सन्दर्भ नारीदिवस : दिवसमै सिमित नहोस नारीदिवस !

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २३ बुधबार | प्रकाशित २१:१४:४१
सन्दर्भ नारीदिवस : दिवसमै सिमित नहोस नारीदिवस !

काठमाडौँ
ज्ञानमणि नेपाल कालोटोपी

अन्र्तराष्ट्रिय स्तरमै नारीदिवस मनाउन थालिएको पनि १०८ वर्ष भईसकेछ । विश्वका विभिन्न राष्ट्रहरुले झैं पछिल्ला वर्षहरुमा नेपालले पनि नारी दिवसलाई मनाउन थालेको धेरै भईसक्यो । ८ मार्चलाई नारीदिवसको रुपमा विश्वले मनाउन थालेको प्रायः सबैलाई थाहा छ । यस दिन सबै जसो संघसंस्था, व्यक्ति तथा देशका उच्च ओहदामा आशिन व्यक्तित्वहरुले नारीहरुलाई शुभकामना दिने गरेका छन् । मानौं यो फेशन नै भईसकेको छ पछिल्ला दिनहरुमा ।

विश्वले झैं नेपालले पनि यस वर्षको नारी दिवस मनाउँदै छ । यो दिवसलाई निरन्तरता दिनु रामै्र कुरा हो । तर पछिल्ला दिनहरुमा नेपालमा महिलाहरु माथी भईरहेका र हुने गरेका शारिरीक, मानसिक तथा घरेलु हिंशालाई केलाउने हो भने यहाँका नारीहरुले यो दिनलाई केवल दिवसको रुपमा मात्र मनाउँदै आएको हो कि भन्ने अनुमान लगाउन गाह्रो छैन । कतै दाइजोको निहुँमा महिलालाई यातना दिइएको छ त कतै परिवारले भने जसरी बिहे गर्न नमानेको भन्दै परिवारबाटै जिउँदै जलाइएका घटनाहरु हामीले सुन्दै आएका छौं । २ वर्ष पहिले प्रेम प्रस्ताव नमानेको भन्दै राजधानीमै २ युवतीलाई एसिड खन्याएर युवकहरु फरार भएको यथार्थ हामीले विर्सेका छैनौं । अझ अचम्मको कुरा त आफ्नै बाबु तथा हजुरबा नाता पर्नेहरुले छोरी तथा नातिनीहरुलाई बलात्कार गर्ने गरेको जस्ता हामीले सोच्नै नसक्ने खालका विषयहरु सुन्नु पर्दा नेपाल जस्तो देशमा महिलाहरुले के भविष्यको कल्पना गर्न सक्लान् जस्तो आभास हामी सबैमा हुने गरेको छ । हिजोआज यस्ता घटनाहरु नसुनिएको कुनै दिन नै छैन भन्दा पनि हुन्छ । यो हाम्रो लागि त नराम्रो कुरा हो नै अझ विश्वमा पनि नेपालको बदनाम गर्ने विषय पनि हो ।

महिलाहरु बलात्कार हुनु, विभिन्न बहानामा उनीहरुको हत्या हुनु तथा परापूर्वकाल देखिकै मान्यताका रुपमा उनीहरुलाई समाजले अर्कै दर्जाको नागरिकका रुपमा हेर्नु जस्ता विषयहरु आधुनिक समयको समाजका लागि परिवर्तनको बाधक मात्र होइनन् कलंक पनि हुन् । यहाँ पुरुषले महिलाहरुलाई दबाएर राख्नुलाई अहिले पनि सामान्य रुपमै लिनु पर्ने अवस्था एकातिर छ भने अर्का तिर महिलाले पनि महिलालाई नै सताएर विभिन्न लान्छना लगाइने गरिएको पनि हामीले देखे सुनेकै छौं । यो पक्कै पनि राम्रो कुरा होइन । एकातिर हामी आधुनिक र परिवर्तित देशको परिकल्पना गरिरहेका छौं भने अर्कातिर पुरातनवादी संस्कृतिको जगेर्ना गर्ने परिपाटीको पनि पछि दगुर्दै छौं । यसले अहिलेको यूवा जमातलाई कतातिर लाग्ने भन्ने भ्रम पनि श्रृजना गरिरहेको छ । पूराना कुरालाई मान्नुलाई नराम्रो भन्न खोजिएको पक्कै होइन । बरु पुराना विषय भित्र रहेका विकृतिहरुलाई हटाएर आवश्यक कुराहरुलाई मात्र अहिलेको पुस्ताले अवलम्बन गनुपर्ने टड्कारो आवश्यकतालाई औंल्याइएको भने पक्कै पनि अनुमान लगाउन सकिन्छ ।
कुरा नारी दिवसकै गरौं । विगत केहि महिना देखि विभिन्न संघसंस्थासँग आबद्ध महिलाहरुले महिलाहरु माथि हुने गरेका अपहरण, बलात्कार, हत्या तथा शारीरिक र मानसिक हिंशालाई पूर्णरुपमा अन्त्य हुनु पर्ने माग सहित विभिन्न मन्त्रालय र संस्थाहरुमा धाइरहेका छन् । सम्पूर्ण देश भरिका महिला यस्ता समस्याबाट पीडित हुदै आईरहेको भएपनि माग राखेर मन्त्रालय धाउने महिलाहरुको संख्या एकदमै न्यून रहेको देखिन्छ । हुन त सबै महिलाहरु मन्त्रालय जान सम्भव पनि छैन, भन्न खोजिएको कुरा यो हो कि जहाँका महिला पीडित भएका छन् त्यहाँ पनि उनीहरुले आवाज उठाएका छैनन् । बरु यस्ता हिंशाहरुलाई दबाएरै लुकाएर राख्ने गरेका छन् । यसले हिंशा गर्नेहरुलाई अझ प्रशय दिइरहेको देखिन्छ ।

त्यति मात्र होइन, खुलेआम रुपमा हिडेका महिला हिंश्रकहरुलाई राज्यले पनि कार्वाहिको दायरामा ल्याउन सकेको देखिंदैन । महिनौं देखि आवाज उठाईरहे पनि उनीहरुको आवाजलाई सरकारले सुन्दै सुनेको छैन । राज्यले नै सुन्दैन भने अरुले त यसमा चासो राख्ने कुरा पनि भएन । अनि राज्यले वर्ष भरि अनेक बाहानामा यातना पाईरहेका महिलाहरुलाई एक दिन शुभकामना दिनुको के अर्थ रहन्छ र ? अव उनीहरुलाई शुभकामना होइन, वास्तवमै न्याय र इमान्दारिताको वकालत गर्ने सरकारको खाँचो छ । सबै तहबाट विशेषरुपमा प्राथमिकतामा राख्ने हो भने एकदिन हामीले सोचेको जस्तो समाज र देशको निर्माण गर्न सकिएला तर यो दिनको अझ लामो प्रतिक्षा गर्नु पर्ने तितो यथार्थ हामीले बुझेकै छौं ।

हामी नारामा महिलाहरुलाई सबैले हेपिएको र दवाईएको कुरा गर्छौं । तर यति सोच्दैनौं कि मैले पनि महिलाहरुलाई कुनै बहानामा हिंशामा पारेको त छैन ! यस्ता कुरामा आफ्नो घर भित्रै महिलाहरुलाई बन्देज गर्ने ले अरु महिलाहरुको पक्षमा वकालत गर्न खोज्नु राम्रो कुरा त होइन नै तर पनि सबैलाई चेतना जगाउन प्रयास गर्नु आफैंमा एउटा राम्रो कामको शुरुवात भने पक्कै पनि हुन सक्छ । निष्कर्षमा हामी यो भन्न सक्छौं कि कुनै पनि दिवस मनाउने मात्र होइन त्यो दिवस मनाए पछि के उपलब्धि हासिल भयो भन्ने तिर लाग्नु पनि आवश्यक छ । यो हाम्रो कर्तव्य पनि हो । दिवस त वर्षै पिच्छे मनाएकै थियौं । दिवसलाई दिवसको रुपमा मात्र नभएर सार्थक र उपलब्धि मुलक बनाउन सक्यौं भने प्रत्येक वर्ष मनाउने नारीदिवस जस्तै अन्य दिवसको पनि महत्व झल्केला ! जव सम्म महिलाहरुमा हुने विभिन्न बाहानाका हिंशाहरुमा कमी आउँदैन तव सम्म एक दिन दिवस मनाउनुको पनि औचित्य छैन । यस वर्षको नारी दिवस पनि नाम मात्रकै जस्तो नहोस् , उपलब्धीमुलक पनि होस् । नारीदिवसको शुभकामना छ ।

 

ज्ञानमणि नेपाल कालोटोपी

[email protected]

fasttrack
धेरै पढिएको