्मनमा छोएको थियो ।

पछील्लो समय एउटै घरमा बसेर पनि उसको मेरो भेटघाट र बातचित पातलिदै गईरहेको थियो । मलाई देखेर सधैं मुस्कुराउने किरण घिमिरे अचेल अध्यारो मुख लगाएर अर्को पट्टी फर्कन्छ । फेसबुकमा पटक पटक के भयो भनेर सोध्ने चेष्टा गरें तर उसले जवाफ दिएन ।

एकदिन अचानक उसको म्यासेज आयो ... । तँलाई भन्नै पर्ने एउटा कुरा थियो यार धेरै लामो टाईप गरेंछु फेसबुक म्यासेन्जर बाट गएन ... । धेरै दिन देखी नबोलेको किरणको छोटो म्यासेज ले मलाई उत्साहीत बनायो ।

कमसेकम उसको मनमा कस्तो हुण्डरी चलिरहेछ भन्ने कुरा त बुझ्न पाउने भएँ... । ईमेल गर्दे यार धेरै लामो भएको भए ...! मैले उसलाई आईडीया सुझाएँ । उसले कहीलेकाही पत्रीकामा छपाईदे या ब्लगमा पोष्ट गर्दे भनेर टुक्रा टाक्री पठाईरहन्थ्यो । झ्याप्प याद आयो र ईमेल गर भन्दिएँ । त्यसको केही बेरमा मेलवक्स टुंङ्ग बज्यो र रातो थोप्लो पिल्पिलायो ..। किरणको ईमेल आएछ ..जुन यसप्रकार थियो ।

किरणको इमेल

आजसम्म यस्तो अनुभव भएको थिएन । मलाई माईग्रेन भयो की भन्ने लागीरहेको थियो । तर म निकै डिप्रेस्ट भैसकेको रहेछु । बेला बेला विना कारण रुन मन लाग्ने लगायत पुराना कतिपय साना साना गल्तीहरु संझेर पछुतो पर्ने हुन्थ्यो मलाई । तर आज अचानक मेरो मानसिक संतुलन नै खलबलिएको अनुभव गरिरहेको छु ।

साना साना असफलताहरुमा अत्यन्तै बढी, आवश्यकता भन्दा बढी निरास भएको आभाष भयो । कसैद्वारा हेपीएको अनुभव मात्रले मलाई मरौं मरौं लागेजस्तो महसुस भयो । म निकै डराएँ ! मुटु सिरींग भयो जिउ फतक्क गल्यो र ढाड बाट तल तिर दुबै खुट्टा पिंडुलाको पछाडीको भाग बाट शक्ति क्षिण हुदै गईरहेको अनुभव भयो ।

घरिघरी मैले मर्नु हुदैन भन्ने विचारको झिल्को दिमागमा आएपनि अधीकांश समय म आफै डोरीमा झुण्डीएको दृष्य मेरो मानसपटल मा घुमीरह्यो । म ती दृष्यहरु बाट बच्नको लागी घरी टिभी हेरीरहेछु घरी काममा विजी हुने कोशीष गरिरहेको छु । काममा ब्यस्त हुदा र टिभी हेर्दा अथवा साथी हरुको समुहमा रहदा त्यस्तो मर्ने कल्पना नआए पनि एक्लै हुने वित्तीकै त्यस्तै दृष्य हरु दिमागमा घुमीरहन्छन ।

कतिपय नजानेरै अथवा लहैलहैमा लागेर गरिएका साधारण गल्तीको समेत आफैलाई ठुलो सजाय दिन मन लाग्छ । त्यसमाथी तिनै गल्ती हरु समातेर कसैले पटक पटक मलाइ चिमोटीरहेछन, पटक पटक मलाइ डराउन दिने पाराले तर्साई रहेछन । अनावश्यक तिनै कुरा हरु पटक पटक स्मृतिमा आइरहदा अब म बाँचेर भन्दा मरेर पो मनले शान्ति पाउछ की जस्तो अनुभव भईरहेको छ ।

छोरीहरुको अनुहार संझीन्छु । ठुली छोरीको अनुहारमा हाँसो नपलाउदै देश छोडेर हिडेको हुँ, उसको सुनौलो भविष्यको लागी । अहिले उ १८ वर्ष पुगी उसको विहेवारी पनि गराउनु छ ।

सानी छोरीको अनुहार संझन्छु अनी उनीहरुको लागी मैले अझै केही त गर्नै पर्छ । उनीहरु अझै आशावादी छन्र, म प्रति जस्तो लाग्छ र म अझै बाच्नु पर्छ भन्ने सानों झिल्को फेरी मेरो दिमागमा झिलीक्क देखा पर्छ । केही बेरको लागी मेरो दिमाग बाट मर्ने खयालहरु धुमील भएर जान्छन् ।

कामको समय अत्यन्तै ब्यस्त हुनुपर्छ । कति सुनसान र डरलाग्दो छ मेरो अफिस पनि । सयौं मान्छे काम गर्ने ठाउँ हो तर फ्लोरमा मान्छे हिडेका जुत्ताको आवाज बाहेक केही सुनिदैन ।

कुनै अफीसको नजीक पुग्दा कम्प्युटरको किवोर्डमा बेत्तोडले दौडीरहेका औंलाहरुको आवाज मात्र सुनिन्छ । कसैलाई कसैको मुखमा हेरेर बोल्ने फुर्सद सम्म छैन यो ठाउमा । गुड मार्निंगको जवाफ पनि कति छोटो दिन्छन मान्छे हरु । खिसिक्क हास्छन, अलिकति मुन्टो निहुर्याए जस्तो देखिन्छ त्यतिमै पर आफ्नो च्याम्बर तिर अलप भैसक्छ मान्छे । किन यति हतार मान्छे हरुलाई ?

साथि अगाडी पर्छ, म उसको अनुहारमा हेरेर मुसुक्क हास्ने प्रयत्न गर्छु । तर उ रफ्तारमा कतै गईरहेको हुन्छ । मलाई हेरेर हास्न समेत भ्याउदैन सायद । मलाई फेरी पिर पर्न सुरु हुन्छ ! आखीर किन हासेन त्यो केटो मलाई हेरेर ? म त मुस्कुराएको थिएँ ! त्यो मेरो भ्रम मात्र हुन सक्छ । उ हाँसेर पनि मैले देखीन अथवा म आफै मुस्कुराएको पो थिईन की ? यस्तै दोधारे मनस्थीती ले मलाई निकै पिडा दिन्छ । खाना खाने बेला त्यो साथि संग रिसाउछु ।

तँ ठुलो भईस भनेर कराउछु । उसले उ हतारमा हुँदा म हासेको समेत नदेखेको बताउछ र माफ माग्छ । मलाई फेरी पछुतो पर्छ । बेकारमा त्यो साथि संग रिसाएकोमा अपराध बोध हुन्छ र जिन्दगी देखी नै वाक्क लाग्न थाल्छ ।

हिजो स्ट्रिट ब्रिज बाट तल बाटोमा नियालेर समय बिताउछु भनेर गएको बाटोमा बेतोड दौडिरहेका गाडी हरु हेर्दा यस्तो लाग्यो मानौ तिनीहरुलाई पछाडिबाट कुनै प्रलयले लाखेटिरहेछ या कुनै कालले खेदिरहेछ । कहाँ पुग्न कुदेका होलान त्यसरी ? अन्तिममा पुग्ने ठाउँ त यौटै होइन र ? फेरी मरेर पुग्ने ठाउँको तर्कना पलायो मेरो मनमा, म आत्तिएँ, त्यहा पनि धेरै बेर बस्न सकिन र अर्डर गरिसकेको कफी छोडेर फर्कें ।

घर आएर गुगलमा एकजना मनोचिकित्सकको लेख पढें ।

म मा देखिएको लक्षण अति नराम्रो हो यसलाई सुसाईडर हुनु भन्छन, चरम डिप्रेसन भनेर लेखिएको थियो । त्यो पढेपछि म झन् आत्तिएँ । मैले त मर्नु हुदैन यार, मेरो अवश्था तलाई थाहा छदैछ । म अहिले मरें भने ..उफ.. साह्रै एक्लै भएँ यार तँ आइज न आज मैले एक बोतल बार्डीनेट ल्याएको छु संगै बसेर खाइदिम भोलि जे त होला देखा जाला ।

उत्तिसाह्रो रक्सी नखाने किरणले निराश हुँदै रक्सी खान बोलायो । केटो किन यसरी आत्तिएको होला ? मेरो मनमा प्रश्नका चाङ्गहरु थिए । तुरुन्तै उ नजिक पुग्न मन लाग्यो मलाइ ।

उसको साथमा बसेर उसले ल्याएको मदिरा पिउदै उसलाई सान्त्वना दिन मन लाग्यो र म पुगें किरण को कोठामा । तर म धेरै समय त्यहाँ बिताउन सक्ने अवस्थामा पनि थिईन ।

दिनभरिको कामको बोझले लखतरान थिएँ । आजै राती सक्काएर भोली पेश गर्नेपर्ने केही नयाँ प्रपोजलहरु थाँती थिए । एकछिनमा भेटघाट सक्काएर फर्कन्छु भन्ने मनसाय बनाएर उसको दैलो उघारें । उसले रक्सी खाइरहेको थियो, काम बाँकी रहेको कारण मैले संगै रक्सी खान सकिँन ।

प्रत्यक्ष भेट्दा उसलाई निकै गालि गरें, कराएँ । परदेशको ठाउँ परिवार सबै तेरो भरोषामा छन्, कसरि तेरो मनमा मर्ने कुरा पलायो ? यस्तो पनि सोच्छन ? घर परिवार र छोराछोरी सम्झन पर्दैन ? भनेर सम्झाएँ । तत्क्षण नै किरण को हाउभाउ फेरियो, जोडले हास्दै आफु ठिक रहेको बतायो । अझ अगाडी किरण भन्दै गयो घरीघरी ब्रम्हनाल संझन्छु । मान्छेका जिवनका अन्तिम पलहरु संझन्छु ।

बुढेसकाल संझन्छु । मेरो उमेर नै कति भएको छ र मेरो मनमा मृत्युका कुराहरु आईरहेछन ! जम्मा ४० वर्ष लागें । मेरै उमेरको एकजना मान्छे भर्खरै फ्रान्सको राष्ट्रपति निर्वाचित भयो । उसकी श्रीमती उ भन्दा झण्डै २५ वर्ष जेठी छन रे । विचित्र विचित्रका मान्छे देख्न पाईन्छ यो संसारमा ।

आफ्नै उमेरको त्यो मान्छेको कथा संझेर मन तरंगित हुन्छ । संसारमा यस्ता धेरै कुराहरु छन्, जुन कुरा देख्न या महसुस गर्नैको लागी पनि म मर्नु हुदैन । मेरो मन बाट मर्ने रहरको पारो घट्दै गईरहेको अनुभव हुन्छ । र, छाती सितलो भएर आउँछ । आज डाक्टरलाइ भेटेर आएपछि मन हलुका हुँदै गईरहेछ । अब म मर्दिन ।

म ल्यापटप ओच्छ्यान मै छाडेर कतिबेला निदाएँ पत्तै पाइन । ब्युँझदा उज्यालो भईसकेको रहेछ । अचानक पहिलो तल्लाको सफाई कर्मचारी भाइ अगाडी देखा पर्यो । र, बेत्तोड़ले दौडदै माथिल्लो तलातिर गयो ।

मान्छेहरुको कल्यांगकुलुंग आवाज हल्लाखोरमा परिणत हुदै गयो । त्यत्तिकैमा कोही चिच्यायो ..पुलिसलाइ फोन गर पुलिसलाइ...! मैले बाहिर निस्केर हेर्ने हिम्मत जुटाउन सकिन । मेरा पनि हात गोडा फतक्क गलेर शक्ति क्षिण हुदै गईरहेको आभाष भयो ।

लेखकः दुर्गा पंगेनी

fasttrack
धेरै पढिएको