smart doko

श्रीमान बनेर अमेरिका पुगेका बिनोद दाईको तितोसत्य

ताजा अपडेट
Patan Strip
Patan Path Lab
केन्द्रबिन्दु
२०७५ बैशाख २९ शनिबार | प्रकाशित १३:२५:५८
श्रीमान बनेर  अमेरिका पुगेका बिनोद दाईको तितोसत्य

बिनोद दाई, हुनेखाने परिवारका पढेलेखेका छोरा । मधेसमा राम्रै जायजेथा भएका मान्छे हुन् । घरको आयस्ता राम्रै भएको कारण उनी सुखमै हुर्किए । रुपन्देहीको राम्रै स्कुलबाट एसएलसी पास गरेपछि क्याम्पस पढ्न काठमाण्डौ आएका बिनोद पढाइमा यतिबिधि मग्न भए कि बिस्तार गरेर साध्य छैन ।

पढाइ सकियो, निकै ईमान्दार बिनोदले जागिर पनि खाए । तर कुनै निश्चित जागिरमा उनी अडिएर काम गर्न सकेनन । उनी आफ्नो लागि केहि राम्रो र स्थाई जागिरको खोजीमा थिए । त्रिभुवन विश्वविद्यालयबाट दुइ/दुइ बिषयमा मास्टर्स उपाधि हासिल गरिसकेका बिनोददाइको सानोतिनो जागिरमा मन अडिएको थिएन । हेर्दा हेर्दै उमेरले तीस बर्षको नेटो काटिसकेको थियो ।

लोकसेवा लड्ने र सरकारी अधिकृत हुने उनको सानैदेखिको रहर थियो त्यसैले एक चाङ्ग किताव किनेर लोकसेवाको तयारी थालेका बिनोदलाई एनजीओबाट समेत जागीरको अफर आएको थियो । सरकारी जागिर भनेको  सरकारी नै हो निजि क्षेत्रतिर जान उनको मनले पटक्कै मानेन ।

त्यति धेरै मेहनत गरेर पढ्दा पनि तीस बर्षको उमेरमा उनी पहिलो पटक लोकसेवा फेल भए। एकतिस र बत्तीस बर्षमा एक-एक पटक फेरि उनको नाम निस्केन । तेश्रोपटक लोकसेवा फेल हुँदा बिनोद दाइमा हल्का नैराश्यता बढेको थियो ।

गम्भीर अध्यनको लागि उनले आफैलाई घरभित्र बन्द गरेका थिए । उनको पढाइमा बाधा नपरोस् भनेर साथीहरु पनि उनलाई खासै डिस्टर्व गर्दैनथे ।  यसरी घरमै बन्द भएर बसेको कारणले होला उनका दाह्री हल्का फुल्न थालेका थिए ।

लोकसेवामा नाम निस्कने छाँटकाँट देखेनन् उनले । सायद बिनोद दाई यहि कुरालाई लिएर निराश थिए । यसै बसेर मात्र त भएन भन्ने सोचेर घरमै केटाकेटीलाई ट्युसन पढाउन थाले उनी ।

ट्युसन पढाइको सुरुवातसंगै अलि ताजा संसारमा प्रवेश गरेका बिनोद दाईको संगत नयाँ पुस्ताका केटाकेटीहरुसंग बढ्दै गयो । केटाकेटीले उनलाई फेसबुकमा खोज्न थाले । बिनोददाइले आफ्ना बिद्यार्थी पुस्तासंग अट्याच हुनको लागि पनि फेसबुक त खोल्नै पर्ने भयो ।

अनि बिनोददाईको अधिकांश समय फेसबुकमा बित्न थाल्यो । लोकसेवाको पढाइबाट मन भरिएको थियो । केहि समय ट्युसन पढ्ने केटाकेटीलाई दिएपछि उनी सामाजीक संजालमा ब्यस्त हुन्थे । हेर्दा हेर्दै बिनोददाईमा सकारात्मक परिवर्तनहरु आउन थाले । सधैं निराश भएर बसिरहने बिनोद अब सफाचट दाह्री काटेर फेसबुकमा फोटोहरु अपलोड गर्न थाले ।

फेसबुकमा पुराना साथीहरु खोज्ने क्रममा धेरै साथीहरु भेटीए उनका । कोही सहपाठी कोहि समकक्षी र कोहि बिछोडिएका हितैसीहरु समेत यहि संसारमा भेट्दा उनमा उत्साह थपिंदै गयो ।

 

खास काम केहि थिएन, बिहान यौटा र बेलुकी यौटा गरेर दुई समुहलाइ ट्युसन दियो केटाकेटी दुइ समूहमा गरेर तीस जना जति थिए दुई तीन घन्टाको ट्युसनबाट बिनोद पचास साठी हजार कमाउथे । उनलाई सबै खर्च चलेकै थियो । राम्रोसंग केटाकेटीलाई सम्झाई बुझाइ गरेर पढाउने भएको कारण त्यो टोलका ट्युसन पढ्ने केटाकेटी अन्त जान छोडेका थिए । बिनोद दाईमाथि केटाकेटीहरुको लगाव बढ्दै थियो ।

त्यत्तिकैमा आफ्ना पुराना साथी फेसबुकमा खोज्दै जाँदा उनले राम्रोसंग चिनेकी एकजना दिदिलाई फेसबुकमा भेटे । सावित्रा दिदि । स्याङ्गजा तिरबाट तराई बसाई झरेका सावित्रा दिदिहरु मणिग्राममा बिनोददाइका छिमेकी थिए । उनीहरु केहि बर्ष बिनोद दाईकै छिमेकमा बसेर चितवनतिर पुनः बसाई सरेका थिए ।

बालापनको त्यो स्मृति ताजा भएर आयो । कहाँ थिईन सावित्री दिदि आजसम्म । ओहो ! पहिले भन्दा निकै राम्री भईछन । बिनोद अहिले तेत्तिस बर्ष हाराहारी भए आफु भन्दा झन्डै आठ दस बर्ष जेठी सावित्री दिदि कति राम्री अनि कति फ्रेश ।

उनलाई सावित्री दिदिसंग बोल्न मन लाग्यो । हुन त नाता पर्ने अथवा नजिकको साईनो केहि थिएन । उनीहरु छिमेकी थिए, त्यो पनि बिनोद सात आठ बर्षको केटाकेटी हुँदा सावित्री दिदि सत्र अठार बर्षकी तरुनी थिईन । फेरि एक दुइ बर्षमै छिमेक छुटेको कारण बिनोदको दिमागमा सावित्रा दिदीको धमिलो स्मृति मात्र बाँकी थियो ।

के भनेर बोलाउं ? नबोलेसम्म बिनोदको मनले मानेन र उनले साबित्रिलाई फ्रेन्ड रिक्वेष्ट पठाए ।

कुराकानी हुँदै गयो । सावित्री दिदि त अमेरिका पुगिसकेकी रहिछन । कुरै कुरामा सावित्री दिदीले बिनोदजी भनेर सम्बोधन गर्न थालीन । बिनोदले पनि सावित्राजी भन्न थाले ।  उमेर केहि फरक भएपनि उनीहरु बिचमा भावनात्मक मित्रता मौलाउदै जान थाल्यो ।  त्यत्तिकैमा एकदिन सावित्राले भावुक हुँदै आफ्नो रामकहानी बिनोदलाई सुनाईन  –मेरो त ‘म्यारिड लाईफ अन्सक्सेस’ भयो.. लामो टिकेन ...!

यति राम्री श्रीमतीसंगको बैबाहिक जिन्दगी टिकाउन नसक्ने कस्तो मान्छेसंग बिहे गरिछन सावित्रा दिदीले । बिनोद दाईलाइ पर्नु पिर पर्यो । एकदिन सावित्राले बेलिबिस्तार लगाईन । छोराछोरी तिन वटा छन् जेठो छोरो हो बाबु, अहिले बाईस बर्षको भयो अनि दुइटा नानी सत्र र उन्नाइस बर्षका छन् ।

ओहो, तीनवटा छोराछोरी हुँदा पनि सावित्री दिदि यति राम्री ! बिनोद अचम्म परेर रहस्यको भवसागरमा छिर्दै गए । सावित्रा दिदि आफ्नो रामकहानी सुनाउदै गईन ।

चितवनमै मेरो बिहे भयो, बिहेको केहि महिना सम्बन्धहरु राम्रै रहे त्यसपछि श्रीमानले रक्सी खाने कुट्ने गर्न थाले । उनी बाहिर अरु आइमाईसंग लहसिने र मलाई घरमा हेला गर्ने गर्न थाले । बिहेको पांच बर्षमा तीन वटा नानी बाबु भएर पनि उनमा कुनै सुधार आएन ।

 

सावित्रा अगाडि भन्दै गईन- अनि मैले आफै केहि गर्नुपर्छ भन्ने सोचेर बाहिर निस्कने प्रयास गरें । अहिले अमेरिकामा छु । बाबुनानी तिन वटा छन् ठुला भईसके । बिनोद दाइले अनुमान लगाए सावित्री दिदि चालिस बर्ष भईसकिन होला, दुःख पनि निकै पाईछन् तर अहिलसम्म पनि कति राम्री ...!

यत्तिकै साधारण कुराहरु हुँदा हुँदै सावित्री दिदीले बिनोदसंग भनिन – बरु तिमीले विदेश जाने सोच बनाएका छैनौ बिनोद ? कि अमेरिका आउछौ र ? यसरी सावित्रा दिदीले बिनोद दाइको मनमा जहाज चढेर अमेरिका हान्निने सपनाको बिजारोपण गरिदिएकी थिइन् ।

कुरै कुरामा सावित्राले बिनोदको मनमा अर्को सपनाको बिजारोपण गराईन- सुन न बिनोद, मेरा त बाबुनानी ठूला भईसके अब आफ्नो आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् । मेरो पनि उमेर खासै धेरै त भएको छैन । म पनि अब बिहे गरम कि भन्ने सोचिरहेकी छु ।

बिनोद अचम्म परे । आफ्नो उमेर सम्झीए बल्ल बत्तीस-तेत्तिस बर्ष ! सावित्रा दिदि चालिस बर्ष ! आठ बर्ष जेठो केटो भए त सजिलै उनले सावित्रालाई बिहेको प्रस्ताव गर्दा हुन तर आफु आठ बर्ष कान्छा छन् । एक्लै कितावसंग मात्र संगत गरेर बसिरहदा र लगातार लोकसेवा फेल हुँदा आजित भएका बिनोदलाई पनि अमेरिका जाने रहर नभएको त कहाँ हो र । तर उनले सोझै 'हजुरलाई म बिहे गर्छु सावित्रा जी' भन्न सकेनन ।

उनीहरु हरेक प्रकारका समस्या र अवस्थाहरुको बारेमा कुरा गर्थे । बिनोद पनि ब्यबहारिक मान्छे नै हुन् । हामी दुइले बिहे गरौँ बिनोद ! यो प्रस्ताव सावित्राले नै राखेकी हुन् । आफुभन्दा उमेरमा परिपक्व, संसार सुख दु:ख बुझेकी, मायाको अभाव झेलिरहेकी र आफुले सानैमा चिनिसकेकी सावित्राको त्यो प्रस्ताव त्यति हठात् पनि थिएन । यस बिषयमा उनीहरुले अगाडि पनि केहि सल्लाह त गरेकै थिए ।

बिनोददाईलाई साथीहरु यतै बिदेशी प्रोजेक्टमा काम गर्न पनि सुझाई रहेका थिए । यौटा प्रोजेक्टमा त झन्डै उनले 'साइन' समेत गर्न आँटेका । प्रोजेक्टको जागिर, झन्डै सत्तरी हजार तलव, घरभाडा सुबिधा अलग्गै, यातायात खर्च भनेर समेत पैसा पाईने । ट्युसनबाट पचास-साठी हजार आम्दानी हुने –नेपालमै बिनोद एक डेढ लाख कमाउने हुन लागिसकेका थिए । तर सावित्राले उनलाई रोकिन, त्यसो हुन पाएन ।

म आउदै छु के बाबु, अब दशैमा बिहे गरेर तिमी अमेरिका आउने, अनि यहि काम गरौला – म तिमि बाहेक अब एक्लै बस्न सक्दिन । यसरी रोकिएका थिए बिनोद दाई जागिर खानबाट ।

सावित्रा अमेरिकाबाट नेपाल आइपुगिन् । उनीहरुले खुसुक्क बिहे गरे । साबित्राको घर-माइतीतिर पनि यो कुराको चर्चासम्म भएन । सावित्रा आइ रे, बिहे गरि रे आफु भन्दा कान्छो केटासंग भन्ने हल्का चर्चा भयो तर अमेरिकाको बसाई चितवनको सम्पत्ति अनि साबित्राको आधुनिकताको कारण उनको बिहेको कुरा सहज रुपमै लिए उनका आफन्तले । पहिलेको लोग्नेसंगको सम्बन्ध कानुनी रुपमै बिच्छेद भैसकेको थियो ।

 

यता बिनोद दाइको घरतिर भने बबण्डर मच्चियो । आमाले झुण्डिएर मर्छु भनेर रुन थालीन, बा ले तेरो मेरो सम्बन्ध सकियो भनेर घोषणा गरे । काठमाडौमा एक्लै बसेर एकलकांटे भैसकेका बिनोदले सबित्रालाई घर समेत लगेनन । उनका नातागोता टाढिए, आफूभन्दा जेठी, बुढी आइमाई बिहे गर्यो भनेर उनको बदनाम समेत भयो, मुखिया बाको ईज्जत बिनोद दाइले माटोमै मिलाए ।

अब बिनोदको नाम कागजपत्रमा चढाएर सावित्रा अमेरिका फर्कीईन । त्यसको एक बर्षमा बिनोद अमेरिका उडे । सपनाको सहरमा सुनौलो जिन्दगीको वास्तविकता खोज्दै बिनोद लसएन्जलस उत्रिए ।  

अमेरिका बसाईको सुरुवाती समय ठिकै भएर बित्यो । भर्खर बिहे गरेकी श्रीमती । लगभग आफु जत्रै छोराछोरी । विदेशको बसाई कस्तो कस्तो रुटिनमा बाधिएको हुने । नेपालमा जस्तो फुक्काफाल भएर हिड्न नपाइने । नेपालमा भए आज टाउको दुखेको छ भनेर पढ्न आएका केटाकेटी फर्काए पनि फरक पर्थेन तर अमेरीकामा त्यसो नहुने ।

बिनोद अमेरिका पुगेको दुइ चार दिनपछि सावित्राले ओछ्यानबाटै भनिन, बाबु प्लिज कफी बनाएर ल्याउन, संगै बसेर खाम । हुन त काठमाण्डौमा पनि बिनोद आफ्नो लागि आफै कफी बनाएरै पिएका मान्छे हुन् तर यहा श्रीमतीले कफी बनाउ भन्दा कस्तो कस्तो लाग्यो, फेरि पनि भर्खर बिहे गरेकी श्रीमती यति साह्रो माया गर्छिन जाबो कफी बनाएर खुवाउने कुरा त कुन ठूलो बिषय भयो र । उनले कफी बनाएर खुवाए ।

त्यसको केहि दिनपछि ठूलो छोराले “अंकल मलाइ पनि कफी बनाएर दिनु न” भनेर माग्यो, कताकता नरमाइलो लाग्यो बिनोदलाई । आँफु हेपिदै गएको लघुताभासले उनलाई मर्माहत बनायो ।

त्यसको केहि दिनपछि छोरीहरुले समेत बिहानको कफी मागे, अहिले बिनोद दाइको काम बिहान उठेर हतार हतार सावित्रालाई कफी बनाएर टक्र्याउने र छोराछोरीलाई नास्ता तयार भएको जानकारी दिने हुन आएको छ ।

बिनोदले घर सम्झन्छन, भाइबैनीलाई काम अह्राएरै उनको बालापन बितेको हो ।  आमाले कहिल्यै यताको सिन्को उता सार्न लगाईनन, उनकी आमा पुरुषले घरायसी काम गर्न हुदैन ।  यदि गराएमा महिलालाई पाप लाग्छ भन्ने मनस्थिति भएकी महिला थिईन । बिनोदका बा मुखिया थिए ।

अस्ति सावित्रा हतार हतार कतै जादै थिईन, जादा जादै उनले भनिन बाबु (?) मैले आज लुगा मेसिनमा हाल्न बिर्षेछु, वाशरुममा मेरा केहि लुगाहरु छन् त्यसलाई एकछिन मेसिनमा घुमाएर ड्राई गरेर राख्देउ ल, म फर्केर आइरन् गर्छु ! सावित्राले अति माया गर्दा बिनोदलाइ ‘बाबु’ भन्छिन र त्यहि बाबु भने सम्बोधनमा बिनोदले संसार भरिको प्रेम भेट्छन।

सावित्रालाई नाइँ भन्ने हैसियत बिनोदको थिएन । बाथरुममा हेरे, सावित्राका अन्तरवस्त्रहरु पानीमा भिजेर घिनलाग्दा भएका थिए उनले नधोई धर पाएनन् । उनीभित्र भित्रै कटक्क दुखे, एक्लै आमालाई सम्झेर तुरुक्क आँशु चुहाए र मेसिनमा कपडा हालेर घुमाउन थाले ।

 

अहिले त सावित्राको बुबा समेत नेपालबाट अमेरिका आउनुभएको छ । छोराछोरी समेत आफ्ना लुगा वासरुममा यसै छाडिदिन्छन । ति लुगा उठाउनु धुनु, चिया नास्ता बनाएर खुवाउनु, खाना बनाएर तयार पार्नु, कपडा धोएर प्रेस गर्नु बिनोद दाईका दैनिकी भएका छन् ।

सावित्रासंग गुनासो पनि गरे बिनोदले । कामको बोझले भन्दापनि छोराछोरीले गर्ने गरेको अपमानको कारण आजित भएका छन् उनी । ‘अंकल हजुरको काम अरु के नै छ र लुगा धुनुस है’ भनेर कट्टु छोडेर हिड्यो छोराले । त्यो बेलामा भएको पिडाले उनलाई मानशिक रुमपमा साह्रै बिक्षिप्त बनायो । घरमा कोहि नभएको मौका पारेर झुण्डीएर आत्महत्या गरौँ गरौँ भयो । अहिले त ससुरा बा चौकीदार जस्तो घरमै कुरेर बस्छन । मर्नको लागि चाहिने एकान्तले समेत ठगेको छ उनलाई ।

यसरी नै अमेरिका पुगेपछिका दुइ बर्ष बित्ने क्रममा छन् ।  हिजो बिहान त हदै भयो । बीस बर्ष पुग्न लागेकी साबित्रीकी छोरी ब्वाईफ्रेन्ड लिएर घरमा आइपुगी । ससुरा आफन्तकोमा पाहुना लाग्न गएका थिए । सावित्री बिहानैदेखि बाहिर थिईन । दाजु चाहि काममा गईसकेको र सानी नानी स्कुल गएकी थिई । यो प्राय: घर खालि हुने समय हो । बाहिरबाट फर्कदा छोरीले यौटा गोरा केटो लिएर आई र आफ्नो कोठामा छिरेर भित्रबाट चुकुल लगाई । बिनोद यो तमासा हेरेको हेरेई भए ।

जे भए पनि, छोराछोरीले अंकल नै भने पनि उनले आफु ति केटाकेटीको बाबु नै हुँ भन्ने ठानेका थिए । आफ्नै अगाडी छोरीले गरेको त्यो हर्कत बिनोदलाइ सह्य भएन । बेलुका सावित्रासंग बिनोदले यो बिषयमा कुरा लगाए ।

यहि कुराले घरमा बबण्डर मच्चिन थाल्यो । छोरीले आफ्नो स्वतन्त्रतामा हस्तक्षेप् गरेको आरोप लगाई । सावित्राले समेत त्यो छोरीको निजि मामला भएको कारण किन चासो दिएको भनेर बिनोदलाई नै हकारिन । ससुरा बुढा समेत बिनोदलाई उल्लु बनाएर हाँसे । 

हुँदा हुँदा आज छोरीले समेत ‘मामुले हजुरलाई यहा ल्याईसेको हाम्रै काम गर्नलाइ त हो नि’ भनेर बचन लगाई । बिनोद जुरुक्क उठेर बाथरुम छिरे, उनको छाति गह्रौं भएर आयो, भक्कानो फुट्ला जस्तो भएर घाँटीमा डल्लो पर्यो, आँखाबाट फेरि बलिन्द्र धारा आँशु बगे ।

केटाकेटी हेर्दा ठुला भएका छन् तर कोसंग कसरि बोल्ने भन्ने अनुशासन अलिकति पनि सिकेका छैनन् । यहाँको चलन यस्तै हो कि सावित्राले छोराछोरीलाई अनुशासन सिकाउन नसकेकी हुन् ? बिनोददाई कुरा नबुझेर बिलखबन्दमा परेका छन् । आफैले जन्माएका छोराछोरीले लगाएको बचन भएको भए बरु सहन सजिलो पो हुन्थ्यो कि ? कतै कहीं केहि खान नपाएर भतुवा हुन आएको मगन्तेलाइ भन्दा नराम्रोसंग बचन लगाउछन सौतेनी छोराछोरी फेरी पनि बिनोद प्रतिवाद गर्न सक्दैनन् ।

साबित्राको पुरानो घरबार बिग्रनुको कारण अचेल बल्ल थाहा पाउदैछन् बिनोदले, समस्या साबित्रिको पुरानो लोग्नेको होइन रहेछ । बिनोद यहा आएको एक दुइ महिना राम्रै थियो सम्बन्ध, अचेल त सावित्रा समयमा घर पनि आउदिनन । विकेन्डमा त प्राय: रक्सि पिएरै आउने गरेकी छिन । पुरानो लोग्नेले साबित्रालाई छोडेको होइन रहेछ सावित्राले पो आफ्नो लोग्ने छोडेकी रहिछन यो कुरा नेपालबाट ससुरा अमेरिका आएपछि थाहा पाएका थिए बिनोद दाइले ।

नफस्नु फसिसकें, अझै पनि सम्बन्ध राम्रो होला, लोग्नेको हैसियतको मान र बाबुको हैसियतको मर्यादा केटाकेटी बाट पाइएला या ज्वाईंको जस्तो सम्मान ससुराली बाट पाइएला भन्ने आश गर्दागर्दै एकदिन साँझको कचकचमा बिनोदले सावित्री संग भने– यहि ताल हो भने म त झुण्डीएर मरे पनि भयो सावित्रा ! घर ज्वाईंको भन्दा बेहाल भयो मेरो –मलाइ यस्तै बनाउन ल्याएकी हौ र ? म तिम्रो लोग्ने हुँ कि नोकर ?

यसको जवाफमा सावित्रा केहि बोलिनन, ससुराले यसलाई नेपाल पठाईदेओ उतै गएर मरोससम्म भने, उनले नसुने जस्तो गरेर र आँशुका दुइ घुँट घुटुक्क पिए र निदाए ।

धेरै भयो बिनोद र साबित्राको ओछ्यान पनि अलग अलग छ । कोठाको वल्लो सानो पलंगबाट ठूलो पलंगमा सुतेकी साबित्रीलाई हेरेर घुटुक्क थुक निल्छन बिनोद र भित्तातिर फर्केर निदाउछन अचेल । बिहान उठेर बुहार्तन गर्नु जो छ !

fasttrack
धेरै पढिएको