मोदीको देवत्वकरण पछिको पछुतो

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख २१ शुक्रबार | प्रकाशित १३:४२:२६
मोदीको देवत्वकरण पछिको पछुतो

समय समयमा नेपालमा व्यक्ति विशेषको देवत्वकरण हुँदै आइरहेको छ । प्रजातन्त्रको उदय अगाडि राजपरिवार र सत्तामा रहेका भारदारहरुको त्यसरी नै जय जयकार हुने गरेको थियो।

व्यक्तिको आचरण या उसको व्यक्तित्वलाई आवश्यकता भन्दा बढी बढाई चढाई गरेर प्रस्तुत गर्नु र जुनसुकै कामको लागि उ मात्र निर्विकल्प व्यक्ति हो भनेर प्रमाणित गर्नको लागि उसको देवात्वकरण गर्ने परम्परा राणा कालमा निकै मौलाएको थियो ।

प्रजातन्त्रको उदय पछि पनि देशको राजा अथवा भविश्यको राजा युवराजधिराज अथवा राजपरिवारका सदस्यहरुको त्यसरी बढाई चढाई गर्ने परम्परा थियो । त्यो समयमा व्यक्ति विशेषको देवत्वकरण गर्नु त्यति सजिलो र तुरुन्तै हुने काम पनि थिएन ।

त्यसैले राजपरिवारका सदस्यहरुको बारेमा विद्यालय स्तरमा पढाइ हुने पाठ्यपुस्तकहरुमै राजा या युवराजधिराजहरुको बारेमा उनीहरु भगवानको अवतार हुन् अथवा उनीहरुमा अलौकिक शक्ति रहेको छ भनेर पढाइ हुने गरेको थियो ।

त्यसरी सानै उमेर देखि कुनै व्यक्ति विशेषको बारेमा एकोरोहो पढेपछि उसको बारेमा बालबच्चाको दिमागमा परेको छाप अमिट जस्तै भएर रहन जान्थ्यो । हामिहरुको पुरानो पाठ्यक्रम अन्तर्गतको ‘महेंद्रमाला’ लगायत ‘श्रीमान गम्भिर नेपाली’ भन्ने राष्ट्रगान समेत व्यक्ति विशेषको देवत्वकरण गर्नेकै लागि पाठ्यक्रममा समावेस गराइएको थियो ।

सामाजिक सञ्जालको उदयसँगै सत्तामा रहने या शासक वर्गको मात्र नभई आम मान्छेहरुको पनि देवत्वकरण सुरु भएको देख्न सकिन्छ । त्यहि अनुपातमा कसैको वास्तविकता नबुझी अमुक व्यक्तिको दानवत्वकरण गर्ने परम्परा झन् मौलाउदै गईरहेको छ ।

माओवादी जनयुद्द लगत्तै तत्कालिन जनयुद्दका मुख्य योजनाकार मानिएका राम बहादुर थापा बादलको बारेमा पत्रपत्रिकाहरुले लेखेको भ्रामक समाचार र लेखहरु अझै भेटिन सक्छन कतै कतै ।

उनलाई वास्तवमै युद्दमा पारङ्गत र वास्तविक योद्दामात्र नभएर कुशल राजनेता हुनसक्ने मान्छे हुन् समेत भनेर लेखिन्थ्यो। तर जति जति समय बित्दै गयो बादल धर्तीमा उत्रदै गए र उनको वास्तविकता पनि जनमानसमा जे हो त्यहि देखिदै गयो ।

दोश्रो जनआन्दोलन पश्चात खास गरी डा. बाबुराम भट्टराइ अर्थमन्त्री भएदेखि उनि प्रधानमन्त्री हुने समय सम्म भट्टराइलार्इ नेपाली राजनीतिको भगवान नै घोषणा गर्ने हुन् कि जस्तो उनको बारेमा बढाई चढाईहरु भए । तर जसै उनि प्रधानमन्त्री भए उनीप्रतिको जनविश्वाश घट्दै गयो र संविधान घोष्णा सँगसँगै जसै उनी माओवादीबाट अलग्गिए । तत्पश्चात उनको दोहोलो काढ्न सामाजिक सञ्जालले कुनै कसर बाँकी राखेन ।

त्यसरी नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पत्रकार रवी लामिछाने लगायत व्यक्तित्वहरुको आवश्यक वा अनावश्यक देवत्वकरण भईरहेको देख्न पाइन्छ बेलाबेलामा ।

एउटा समय थियो जतिबेला नरेन्द्र मोदी पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको यसरी देवत्वकरण गरे यति उच्चस्थानमा पुर्‍याए कि त्यो बेलामा मोदीको एउटा आलोचना सम्म सहनगर्न सकेनन ।

मोदीले नेपाली सदनमा नेपाली भाषामा गरेको सम्बोधन । उनले आफ्नो सुरक्षाको ख्याल नगरेरै सर्वसाधारणसँग गरेको साक्षात्कार। उनले घोषणा गरेको सहयोग लगायत उनले नेपाल ल्याएर हस्तान्तरण गरेको आफ्नो धर्म सन्तानकोबारेमा सामाजिक सञ्जाल प्रयोगकर्ताले मात्र होइन मुलधारका मीडियाहरुले समेत खुलेर प्रसंशा मात्र गरेनन । मोदीसँग तुलना गर्दै हाम्रा नेताहरुको भरपुर आलोचना समेत गरे।

मोदीले भोली रंग फेर्न सक्छन अथवा उनको वास्तविकता अहिले देखिए जस्तो नहुन सक्छ त्यसै कारणले पनि अहिले यसरी हाम्रा नेता खराब र मोदी मात्र ठिक भनेर धेरै देवत्वकरण नगरौं भन्ने स्टाटस फेसबुकमा लेख्दा मात्र सयौं गालीहरु त्यो स्टाटसको तल ओईरिएर आए। त्यसरी मोदीलाई सिमित रुपमा मात्र विश्वास गर्नुपर्छ भन्ने मान्यता राख्नेहरु सामाजिक सञ्जालमा अर्घेलो भएको धेरै समय भएको छैन ।

हुन त राजनीति भनेको स्थीर नीति होइन । एउटा छिमेकीले अर्को छिमेकीसँग गर्ने व्यवहार समय अनुकुल परिवर्तन पनि हुन्छ भन्नेकुरा मान्न सकिन्छ । मोदीले पनि आफ्नो राष्ट्रहितमा जे ठीक हुन्छ त्यहि गर्ने हुन् ।

पहिला सुरुवाति समयमा नेपाल प्रति सदासयता देखाउँदा उनलाई फाइदा थियो र देखाए तर जब नेपालमा संविधानसभा मार्फत जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने समय आयो मोदीले नेपालप्रति देखाएको सदासयताले पनि पल्टी खायो ।

उनले अघोषित रुपमा हामीलाई नाकावन्दी लगाए । भारतले लगाएको नाकावन्दीको असरले सिंगो राष्ट्रको अर्थतन्त्रमा अथवा स्थायीत्वमा कस्तो प्रभाव पार्यो त्यो अध्ययनको विषय होला तर उनले लगाएको नाकावन्दी अनि संविधान निर्माणमा उनले गरेको हस्तक्षेपले मोदीलाई एउटा खलनायकको रुपमा स्थापित गरेको छ आम नेपाली जनताको मनमा ।

इन्टरनेटको गति जति छिटो छ त्यो भन्दा छिटो मान्छेको मनस्थितिको गति छ । जुनसुकै कृयाको तुरुन्तै प्रतिक्रिया जनाईहाल्नु त्यति उचित हुदैन । हरेक कुराको सुक्ष्म अध्यन पश्चात मात्र त्यो कुराको समर्थन या विरोध के गर्ने भन्ने मान्यता बनाउनु उपयुक्त हुन्छ ।

त्यसको विपरित अहिले नरेन्द्र मोदीको आशन्न नेपाल भ्रमणलार्इ लिएर सामाजिक सञ्जालमा धेरै नै विरोधका स्वरहरु देखिईरहेका छन् । उनलाई गर्ने भनिएको नागरिक अभिनन्दनको त जनस्तरबाट खुलेर विरोध भएको छ ।

हिजो कुनै हाइड्रो प्रोजेक्ट बनाइदिने घोषणा गर्दा उनको जयजयकार गर्न तम्सिने नेपालीहरु अब उनका अभिव्यक्ति प्रति ससंकित हुँदै गईरहेका छन् । समग्रमा भन्नुपर्दा हिजो नरेन्द्र मोदीको जयजकार गरेर उनको देवत्वकरण गरेका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु अहिले पछुताइरहेका छन् ।

मोदीले सोझै जनकपुरबाट भ्रमण सुरु गर्नु केन्द्र सरकारलाई भन्दा त्यो प्रदेशलाई बढी महत्व दिनु हो । दुई नंबर प्रदेशभित्र भविष्यमा हुनसक्ने भारतीय हस्तक्षेपको कुटनैतिक सुरुवात हो । यो-भविष्यमा दुई नंबर प्रदेशको बजेट समेत दिल्लीबाटै तर्जुमा हुन थाल्यो भने आश्चर्य नमाने हुन्छ।

“रोटीबेटी” र “भैया भैया” को सम्वन्ध देखाउदै दुई नंबर प्रदेशलाई भोलीको कश्मीर बनाउन कुनै कसर बाँकी राख्ने छैनन मोदीले । सिके राउत र नरेन्द्र मोदीको ‘कुल घराना’ मात्र मिल्दैन उनीहरुको अभिष्ट पनि एउटै छ । तसर्थ मोदीसंग सजग होऔं उनको अनावश्यक देवत्वकरण नगरौं । नेपालको लागी उनीभित्र दानवीय चरित्र नै लुकेको छ त्यसको बेलैमा पहिचान गरौं ।

दुर्गा पंगेनी

 

धेरै पढिएको