प्रधानन्यायाधीश पराजुलीका ४ विकल्प

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७४ फाल्गुन २९ मंगलवार | प्रकाशित १७:५३:१६
प्रधानन्यायाधीश पराजुलीका ४ विकल्प

दिवस गुरागाईं/काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध २८ फागुनमा न्यायाधीश चोलेन्द्रशम्शेर जवरा उत्रिएपछि न्याय क्षेत्रमा भुकम्प सुरु भएको छ । जन्म मितिका आधारमा पराजुलीले गत साउन २१ मा नै अवकास पाइसक्नुपर्ने भन्दै जवराले इजलास वहिष्कार गरेपछि त्यसको पराकम्प भुकम्पभन्दा ठूलो हुँदै गइरहेका छन् ।

दोस्रो दिन न्यायाधीश चोलेन्द्रशम्शेर जवरा वाहेकका न्यायाधीशलाई राखेर प्रधानन्यायाधीश पराजुलीले इजलास तोके । तर, समस्या झनै जटिल बन्यो । चोलेन्द्र मात्र होइन थप ८ न्यायाधीशले राणाकै पदचाप पछ्याए । अर्थात बहिष्कार गर्नेमा ८ न्यायाधीश थपिए ।

न्यायाधीशहरु दिपकराज जोशी, प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हा इजलास गएनन् । उनीहरुको कदमलाई बहिष्कार मानिएको छ ।

सच्चाइयो भनिएको जन्म मितिलाई आधार मान्दा पनि प्रधानन्यायाधीश पराजुलीको पद वैशाख दोस्रो सातासम्मलाई मात्र हो । यदि उनले जन्म मिति नसुधारेको भए न्यायाधीशवाटै विदा हुनुपर्ने तथ्य न्यायाधीश चोलेन्द्र शम्शेरले सार्वजनिक गरिसकेका छन् ।

उनको जन्म मिति विवाद यतिवेला उत्कर्षमा पुगेको छ । कान्तिपुर पब्लिकेसन र डा. गोविन्द केसी विरुद्ध अपहेलना मुद्धामा पेशी तोकिएपछि पराजुली विवादको चुलीमा पुगेका हुन् ।

प्रश्न सुरु भएको छ, प्रधानन्यायाधीश पराजुलीले अब के गर्छन् ? उनीसँग खासगरी ४ वटा विकल्प मात्र बाँकी छन् –

यी हुन् ४ बिकल्प –

१. इजलास वहिष्कारमा संलग्न न्यायाधीशलाई कारवाही गरेर अघि बढ्नेः
पहिलो दिन चोलेन्द्र शम्शेर जवरा मात्र थिए, इजलास बहिष्कार गर्ने न्यायाधीश । तर दोस्रो दिन ८ जना थपिएका छन् । जे भएपनि उनीहरु सवैलाई कारवाही गरेर अघि बढ्ने पराजुलीको पहिलो विकल्प हो । सकेर सर्वोच्चलाई अघि बढाए भने पराजुली कै जीत भएको मानिने छ । पराजुलीले यो किनपनि सक्छन् भने उनको पक्षमा पनि उत्तिकै न्यायाधीशहरु सक्रिय रहेका छन् । डटेर बस्नु उनको पहिलो बिकल्प हो ।

२. सम्भावित महाअभियोगको ‘फेस’ गर्नेः
विभिन्न किसिमका विवादमा परिरहेका प्रधानन्यायाधीश माथि महाअभियोग लाग्यो भनेपनि त्यसमा अचम्म नमाने हुन्छ । वरिष्ठ वकिलहरु भन्न थालेकाछन् –‘सर्वोच्चको यस्तो रबैयाप्रति संसद आकर्षित भइसक्यो ।’ अर्थात अवको समाधान संसदले दिन्छ ।

३. विवाद समाधानार्थ आफैं विदामा बस्नेः
माथिका दुई विकल्पहरु उनकालागी टाउको दुखाईको विषय हुन् भने उनले विदा बसेर समस्यालाई टारिदिन सक्छन् । यो उनी र न्यायालयवीचको ‘सेफल्याण्डिङ’ गराउने बिकल्प बन्न सक्छ ।

४. राजीनामा दिएर बाटो तताउँनेः
८/८ जना न्यायाधीशले इजलास बहिष्कार गर्नु भनेको प्रधानन्यायाधीशको कमाण्ड सकिएको जनाउ पनि हो । नैतिक रुपमा पराजुली संकटमा फसिसकेका छन् । यसको सामना गरेर बस्नुभन्दा चुपचाप बाटो लाग्नु बुद्धिमानी निर्णय हुन सक्छ । पत्रपत्रिकामा सधैं नकारात्मक समाचार र सामाजिक सञ्जालको गाली बेइजतीदेखि सम्भावित महाअभियोगको पासोमा किन पर्ने भन्ने हिसावमा राजीनामा सवैभन्दा उत्तम बिकल्प हुन सक्छ ।

fasttrack
धेरै पढिएको