ओ मूख्यमन्त्री, तिम्रो प्रधानमन्त्री मोदी कि ओली ?

ताजा अपडेट
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख २८ शुक्रबार | प्रकाशित १८:५६:५८
ओ मूख्यमन्त्री, तिम्रो प्रधानमन्त्री मोदी कि ओली ?

श्रीमान मूख्यमन्त्री ज्यू
प्रदेश नं २

मूख्यमन्त्री महोदय, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरबाट नेपाल भ्रमणको प्रारम्भ गरेपछि दुई नम्बर प्रदेश उत्साहित हुनु अस्वभाविक होइन । छिमेकी प्रधानमन्त्री, दक्षिण एसियाकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री र भावनात्मक रुपमा नजिक रहेको देशको प्रधानमन्त्रीले आफ्नो प्रदेशबाट भ्रमणको सुरुवात गर्दा खुसी ब्यक्त गर्नुलाई जो कोहीले स्वभाविक नै माने ।

त्यसवापत तपाईंले १ सय २१ केजीका ३ वटा माला लगाइदिनुभयो । दुई नम्बरका जनतालाई घर अगाडि कलस घडा राख्नै पर्ने उर्दी छर्नुभयो । नागरिक अभिनन्दन कार्यक्रममा जनकपुरदेखि विहारसम्मका जनता भेला गर्नुभयो । न्वारनदेखिको बल र बुद्धि निकालेर स्वागत र सुरक्षाका नाममा सवै हथकण्डा अपनाएर देखाउनुभयो । यतिसम्मलाई पनि स्वभाविक नै मानियो ।

तर जब भारतीय प्रधानमन्त्रीको अगाडि उभिएर तपाईंले देशको पोल खोल्नु भयो, त्यो चाहिं कुनै पनि हालतमा स्वभाविक थिएन । मूख्यमन्त्री ज्यू, तपाईंले देशद्रोही मन्तब्य राख्नु भयो । के विदेशी प्रधानमन्त्रीलाई देशको पोललगाउन जरुरी थियो ? के भारतीय प्रधानमन्त्रीले तपाईंको माग पुरा गरिदिन्छन् ? के देशभित्र निर्णय गर्ने हैसियत तपाईं विदेशीलाई दिन चाहानुहुन्छ ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा तपाईंले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको उल्लेख गर्नुभयो । यसको अर्थ र महत्व के हो ? तपाईंले जनतालाई जवाफ दिनै पर्छ । ‘हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ’ भनेर अर्को हरफ सुनाउनुभयो ।

राज्यको विभेदकारी नीतिका कारण मधेस अझै आर्थिक रुपमा पिछडिएको पनि तपाईले मोदीलाई सुनाउनु भयो । यसो भनिरहँदा तपाईंले मुलुकलाई बुझ्न नसकेको प्रष्ट हुन्छ । के तपाईं ६ नम्बर अर्थात कर्णाली प्रदेश जानु भएको छ ? नगएपनि सुन्नु भएको छ ? कर्णाली जत्तिको दयनीय अवस्थामा २ नम्बरको छैन । यो यथार्थबाट भागेर पोल लगाउनुको अर्थ छैन, मूख्यमन्त्री महोदय । कर्णालीका ५० प्रतिशतभन्दा बढी जनता अहिले पनि दुई छाक अघाउँजी खान पाउँदैनन् । यति सामान्य खवरको जानकारी छैन भने कृपया सवैभन्दा पहिला अलिकति अध्ययन गर्ने वानी बसाल्नु होला ।

तपाईंले जसरी सामान्य परिवारको भएर पनि महामहिमज्यू भारतको सर्वोच्च पदमा विराजमान हुनुहन्छ, त्यस्तो हामीकहाँ पनि होस् भनेर मोदीसँग अपेक्षा राखिरहँदा आफू मूख्यमन्त्री भएको विर्सनु भयो ? के तपाईं असामान्य परिवारबाट आउनुभएको हो ? अहिले मधेशको नेतृत्व तपाईंको हातमा छ । अवको ५ बर्षमा मधेसलाई कहाँ पुर्‍याउनु हुन्छ, जनता र राष्ट्रले ध्यान दिएर हेर्नेछ । कुरा गर्नजति काम गर्न सजिलो छैन भनेर तपाईंले बुझ्नु हुनेछ ।

मोदीको अभिनन्दनका क्रममा केही सहभागीले स्वतन्त्र मधेसको ब्यानर प्रदर्शन गरेका थिए । त्यो दृश्य तपाईंकै अगाडिका हुन् । तर, तिनलाई तपाईंले कुनै कारवाही गर्नुभएन । स्रोतका कुरा पत्याउने हो भने यो पनि तपाईंकै डिजाइन थियो । आखिर तपाईंको भित्री इच्छा के हो ? जनतालाई स्पष्ट पार्नुहोला । किनभने तपाईंको हिम्मत थियो भने चुनावमा यो एजेण्डा उठाउन सक्नुपर्थो । तपाईंहरु जति नै रोएपनि जनताले तपाईंहरुलाई मात्र मत दिएका छैनन् भनेर बुझ्नु होला ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १ सय करोड रुपैयाँ मधेसकालागी घोषणा गरेपछि तपाईं अझ हौसिनु भएको होला । तपाईंलाई कति थाहा छ कुन्नी, भारतले हस्ताक्षर गरेका १५ वटा काम अझै पेण्डिङमा छन् । सबै अधुरा र अपुरा छन् । भुकम्पको बेला घोषणा गरिएको १ सय करोड रुपैयाँ अझैसम्म आइपुगेको छैन भन्ने जानकारी केन्द्र सरकारबाट लिनु होला ।

त्यसैले धेरैपछि भेटिएको बाऊलाई हाँप र झाँप गरेर घरको कुरा सुनाए जसरी विदेशी प्रधानमन्त्रीका अगाडि नलुटपुटिनु होला । मूख्यमन्त्री भएर मूख्यमन्त्री जस्तो छाती फुलाएर प्रस्तुत हुनुहोला, विदेशीसँग । केन्द्रीय मन्त्रीहरुलाई आफ्नो प्रदेशमा सम्मान दिनुहोला । सम्मान गर्नेले मात्रै मानसम्मान पाउँछ भन्ने सामान्य सिद्धान्त बुझ्नु होला । एउटा मागले जाडो जाँदैन भन्ने हेक्का राख्नुहोला ।

अन्त्यमा, देश भित्रको समस्या विदेशी सरकार प्रमुखलाई हौसिएर नसुनाउनु होला । कृपया मर्यादाको ख्याल राख्नुहोला । जनकपुरमा तपाईंले हिन्दीमा भारतीय प्रधानमन्त्रीलाई पोल लगाइरहेकोवेला तपाईंको प्रधानमन्त्री ओली कि मोदी भनेर धेरै झुक्किा छन् । मलाई पनि तपाईंलाई भेटेर आँखामा आँखा जुधाउँदै, चोरी औंला ठड्याएर सोध्न मन छ, ओ मूख्यमन्त्री, तिम्रो प्रधानमन्त्री मोदी कि ओली ?

तपाईंले नचिनेको सञ्चारकर्मी
दिवस गुरागाईं
सुन्धारा, काठमाडौं ।

 

धेरै पढिएको