smart doko

मोदीलाई किन स्वागत नगर्ने ?

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख २८ शुक्रबार | प्रकाशित १५:३५:०२
मोदीलाई किन स्वागत नगर्ने ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका छन् । मोदीलाई नेपाल सरकारले धुमधामले स्वागत गरिरहेका छन् भने आम सर्वसाधारणले सत्तोसराप गरिरहेका छन् । मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मेरा भाई’साब’ भन्दै चिल्लो घसिरहेका छन् भने नेपालीहरुले भने ‘ओलीको सक्कली राष्ट्रबाद’ भन्दै गालीगलौच गरिरहेका छन् । ओली र मोदीलाई तल्लोस्तरको गालीगलौचले सामाजिक सञ्जालहरु भरिएका छन् ।

नाकाबन्दीले रन्थनिएका नेपालीहरु मोदीलाई स्वागत होईन घृणा गरिरहेका छन् । सरकारले गर्न लागेको अभिनन्दन, सार्वजनिक बिदा र मुस्ताङ आवतजावतमा लगाइएको रोक लगायतका विषयमा सरकारको चर्काे बिरोध भैरहेको छ । अचम्म त के छ भने कुनै बेला भारतले गरेको नाकाबन्दीसमेत स्विकार्न नसक्नेहरु समेत यतिबेला नाकाबन्दीमै टेको लगाएर सरकारको बिरोध गर्न नेतृत्व गरिरहेका छन् ।

यो बिरोध नाजायज हुँदै होईन किनकी भूकम्पले आक्रान्त नेपालीमाथि मोदीकै आदेशमा लामो नाकाबन्दी लगाइएको थियो । नाकाबन्दीका कारण सडकदेखि अस्पतालमा समेत नेपालीहरु छट्पटाएका थिए । अत्यावश्यक खाना पकाउने ग्याँसदेखि औषधि समेत रोकेका थिए । यति मात्रै होईन अन्तराष्ट्रिय फोरमहरुमा समेत उनले नेपालको बिरोध गरेका थिए । यति मात्रै होईन केही देशहरुलाई त प्रभावमा पारेरै नेपालको संविधानमा असन्तुष्टीको बिज्ञप्ति निकाल्न लगाएका थिए । तसर्थ चिर्चिराएको घाउँमा नुनचुक दल्ने मोदीलाई यति ठूलो सम्मान दिनु हुँदैन भन्ने आक्रोश अस्वभाविक हुँदै होईन । मोदीले त्यतिबेला नेपालीमाथि ठूलो बज्रपात गरेकै हो । आप्mनो बलबुत्ताले भ्याएसम्मको तागत निकालेर उनले नेपाललाई पेलेकै हुन् । उनको फेसबुकमा कमेन्ट गर्ने नेपालीलाई समेत छानी छानी ब्लक गरेकै हुन् ।

यद्यपि भावनात्मक कुराले ब्यक्तिगत सम्वन्ध त चल्दैन भने देश चल्ने कुरै भएन । बिरोध गर्नेहरु आशयलाई आधार मानेर मोदीको तिरस्कार गर्न मिल्छ ? कुन चाहि देशले आफ्नो मुलुकमा आउन लागेको छिमेकी मुलुकको प्रमुखलाई यसरी तिरस्कार गर्छ ? तिरस्कार गरेर हामीलाई के फाइदा हुन्छ ? आफ्नो रिस मार्नलाई मात्रै तिरस्कार गर्ने हो ? बिकल्पबिनाको बिरोधको के अर्थ ? जहाँसम्म नागरिक अभिनन्दको कुरा छ त्यो भने सहय होइन । किनकी मोदीलाई नागरिक अभिनन्दन गर्ने समय अलि भएको छैन । 

भावनाको कुरा एक ठाउँमा छदैछ तर ब्यवहार अर्काेतिर छ । सुरुमा जे जस्तो गल्ती गरे पनि नेपालीहरु नडग्मगाएपछि अन्ततः मोदी झुक्न बाध्य भए । पछि अनेकन नाटक रचेर सुरक्षित अवतरण गरे । त्यतिबेला नै मोदीले एक किसिमको हार ब्यहोरिसकेका थिए । उनले नेपालीहरुको राष्ट्रप्रेम र भारतप्रतिको दृष्टिकोण राम्रैसँग बुझिसकेका थिए । त्यसो त उनले पछि पटक पटक सम्बन्ध सुधार्न चाहेको अभिब्यक्ति दिँदै आए । यो नै उनको पश्चाताप हो ।

यसको मतलब जे हुनु भयो अब ति सबै कुरा भुलेर मोदीलम्पत बन्नुपर्छ भन्न खोजिएको होईन । हामी खुकुरी होईन अचानो हौ तसर्थ अचानोको ब्यथा हामीलाई मात्रै थाहा छ जुन सयौ जुनीभर मेटिदैन । र त्यसो भन्दैमा जुनीभर मोदीलाई सरापेर मात्रै पनि देश चल्दैन । तसर्थ मोदीको मिस्टेकलाई मनमा राख्दै सम्वन्धलाई सुधार्नु अबको आवश्यकता हो । इख साटेर देश बन्दैन । एकले अर्काेलाई ध्वस्त बनाउने चेतावनी दिएका, ब्यक्तिगत रुपमा समेत तल्लोस्तरको गाली गलोचमा उत्रेका र क्षेप्यास्त्र प्रहार गर्न तम्तयार उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिका त अहिले मिलापत्र गर्न लागि सके ।

‘गोलीको रिस गोलीले मात्रै फेर्न सकिन्छ भन्ने हुन्न, बोलीले पनि त्यो भन्दा ठूलो रिस फेर्न सकिन्छ ।’ हो, अब यही मान्यतालाई आत्मसाथ गर्न जरुरी छ । हामीले कुनै पनि देशसँग निहु खोजेर वा रिस फेरेर केही हुँदैन । बरु अब कसरी कुन तरिकाबाट हुन्छ नाकाबन्दीको आततायी पीडा बुझाउनेतिर लाग्नुपर्छ । भाषणमा ब्यंग्यवाण हानेर हुन्छ कि साँकेतिक बिरोध गरेर हुन्छ कि अथवा अन्य केही सिर्जनात्मक क्रियाकलाप गरेर हुन्छ मोदीलाई भित्तामा पुग्नेगरी दनक दिनुपर्छ । तर आन्दोलन गरेर, गोली पड्काएर अथवा हिंसा मच्चाएर बिरोध जनाउनु असभ्यताको प्रतिक हो । हामी आफै बुद्ध जन्मेको शान्तिभूमि नेपाल भनेर गर्व गर्छाै अनि फेरि आएको पाहुनालाई अनेकन तुच्छ ब्यवहार गर्न तम्सिन्छौ । यो सही हुन्न ।

एउटा छिमेकी मुलुकको प्रमुख आउनु एकदमै राम्रो कुरा हो । यतिबेला मोदीले पनि सम्बन्ध सुधार चाहिरहेका छन् । हामीले आगो बालेर उनीबिरुद्ध आन्दोलन गरिरहन जरुरी छैन । नेपालीहरु उनलाई देखि सहदैनन् भन्ने बुझेर नै उनलाई मनको बाघले खाईसकेको छ । त्यसैको परिणमस्वरुप महिना दिनअघि नै आफ्नो गुप्तचर निकायलाई नेपाल पठाएर तयारी थालेका हुन् । उसो भए अब गर्ने के त ? यो नेपालका लागि कुरा राख्ने सुवर्ण मौका हो । यतिबेला नेपालका नेतृत्वले आँट गर्न सक्नुपर्छ । मोदीले सम्बन्ध सुधार चाहिरहेका बखत नेपालले पनि उसले गरि राखेको अत्याचारहरु निर्धक्क राख्न सक्नुपर्छ ।

बिशेषतः सिमा क्षेत्रमा एसएसबीले मच्चाउने आतंक, सिमा मिच्याईको कुरा जोडतोडकासाथ उठाउन सक्नुपर्छ । त्यस्तै विगतमा भएका असमान सन्धी सम्झौताहरुलाई खारेज तथा परिवर्तनका लागि प्रस्ताव राख्नुपर्छ । यसका अलावा नेपालको ब्यवसायीक क्षेत्रमा भारतले गर्दै आएको अवरोध र हष्तक्षेप हटाउन पहल थाल्नुपर्छ । उसले ल्याएको हरेक प्रस्तावहरुमा आप्mनो कुरा थप गरेर मात्रै अघि बढ्नुपर्छ । मोदीको जनकपुर एक्सप्रेसप्रति थप चनाखो हुनुपर्ने देखाएको छ ।

दुई चार पैसा सहयोग गर्ने उसको गुलियो प्रलोभनमा भुलेर राष्ट्रहित बिपरितका कुराहरुमा सम्झौता गर्नु हुँदैन । देश हाँक्ने भनेर गएपछि ब्यक्तिगत लोभलालच र डरमा अल्झेर प्रस्ताव राख्न र उसको प्रस्ताव नकार्न वा संशोधन गर्न थर्थर काम्छ भने त्यो हाम्रो सरकारको कमजोरी हो । मोदीलाई सम्मान दिए पनि केही फरक पर्दैन किनकी बैगुणीलाई गुणले मार्नुपर्छ । तर हामीले गुणले मार्न खोज्दा उनले त्यसको फाइदा उठाउन सक्छ त्यसबाट भने चनाखो रहनुपर्छ ।

अर्काे महत्वपूर्ण कुरा के हो भने प्रदेश नम्वर २ को राजनीतिक परिवेश अलि भिन्दै छ । त्यसकारण पनि केन्द्रिय सरकारले उक्त प्रदेशको वाच गर्नुपर्छ । बिकासका नाममा साँचो नै बुझाउने काम भएको छ, यसले राम्रो गर्दैन । अहिले बिकासका नाममा सुम्पिएको साचो पछि देश बेचेर दिएको साँचो सरह नहोस ।

अतः मोदीको यो भ्रमण निकै अर्थपूर्ण छ । हामीले यसको बिरोध होईन फाइदा उठाउँन सक्नुपर्छ । पाहुनाको बिरोध गर्नुभन्दा बरु सरकारलाई दबाब दिन जरुरी छ ।

rbalami2008@gmail.com

fasttrack
धेरै पढिएको