कञ्चनपुरको बाराकुण्डा नमूना पर्यटकीय क्षेत्र बन्दै

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख १४ शुक्रबार | प्रकाशित १८:०५:२५
कञ्चनपुरको बाराकुण्डा नमूना पर्यटकीय क्षेत्र बन्दै

महेन्द्रनगर । रौटेला ब्रह्मदेव धार्मिक जैविक पर्यटकीय मार्ग निर्माणसँगै बाराकुण्डालाई नमूना पर्यटकीय क्षेत्र बनाउन थालिएको छ । रौटेला र विष्णु मन्दिर साकेतधाम बिचमा पर्ने बाराकुण्डाका १२ कुण्डलाई गुरु योजना बनाएर पर्यटकीय क्षेत्र बनाउन लागिएको छ ।

पूर्णागिरीका दर्शनार्थीलाई बाराकुण्डका कुण्डमा पुगाउने लक्ष्य सहित गुरु योजना बनाउने कार्य अघि सारिएको हो । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा गुरु योजना बनाएर धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागेको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बाराकण्डको धार्मिक, पर्यटकीय र साँस्कृतिक महत्वलाई मध्यनजर गरी नमूना पर्यटकीय क्षेत्र बनाउन लागिएको बताए । ‘पूरानो बैजनाथ मन्दिर र विष्णु मन्दिर साकेतधाम बिचको क्षेत्रमा महत्वपूर्ण १२ कुण्ड छन्, जसको धार्मिक र साँस्कृतिक महत्व छ’ नगर प्रमुख विष्टले भने, ‘यसलाई नमूना धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य लिएका छौ, त्यसका लागि अहिले गुरु योजना निर्माण भई रहेको छ ।’

भीमदत्त नगरपालिकाले बाराकुण्डालाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन रौटेला ब्रह्मदेब जैविक मार्ग निर्माण गरिरहेको छ । जैविक मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बाराकुण्डाको पर्यटकीय विकासका लागि भीमदत्त नगरपालिका, राष्ट्रपति चुरे तराई मधेस विकास संरक्षण समिति र भीनपा–१ वडा कार्यालयले सहकार्य गरेका छन् । यसमा नगरपालिकाबाट ३० लाख, राष्ट्रपति चुरेको ७० लाख र वडा कार्यालयको ५ लाख बजेट विनियोजन गरिएको छ ।

बाराकुण्डका सबै तालको सफाई, झाडी कटान, तालमा पुरिएको माटो हटाउने, पर्खाल निर्माण र तालमा माटो आउने स्थानमा जैविक बाँध बनाउने लगायतका कार्यक्रम गरिने चुरे संरक्षण सञ्जालका अध्यक्ष रबिन्द्र कुँबरले बताए । ‘यो ठाउँलाई पर्यटकीय क्षेत्र बनाउन वर्षौैदेखि माग गर्दै आएका थियौ, यस पटक मेयरसापले यसलाई प्राथमिकता दिनुभयो’ अध्यक्ष कुँबरले भने, ‘बजेट विनियोजन गरिएको छ, गुरु योजनाबन्र्दैछ, अब त्यसै आधारमा काम अघि बढ्छ ।’

बाराकुण्डामा सिताराम, सिद्ध बैजनाथ, नाउला, त्रिशुल, गौरा, तुमडी, सुन, सानो, गोलो, लामो, गैरे र जामुन कुण्ड छन् । यी कुण्डमध्ये १२ महिना पानी हुने सिताराम कुण्ड सबैभन्दा ठूलो हो । सिद्ध बैजनाथ तालमा पनि बाह्रै महिना पानी हुने गर्छ । ‘यी सबै कुण्डमा बाह्रै महिना पानी हुने गरी विकास गर्न गई रहेका छौ,’ चुरे संरक्षण सञ्जालका अध्यक्ष कुँबरले भने ।

नगरपालिकाले विष्णु मन्दिर र रौटेला छुट्याउने तुमडी खोलामा पिकनिक स्थल निर्माणको योजना बनाएको छ । यसैगरी विष्णु मन्दिरको प्रचारप्रसारका लागि होर्डिङ्ग बोर्ड लगायतका प्रचार सामग्री राखिने छन् । दुई दशक अघिसम्म बाराकुण्डाका सबै तालमा बाह्रै महिना पानी हुने गरेको स्थानीय बताउँछन् । चुरे विनाशका कारण कुण्ड पुरिएर बेसरम झाडी भएका छन् ।

 

fasttrack
धेरै पढिएको